काठमाण्डौ । दोश्रो वित्तीय विवरण प्रकाशन गरेका केही वाणिज्य बैंकको प्रगति उत्साहजनक देखिँदा एभरेष्ट बैंकका प्रमुख सूचकहरुतर्फ पनि औसत मात्र प्रगति देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.६७ प्रतिशतले मात्र बढी हो । 

बैंकले खूद नाफातर्फ भने अघिल्लो वर्षको तुलनामा करिब १७ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २२ करोड खूद नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ४२ करोड नाफा कमाएको हो । १ अर्ब ७४ करोडमा सीमित संचालन मुनाफातर्फ करिब १७ प्रतिशतले प्रगति गरी २ अर्ब ४ करोडको उचाईमा पुर्याएको छ । 

अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ३२ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ६७ करोड पुगेको छ भने ६ अर्ब ७४ करोडमा सीमित रिजर्ब बढेर ७ अर्ब ५८ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेप २०.२१ प्रतिशतले बढाएको बैंकले कर्जातर्फ भने १०.२५ प्रतिशतले मात्र वृद्धि गरेको छ । यो बैंकको पनि निक्षेप र कर्जाबीचको वृद्धि अनुपात सन्तुलित देखिएको छ ।

अघिल्लो वर्षको यही अवधिमा ०.२५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा अझ घटाएर ०.१९ प्रतिशतको अनुपातमा सीमित गरेको बैंकले प्रतिसेयर आम्दानी १७ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ३० रुपैयाँ १७ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर यो वर्ष ३५ रुपैयाँ २८ पैसाको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९३.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९९ गुणा कायम भएको छ । यो अवधिमा बैंकको सीडी रेसियो ७६.२३ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको भन्दा बढी हो । ५.०१ प्रतिशत रहेको कस्ट अफ फण्ड समेत बढेर ६.२३ प्रीतशत पुगेको छ ।