काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन् । 

आज बिस्तार हुने क्याबिनेटमा एमालेबाट एक राज्यमन्त्री र ६ मन्त्रीले सपथ लिनेछन् । 

एमाले निकट उच्च स्रोतका अनुसार यसअघि अर्थमन्त्रीमा दाबी गरिरहेका प्रदीप ज्ञवाली परराष्टमन्त्री बन्ने निश्चित भएको छ । रविन्द्र अधिकारी पर्यटनमन्त्री र गोकर्ण बिष्ट श्रम तथा रोजगार मन्त्री बन्दैछन् । यस्तै, जगत विश्वकर्मा युवा तथा खेलकूद, शेरबहादुर तामांग कानून र रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । वरिष्ठ पत्रकार तथा एमाले सांसद गोकुल बास्कोटालाई संचार राज्यमन्त्रीको रुपमा सरकारमा सहभागी गराउने ओलीको तयारी छ ।

एमालेका पार्टी पदाधिकारीमध्ये हालसम्म मन्त्री हुन नपाएका योगेश भट्टराईलाई सरकारमा सहभागी गराउने भनिए पनि सार्वजनिक सूचिमा उनको नाम परेको छैन । उनले संचारमन्त्रालयमा दाबी गर्दै आएका थिए ।  

एमालेले लालबाबु पण्डितको मन्त्रालय हेरफेर गरेको छ । यसअघि वातावरणमन्त्रीको रुपमा काम सुरु गरेका पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि पण्डितले सामान्य प्रशासनमन्त्री भएकै बेला राम्रो काम गरेर तहल्का मच्चाएका थिए । 

एमालेसँगै आज माओवादीका समेत ५ मन्त्रीले सपथ लिंदैछन् । क्याबिनेटमा प्रचण्डका विश्वासपात्र वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, शक्ति बस्नेत वन, गिरिराजमणि पोखरेल शिक्षा, प्रचण्डकी बुहारी बिना मगर खानेपानी र चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री बन्दैछन् ।