काठमाण्डौ । हालैमात्रै ट्विटरमा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकिङ प्रकरण भएको थियो। यस क्रममा कयौँ हाई प्रोफाइल अकाउण्टहरु ह्याक गरिएका थिए।

यो ह्याकिङ प्रकरणमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, बिल गेट्स, एलोन मस्क र र्यापर केन वेस्टका अकाउण्टहरु समावेश थिए। यो एकदमै ठूलो ह्याकिङ प्रकरण थियो र यसको जिम्मेवारी कुनै पनि ह्याकिङ गुप्रले लिएका थिएनन्। 

रिपोर्टका अनुसार यो ह्याकिङको पछाडि एक १७ वर्षे युवकको हात रहेको खुलासा भएको छ। 

ग्राहम इवान क्लार्क फ्लोरिडामा बसोबास गर्ने गर्छन् र उनी हाई स्कुल ग्रेजुएट हुन्। यी युवकलाई ह्याकिङ प्रकरणका लागि जिम्मेवार रहेको भन्दै पक्राउ गरिएको छ। यसका साथै उनीमाथि ३० वटा मुद्दासमेत दर्ता गरिएको छ। 

यसमा ठगी, ह्याकिङ, बिना अनुमति कम्प्युटरमा पहुँचजस्ता मुद्दा समावेश छन्। यी युवक नाबालिग भए पनि उमेर पुगेकालाजस्तै मुद्दा चलाइने भएको छ। 

खबरका अनुसार यो ट्विटर ह्याकिङमा अन्य दुईजना पनि सहभागी भए पनि ग्राहम इवान क्लार्क यसको मुख्य मास्टरमाइन्ड थिए। यीमध्ये एकजना बेलायतमा बसोबास गर्ने १९ वर्षीय मेसन जोन हुन् भने अर्का ह्याकर २२ वर्षीय फजेली हुन्। 

ह्याकिङ प्रकरणको केही समयपश्चात यसमा मिस्टर क्रिकको हात हुन भएको भन्ने खबर आएको थियो। अहिले क्लार्क नै मिस्टर क्रिकको नामबाट सक्रिय रहेको बताइएको छ। 

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार यो केसलाई हेरिरहेका फ्लोरिडाका न्यायाधिवक्ताले ग्राहम क्लार्क एकदमै परिष्कृत भएको र ट्विटरको आन्तरिक नेटवर्कमा उनलाई कसैले पनि भेट्टाउन नसकेको बताए। 

क्लार्कले ट्विटरका कर्मचारीको विश्वास जित्दै आफूलाई ट्विटरकै प्राविधिक विभागमा काम गर्ने कर्मचारी भन्दै कम्पनीको सर्भिस पोर्टलमा एक्सेस हासिल गरेका थिए। यसपछि तीनजना ह्याकर मिलेर १३० वटा अकाउन्ट ह्याक गरेर बिटक्वाइन स्क्याम गरेका थिए। 

यी ह्याकरहरुले यसअघि कुनै पनि ठूलो ह्याकिङ गरेका थिएनन्। त्यसैले उनीहरुले आफ्नो वास्तविक परिचयको सुराक छोडेका थिए। ह्याकरहरुले बिटक्वाइन स्क्यामद्वारा हासिल गरेको पैसा लुकाउने चक्करमा आफ्नो वास्तविक परिचयको ट्रेस छोडेका थिए। एजेन्सीहरुले यसैको सहाराले तीनैजना ह्याकरलाई पक्राउ गरेको छ। – एजेन्सी