काठमाण्डौ । बजार परिसूचक र कारोबार रकमतर्फ केही सुस्त प्रदर्शन गर्दै यो साताको अन्तिम दिनको बजार बन्द भएको छ । बिहीबार एक्कासी घटेको कारोबार र झिनो अंकले बढेको परिसूचकले कतै अर्को सातादेखि बजार घट्ने त होइन भन्ने आशंका लगानीकर्तामा उब्जाइदिएको छ । हरियाली छाएका समूहहरुतर्फको वृद्धि समेत उत्साहजनक रहेन । 

बजारमा ठूला(संस्थागत) लगानीकर्ताले नियोजित रुपमा फैलाएका हल्लाहरु बिस्तारै फिक्का बन्दै जाँदा बजारको रौनकमा समेत बादल मडारिने संकेत देखिएको हो । 

बिहीबार नेप्से परिसूचक ४.९६ अंकले वृद्धि भई १४८६.०४ को उचाईमा पुुग्यो । कारोबार रकममा निकै ठूलो पहिरो गई १ अर्बको हाराहारीमा आइपुुग्यो । तथापि, पछिल्लो समयमा बजारमा १ अर्बको कारोबार हुनुलाई पनि नराम्रो चाहि भन्न मिल्दैन । 

साताको अन्तिम कारोबार दिन होटल र अन्य समूह घटे पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । वाणिज्य बैंक समूह ५.०८ अंकले वृद्धि भएको छ भने विकास बैंक ८.९५, बित्त कम्पनी २.८६ अंकले बढेका छन् । जलविद्युत समूहमा ४६.०१ अंकले बढोत्तरी हुँदा बिमामा ९.५९ अंकको झिनो वृद्धि भयो । उत्पादनमूलक ३.०१ अंकले बढ्दा होटलव समूह १३.५६ र अन्य समूह ५.५ अंकले घट्यो । 

''क'' वर्गका कम्पनीको कारोबारमा केही मन्दी आउँदा सेन्सेटिभ इण्डेक्सको वृद्धि १.०४ अंकमा सीमित बन्न पुुग्यो भने फ्लोट इण्डेक्समा पनि ०.५९ अंकको मात्र वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
१ सय ४३ कम्पनीको कुल २० लाख ६५ हजार ८ सय ४० कित्ता सेयर १ अर्ब १६ लाख ८५ हजार ४ सय १७ रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै सानिमा बैंकको ५ करोड बढीको सेयर किनबेच भयो । यस्तै, एनबी बैंकले ४ करोड ७४ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ४९ लाख, नेशनल हाइडो पावर कम्पनीले ४ करोड २७ लाख, एनसीसी बैंकले ४ करोड १५ लाख र सेञ्चुरी बैंकले ३ करोड ७१ लाख बढीको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान जलविद्युत कम्पनी र बाँकी एक स्थान बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने कम्पनी
बिहीबार ८ कम्पनीका सेयरधनी मालामाल भए । यी आठै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मिथिला लघुवित्त विकास बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स, गुड्विल फाइनान्स, अपी पावर कम्पनी, सेती फाइनान्स, जेबिल्स फाइनान्स, भार्गव विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडका सेयरधनीले ९.१५ प्रतिशतको दरले कमाए भने विजय लघुवित्त बित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए ।