-प्रकाश बञ्जारा 
युएई । वैदेसिक रोजगार, घुमफिर, व्यापार अथवा अन्य कुनै कामको सिलसिलामा अरब मुलुकमा जाँदै हुनुहुन्छ्र र साथमा लैजान लागेको सामान त्यो देशमा प्रतिबन्धित छ या छैन त्यो पनि तपाईले जानीराख्नुपर्ने हुन्छ । झुक्किएर अथवा जानी–नजानी  प्रतिबन्धित सामान लिएर गए तपाईलाई झमेला मात्र हैन, जरिवाना, जेल सजाय र गन्तव्यमा नपुगी डिपोर्ट हुने अबस्था समेत आउनसक्छ । 

पछिल्लो समय घुमफिरका लागि अरब आउने थुप्रै यात्रुहरु लागुऔषधको कारोबारमा संलग्न भएको पाइएपछि युएइ लगायतका अरब मुलुकहरुले समेत आफ्नो देश आउनेहरुप्रति निगरानी बढाएका छन् । सामाजिक सञ्जालहरुमार्फत खाडी मुलुक लागुऔषधको ट्रान्जिट भएको भन्दै सरोकारबाला अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । 

संयुक्त अरब इमिरेट्स युएइले आफ्नो देश आउने आगन्तुकहरुलाई औषधिको रुपमा प्रयोग गर्दै आएका कन्ट्रोलेड औषधिजन्य सामानहरु डाक्टरले दिएको पुर्जी प्रमाणीकरण गरेर मात्र युएइ प्रवेश गर्न अनुरोध गरेको छ । दुखाई कम गर्न प्रयोग गरिने प्यानाडोल, कफ निकाल्न प्रयोग गरिने कफसिरफ लगायतका औषधिहरु धेरै नल्याउन समेत युएइले आगन्तुकहरुलाई अनुरोध गरेको छ । 

भारतमा उत्पादन गरिएका केही कफसिरफलाई त निषधित नै  गरिसकिएको छ । बिरामीहरुले आफ्नो औषधिलाई डाक्टरको पुर्जीबिना लिएर आएको पाईएमा लागुपदार्थको मात्रालाई हेरेर जरिवाना, जेलसजाय तथा मुलुक फिर्ता पठाउनेसम्मको कारबाही गरिने बताइएको छ  ।  

आगन्तुकले आफूले प्रयोग गर्दै आएको डाक्टरले सिफारिस गरेका तथा युएइमा निषेधित नभएका जुनसुकै औषधि डाक्टरको प्रेसक्रिप्सनसहित प्रमाणिकरण गरेर धेरैमा ३० दिनका लागि मात्र लिएर आउन अनुमति दिइएको छ । 

आगन्तुकहरुले आफ्नो औषधि भन्दै धेरै मात्रामा बिभिन्न प्रकारका नशाजन्य पदार्थहरु लिएर आउने र व्यवसायिक रुपमा कारोबार गर्ने गरेको पाइएको भन्दै सरकारले आफ्नो देशका नागरिकलाई लागुऔषधबाट जोगाउन र देशको प्रतिष्ठाका लागि यस्तो कदम  चालिएको प्रष्टीकरण दिने गरेको छ ।

कहाँ हुन्छ यस्तो चेकिङ ?
कुनै पनि मुलुकको विमानस्थलमा उत्रिएपछि सुरक्षा जाँचको क्रममा लागुऔषध तथा कस्टमको काउण्टरमा यसको चेकजाँच हुने गर्छ । सुरक्षाकर्मीले शंकास्पद व्यक्तिलाई लगेज स्क्यानिङ कक्षतिर पठाउँछन् । लगेज स्क्यानिङको क्रममा आफ्नो झोलाभित्र त्यस्तो कुनै पदार्थ भए तुरुन्त त्यहाँका सुरक्षाकर्मीले झोला खोल्न लगाउँछन् र भेटिएको प्रतिबन्धित पदार्थ कब्जामा लिनुका साथै आबश्यक कारबाही अगाडि  बढाउँछन् ।

गुन्द्रुकसँगै गाँजा लगेपछि नेपालीप्रति शंका
अरब मुलुकमा आउने नेपालीहरुले घरबाट ल्याउने गरेको गुन्द्रुकमा गाँजा मिसाएको भेटिन थालेपछि नेपालीहरु कस्टमको निशानामा पर्ने गरेका छन् । खास गरेर नेपालबाट आउँदा ल्याइने गरेको पिठो, ठूलो मात्रामा ल्याइने तरलपदार्थ र अन्य घरेलु प्रयोगका सामानमा लागुपदार्थको मिसावट गरेर ल्याइएको एकादुई घटना पछि कस्टमको शंकामा  नेपालीहरु प्र्न थालेका हुन् ।  यतिमात्र नभएर कहिलेकाही साथीभाई अथवा आफ्नो म्यानेजरलाई खुसी पार्न उपहारको रुपमा ल्याएको खुकुरीले पनि झण्झट दिने गर्छ । 

धारिलो हतियार तथा हतियारजन्य कुनै पनि सामान अरब देशमा प्रतिबन्धित छ ।