काठमाण्डौ । केही समयअघि विराटनगरका एक लखपति भिखारीको चर्चा बाहिर आएको थियो । स्थानीय मन्दिरहरुमा भिख माग्दै हिँड्ने भिखारीको नदी किनाराको झुप्रोबाट जतन गरेर राखिएको अवस्थामा ३ लाख नगद भेटिएपछि ती भिखारी रातारात चर्चाको पात्र  बनेका थिए । 

ती भिखारी हुन् ६५ वर्षीय महेश मण्डल । विराटनगरको काली, विराटेश्वर, सरस्वती तथा शनि लगायतका मन्दिरहरुमा भीख माग्ने दैनिकी रहेका मण्डलले आफ्नो झुुप्रोभित्र माटोमा गाडेर ३ लाख राखेका फेला परेको थियो । 

२०६९ साल जेठमा विराटनगरमा भीखारीलाई न्यूनतम ५ रुपैयाँ दिनुपर्ने भन्दै आन्दोलन भएको थियो, जसको नेतृत्व मण्डलले नै गरेका थिए । केही दिनअघि सिंगिया खोलामा आएको बाढीले उनको झुप्रो समेत भत्काइदियो, अनि खोजतलासको क्रममा मात्र पत्ता लाग्यो यी लखपति भिखारीको रोचक जीवनकहानी । 

विराटनगर– ७ को सरस्वती टोलको खोला किनारमा छाप्रो बनाएर बसेका मण्डलको भत्किएको झूप्रो पन्छाउने क्रममा ३ लाख ७ हजार ४ सय २६ नेपाली रुपैयाँ र ६ हजार २ सय ४ भारतीय रुपैयाँ फेला परेको थियो । यो बिषयमा स्थानीयबासीबीचमा मात्र नभई देशविदेशमै चर्चा पायो ।

घर भत्किएको एक हप्तासम्म राहत तथा उद्धारमा आउनेहरुलाई घर एरियामा छिर्न नदिएका उनले नेपाली सेनासहितको टोलीलाई भने सामान हटाउने अनुमति दिए । उनले घरमा कसैलाई पस्न नदिनुको राज पैसै थियो । 

उनको घरमा प्राप्त रकम सो वडाका अध्यक्ष मधुबाबु तिवारी, उद्धारमा खटिएका नेपाली सेना तथा स्थानीय युवा समूहको रहोबरमा टोल विकास समितिको खातामा जम्मा गर्ने सहमति भएको छ । मण्डललाई नै सो पैसा राख्न दिंदा लुटिने र उनीमाथि नै असुरक्षा हुने देखेपछि यसो गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । आवश्यकता अनुसार मण्डलले त्यहाँबाट पैसा लान पाउनेछन् । 

करिब ४० वर्षअघि भारतको दरभंगाबाट मागेर पेट गुजारा गर्न आएका उनीसँग नेपाली नागरिकता भने छैन । 

उनी शारिरीक रुपमा अशक्त छन् । झूप्रोमा उनी पत्नीसँग बस्छन् । ह्वील चेयरमा भिख माग्ने क्रममा उनी विराटनगरका विभिन्न मन्दिर तथा मेला र उत्सवहरु समेत चाहार्छन ।

कमाएको पैसा अनावश्यक वस्तुहरुमा खर्च गर्नेहरुका लागि मण्डलको बचतकला शिक्षा हुनसक्छ । साथै, बचत गर्न जान्दा सानो सानो रकमलाई पनि कसरी ठूलो बनाउन सकिने रहेछ भन्ने पाठ पनि हुनसक्छ । कमाएको पैसा मोजमस्तीमा उडाउने र समस्या पर्दा टाउकोमा हात राख्नेहरुका लागि मण्डल प्रेरणाको स्रोत बन्नसक्छन् ।