काठमाण्डौ । थोरै लगानीकर्ता भए पनि खरीदको चाप बढेका कारण सोमबार नेप्से परिसूचक उकालो लागेको छ । नेप्से परिसूचक ८.५२ अंकले बढे पनि कारोबार रकम चाहि घटेर २८ करोडको हाराहारीमा आइपुुगेको छ । परिसूचक बढेर कारोबार रकम घट्नुले बजारमा थोरै संख्यामा सक्रिय रहेका लगानीकर्ताले खरिदारी बढाएका बुझिन्छ । बजारमा बिक्रीको तुलनामा खरीदको चाप बढ्दा परिसूचक बढेको छ भने लगानीकर्ताहरु दशैंको चटारोमा रहेका कारण कारोबार रकम भने घटेको हो । 

यो दिन ट्रेडिङ र होटल बाहेक सबै समूहको सूचक हराभरा भए । बैकिङ समूह १०.४६, विकास बैंक समूह ७.३९, जलविद्युत समूह २१.७२, बित्त समूह ४.५८, बिमा समूह १२.२, उत्पादनमूलक ९.१४ र अन्य समूह ०.५७ अंकले बढे । टेडिंग समूह २३.५६ अंकले घट्यो भने होटल समूहमा ८.३८ अंकको गिरावट देखियो । 

‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स २.०२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७२ अंकले बढ्न पुुग्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ६ लाख ३२ हजार ८९ कित्ता सेयर  २७ करोड ७८ लाख ४७ हजार ५ सय ८९ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ८४ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १३ लाख, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रोमोटर सेयर १ करोड १ लाख, जनता बैंक नेपालको ८५ लाख, रिलायवल माइक्रोफाइनान्सको ८२ लाख बढीको कारोबार भयो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान विकास बैंक र एक स्थान बिमा कम्पनीको कब्जामा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हकप्रदको भारी बोकाउने निर्णय गरेको सिनर्जी फाइनान्सले धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, रिलायवल माइक्रो फाइनान्सको मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो । 

विशाल बजार कम्पनीका लगानीकर्ताले दशैंको मुखमा सबैभन्दा धेरै गुमाउनुपर्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । तारागाउँ रिजेन्सी होटल र वरुण हाइड्रोपावर कम्पनीको मूल्य पनि ४ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।