काठमाण्डौ । सुनचाँदी व्यवसायको प्रवद्र्धन, मौलिक र परम्परागत गरगहनाको आधुनिकीकरण तथा ब्राण्डिङको उद्देश्यले आगामी जेठ ७ देखि १० सम्म काठमाण्डौको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका सभापति मणिरत्न शाक्यका अनुसार जेठ ७ देखि ९ गतेसम्म सुनचाँदी, हिरामोतीका गरगहना तथा तिनमा लाग्ने पत्थरहरुको प्रदर्शनी हुने र १० गते मोडेलहरु परम्परागत गरगहनामा सजिएर फेसन सोमा सहभागी हुनेछन् । 

एक्स्पोमा रहने कुल ६० वटा स्टलमा सबै बुक भइसकेका र सोमबार सबै स्टलहरुको बाँडफाँडको काम समेत सकिएको उनले जानकारी दिए । तीमध्ये १५ स्टल मोफसल र बाँकी राजधानीबाट आउनेछन् । 

एक्स्पोमा नेपालका विभिन्न जातजातिका परम्परागत गरगहना, तिनमा प्रयोग हुने पत्थर, गरगहना बनाउने विभिन्न मेसिन तथा उपकरणको प्रदर्शनी हुनेछ । यसैगरी, गरगहना बनाएर ग्राहकलाई दिइने प्याकिङ ब्यागको समेत स्टल रहनेछन् । पहिला गरगहना हाल्ने प्याकिङ ब्याग विदेशबाट आयात भए पनि हाल नेपालमै यस्ता उद्योगहरु खुलेका र उनीहरुको उत्पादनलाई समेत प्राथमिकता दिइएको शाक्यले जानकारी दिए । उनका अनुसार केही विदेशी कम्पनीको प्याकिङलाई समेत नमूनाको रुपमा प्रदर्शनीस्थलमा राखिइनेछ । 

वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना हुन लागेको एक्स्पोमा गरगहना तथा सुनचाँदी, हिरामोतीको व्यापारमा संलग्न श्रीलंका, थाइल्याण्ड, भारत र अमेरिकाका व्यापारीहरुको समेत सहभागिता रहनेछ । ती देशका प्रतिनिधिसँग गरगहना निर्माणमा प्रयोग हुने आधुनिक उपकरण र प्रविधिको आदानप्रदान हुने र नेपालका व्यवसायीले उनीहरुबाट आधुनिक प्रविधिको विषयमा ज्ञान पाउने अपेक्षा गरिएको आयोजकको भनाई छ । 

जेठ ७, ८ र ९ गते हुने ज्वेलरी एक्स्पोपछि जेठ १० गते ‘ज्वेलरी फेसन सो’को कार्यक्रम समेत राखिएको सभापति शाक्यले जानकारी दिए । उनका अनुसार नेपालका चर्चित मोडेलहरु नेपालका मौलिक र परम्परागत गहनामा सजिएर र्याम्पमा उत्रिनेछन् । 

एक्स्पो आयोजनाका लागि डेढ करोडको बजेट बनाइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत सरकारले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको शाक्यले जानकारी दिए । मेलालाई व्यवस्थित गर्न र फाइभ स्टार होटलको एक्स्पोलाई सफल पार्न १५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ । आयोजकले एक्स्पो अवधिमा ५० हजार अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा गरेको छ ।