काठमाण्डौ । झापामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैंलाई मतदान गर्न पाएनन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफूूले आफैंलाई मतदान गर्न नपाएका हुन् ।

एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न पाएनन् ।

यता, भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफूूले आफैँलाई मतदान गर्न पाएनन् ।

राससका अनुसार बाम गठबन्धनका तर्फबाट झापा–१ बाट उम्मेदवार बनेका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा (माओवादी केन्द्र)का नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

एमालेका शंकर पोखरेलले पनि आफूले आफैलाई भोट हाल्न पाएनन् । पोखरेल दाङ क्षेत्रनम्बर २ को (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । तर, उनको नाम मतदाता नामावलीमा दाङ क्षेत्रनम्बर २ को (ख)मा छ ।