काठमाण्डौ । विश्वमा खर्बपतिको सूचीमा तीन धनाढ्य पर्न सफल भएका छन् । 

ब्लुमवर्गले हालै सार्वजनिक गरेको शीर्ष पाँच सय अर्बपतिको सूचीमा तीनजनाको सम्पत्ति एक खर्ब डलर नाघेपछि तीन धनाढ्य खर्बपतिको सूचीमा पर्न सफल भएका छन् । यसरी खर्बपतिको सूचीमा पर्न हुनेहरुमा अमेरिकी प्रविधि कम्पनी एमेजनका सीईओ जेफ बेजोस, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र फ्रान्सेली विलासी सामग्री निर्माता एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्ट छन् । 

त्यसो त जेफ बेजोस र बिल गेट्सको सम्पत्ति यसअघि नै एक खर्ब डलर नाघिसकेको थियो । यसमा बर्नार्ड अर्नल्ट यसपालिका आफ्नो सम्पत्ति एक खर्ब डलरभन्दा पुर्याएपछि खर्बपतिको सूचीमा थपिएका हुन् । खर्बपति धनाढ्यको सूचीमा बेजोस सबैभन्दा अगाडि छन् भने त्यसपछि क्रमशः बिल गेट्स र बर्नार्ड अर्नल्ट छन् ।

खर्बपतिको सूचीमा परेका जेफ बेजोसको सम्पत्ति एक खर्ब १९ अर्ब र बिल गेट्सको एक खर्ब ६ अर्ब रहेको छ । नव खर्बपति धनाढ्यको सूचीमा पर्न सफल बर्नार्ड अर्नल्टको सम्पत्ति भने एक खर्ब ४० करोड रहेको छ । अर्नल्टको सम्पत्ति यो वर्ष ३२ अर्ब डलर बढेपछि उनी खर्बपतिको सूचीमा पर्न सफल भएका हुन् । – एजेन्सी