एजेन्सी । नाइट लाइफका लागि दुनियाँमै सबैभन्दा लोकप्रिय दुबई विश्वकै सबैभन्दा महङ्गो पर्यटकीय स्थल बनेको छ । यूकेको ट्राभल वेबसाइट ज्इएएब्ले विश्वका ७ महंगा पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ, जसमा दुबईं पहिलो नम्बरमा परेको हो । न्यूयोर्क र बोत्सवाना क्रमशः दोश्रो र तेश्रो महंगो पर्यटकीय शहरमा परेका छन् । यो लिस्टमा छिमेकी देश भारत र हाम्रो देशको कुनै पनि पर्यटकीय गन्तव्यले स्थान पाउन सकेनन् । 

होप्पाले पर्यटकीय गन्तव्यमा बस्दा, घुम्दा, खाँदा र लोकल यातायात प्रयोग गर्दा लाग्ने खर्चको आधारमा विश्वकै  महंगा पर्यटकीयस्थलको सूचि तयार पारेको बताइएको छ । यसमा एकजना वा एकजोडीका लागि रातमा बस्न, पेय पदार्थ लिन, बिहानको खाजा, दिउँसो खाना र रातिको खाना खानेसम्मको मूल्य समेत हेरिएको थियो । आउनुहोस् हेरौं महंगा टुरिस्ट डेस्टिनेसनमा पर्ने गन्तव्यहरुको विषयमा :
 

दुबई 
सर्भेका अनुसार दुबई सबैभन्दा महंगो पर्यटकीयस्थल हो । दुबईमा एकदिन बिताउनका लागि स्ट्याण्डर्ड खर्च करिब ४२ हजार ५ सय ६० रुपैयाँ पर्छ । यसमा खानाको खर्च, पेय पदार्थ, ट्याक्सी भाडा र एकदिनको होटलको खर्च सामेल छ । सर्भेमा एकदिनको हवाईभाडा चाहि सामेल गरिएको छैन । दुबई आफ्नो सुविधाजनक होटलका लागि समेत विश्वमै चर्चित छ । दुबईमा घुम्न र रमाउनका लागि धेरै उत्कृष्ट गन्तव्यहरु छन् । माथि उल्लिखित खर्च स्ट्याण्डर्ड होटलका लागि हो । सामान्य होटलमा बस्न चाहनेहरुका लागि सोही अनुसारका होटल पनि दुबईमा उपलब्ध छन् । 

न्यूयोर्क


सर्भेक्षणमा संसारकै दोश्रो महंगो पर्यटकीय स्थलको रुपमा न्यूयोर्कले ठाउँ लिएको छ । अमेरिकामा समेत महंगो शहरमध्ये न्यूयोर्क अगाडि आउँछ । यहाँको होटलमा खाना खानु सबैभन्दा महंगो पर्न जान्छ । पर्यटकले न्यूयोर्कको थ्री स्टार होटलमा दुईजनाको खानाका लागि ८ हजार ४ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ । यहाँ स्ट्याचू अफ लिबर्टी, एम्पायर स्टेट बिल्डिंग, सेन्टल पार्क, टाइम्स स्क्वायर लगायतका ठाउँहरु पर्यटकहरुका माझ चर्चित छन् । 

बोत्सवाना


बोत्सवाना दक्षिणी अफ्रिकी मुलुक हो । कालाहारी मरुभूमि र वोकेवांगो डेल्टाको मध्यभागमा अवस्थित बोत्सवाना विश्वकै  तेश्रो महंगो पर्यटकीय गन्तव्यको सूचिमा दर्ज भएको छ । यहाँ पर्यटकले सबैभन्दा धेरै खर्च ट्याक्सी जस्तो लोकल यातायातको साधन चढ्दा गर्नुपर्दछ । यो शहर पर्यटकहरुमाझ मरुभूमि यात्रा(डिजर्ट सफारी)का लागि प्रख्यात छ । यो ठाउँमा घुमन्तेका लागि एकदिन बस्नुपर्दाको स्टेण्डर्ड खर्च ३४ हजार २ सय रुपैयाँ हुन आउँछ । 

मारकेश


पश्चिम मोरक्कोको चर्चित शहर हो मारकेश । यो मोरक्कोको प्रमुख आर्थिक केन्द्र पनि हो । यो शहर यहाँ बनेका महल, विकास गरिएको मनमोहक र आश्चर्यलाग्दा बगैंचा र मस्जिदका लागि निकै लोकप्रिय छ । सर्भेमा मारकेशलाई संसारकै चौथो महंगो पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको छ । यो क्षेत्रको होटलमा बस्नु नै निकै महंगो पर्छ । यो शहरमा एक दिन बिताउनका लागि स्टेण्डर्ड खर्च ३४ हजार रुपैयाँ आउँछ । यो खर्चमा होटल, दुईजनाको खाना र लोकल यातायातको खर्च समेत समावेश छ । 

सिड्नी


सिड्नी अस्टेलियाको चर्चित शहर र न्यू साउथ वेल्सको राजधानी समेत हो । अस्टेलियाका केही ठूला र चर्चित शहरमध्ये सिड्नी पहिलो नम्बरमा आउँछ । सिड्नीको ओपेरा हाउस पर्यटकमाझ निकै चर्चित छ । यहाँ एकदिन बिताउनका लागि स्टेण्डर्ड खर्च ३० हजार ८ सय रुपैयाँ हुन आउँछ । सिड्नीमा होटल, खाना र पेय पदार्थ निकै धेरै महंगो छ । 

लण्डन


यूकेको राजधानी लण्डनलाई संसारकै महंगो पर्यटकीय गन्तव्यको सर्भेक्षणमा छैठौ स्थान मिलेको छ । सर्भेक्षणका अनुसार पर्यटकले यहाँ पनि सबैभन्दा धेरै खर्च खानाका लागि नै गर्नुपर्छ । लण्डनको तीनतारे होटेल वा रेष्टुराँमा दुईजनाका लागि खानाको स्टेण्डर्ड खर्च ७ हजार ६ सय रुपैयाँ पर्न आउँछ । लण्डन सपिङ र रेष्टुराँका लागि दुनियाँमै चर्चित गन्तव्य हो । सर्भे अनुसार लण्डन ५ वर्षअघिको तुलनामा अहिले १८ प्रतिशतले महंगो भइसकेको छ ।
 

सिंगापुर


मलेशियाको दक्षिणमा अवस्थित सिंगापुर संसारकै महंगा पर्यटकीय गन्तव्यको सूचिको सातौं नम्बरमा परेको छ । नेपालका धनाढ्यहरु समेत धेरै संख्यामा सिंगापुर घुम्न जान्छन । छिमेकी देश भारतका अधिकांश धनाढ्यको रोजाईं समेत सिंगापुर नै हुने गरेको छ । यो क्षेत्रमा घुम्ने र किनमेल गर्नका लागि थुप्रै विकल्पहरु हुन्छन । यो शहरमा पेय पदार्थ निकै महंगो पर्छ । सिंगापुरमा बस्नका लागि एकदिनको स्टेण्डर्ड खर्च २७ हजार ९ सय रुपैयाँ भन्दा बढी पर्न आउँछ । (एजेन्सीको सहयोगमा)

सबै तस्विरहरु : एजेन्सी र गुगल सर्चबाट