काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ । 

दिउँसो १२ः४० सम्म नेप्से परिसूचक १५.३१ अंकले बढेको छ भने १८ करोडको हाराहारीमा कारोबार भएको छ । नेप्से परिसूचक र कारोबारमै नाटकीय बढोत्तरी देखिएको छ । नेप्से परिसूचक २० अंक भन्दा बढीले बढे पनि त्यसपछि पुनः घट्दै १५.३१ अंकमा आइपुगेको हो । 

आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार स्थिरतातर्फ उन्मुख हुँदै गएको कुरा आर्थिक सर्वेक्षणमा समावेश गरेका थिए । उनले सेयर बजारसँगै अर्थतन्त्र समेत सुधार हुँदै गएको निश्कर्ष पेश गरेका थिए । अर्थमन्त्रीको यो बुझाईले लगानीकर्तामा केही उत्साह बढाएको आँकलन गर्न सकिन्छ । यस्तै, बैंक तथा बित्तीय संस्थाहरुमा सरकारी खर्च वृद्धिसँगै तरलताको समस्या समाधान हुँदै गएको खबरले समेत लगानीकर्तालाई आशावादी बनाएको छ । यस्तै, सोमबार मात्रै सरकारले संघीय समाजवादी फोरमसँग २ बुँदे सहमतिसँगै फोरम समेत सरकारमा सहभागी हुने र यसले २ तिहाई बढी बहुमतको सरकार बन्ने र यसले सरकार अझै बलियो भई आर्थिक समृद्धिको मुद्धाले मूर्त रुप लिने लगानीकर्ताको बुझाई छ । यिनै सकारात्मक गतिविधि र खबरले बजार बढेको विश्लेषकहरु बताउँछन् । तर, यो वृद्धि अन्तिम समयसम्म कत्तिको टिक्छ, त्यो चाहि हेर्न बाँकी नै छ । 

यो समाचार तयार पार्दासम्म अन्य समूह, बिमा कम्पनी, माइक्रोफाइनान्स र विकास बैंक समूहमा उछालको अवस्था देखिएको छ । 'क' वर्गका कम्पनीहरुमा खरिदको चाप उच्च देखिएको छ । 

मेगा बैंकले सबैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा गुमाइसकेको छ । यो बैंकको आजदेखि सेयर कारोबार खुलेको हो । करिब ५०० दिनसम्म सेयर कारोबार निलम्बनमा परेका लगानीकर्ताले बैंकले बढी दुःख दिएपछि सेयर बिक्रीको हतारो देखाएका छन् । यो बैंकले ५०० दिनसम्म लगानीकर्ताको लगानी बन्धक बनाएको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ ।