काठमाण्डौ । सिण्डिकेट अन्तको चर्का कुरा गर्ने सरकारलाई फेरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चुनौति दिएको छ । 

सिण्डिकेट अन्तमा सरकारी अडान बलियो नदेखिएपछि यातायात व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ खुलाउने बिषयमा पुरानै दादागिरी देखाउँदै अड्को थापेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धिलाई अगाडि सार्दै त्यो फिर्ता नभएसम्मका लागि भन्दै शुक्रबारदेखि खुलाउने भनिएको दशैंकको अग्रिम बस टिकट बुकिङ नखुलाउने निर्णय गरेका हुन् ।

भदौ ३१ गते सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि दशैंको बस टिकटको बुकिङ खुलाउने सहमति भएको थियो । तर, सरकारसँगकै सहमतिविपरीत व्यवसायीले भाडा बढाउने भित्री मनशायले बार्गेन गरेका हुन् ।

नेपाल आयाल निगमले केही दिनअघि गरेको पेट्रोलियम मूल्यवृद्धि फिर्ता हुनुपर्ने महासंघको शर्त छ । 

निगमले असोज २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजलरमट्टीतेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। 

यसअघि यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरुको मागको बिषयमा सरकार लचक नबनेपछि महासंघको बिहीबार बसेको बैठकले भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले बिजशालालाई बताए । 

उनले पेट्रोलियम पदार्थको मूल्य पटक पटक बढिरहे पनि सरकारले भाडा बढाउन चासो नदिएपछि घाटामा गाडी चलाउन नसकिने दाबी गर्दै यस्तो निर्णय गरिएको बताए । हामी घाटामा व्यवसाय गर्न सक्दैनौ र अहिलेकै भाडादरमा दशैंको टिकटको बुकिङ खुलाउन सक्दैनौ । सिटौलाले भने ः सरकारले हामीलाई झुक्याउन खोज्यो । यो गलत भयो।