काठमाण्डौ । भ्रष्टाचारले नेपाललाई मात्र होइन, विश्वका धेरै देशलाई पिरोल्दै आएको छ । विश्वमा यस्ता देशहरु छन्, जहाँ हुने अधिक भ्रष्टाचारका कारण त्यहाँको पूरा अर्थतन्त्र प्रभावित हुन्छ । वल्र्ड इकोनोमिक फोरम(डब्ल्यूइएफ)ले विश्वका १० अति भ्रष्ट देशहरुको सूचि सार्वजनिक गरेको छ । डब्ल्यूइएफले विश्वका १ सय ४१ देशका १५ हजार विजिनेश लिडर्ससँगको अन्तर्वार्ताको आधारमा सूचि जारी गरिएको बताएको छ । 

वल्र्ड इकोनोमिक फोरमले सर्भेका लागि केही आधार बनाएको थियो । जस्तो : घूसखोरी, देशमा कानून कार्यान्वयनको अवस्था र त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव, गलत ढंगले सरकारी कोष दुरुपयोग गर्ने प्रवृति लगायत । 

फोरमले ती देशहरुलाई भ्रष्टाचारका लागि १ देखि ७ को लेभलमा राखेको थियो । 

यसको अर्थ जुन देशलाई नम्बर एकको सूचिमा राखिएको छ, त्यो देश अति भ्रष्ट देश हो । र, जुन देशलाई ७ नम्बरको सूचिमा राखिएको छ, त्यसको अर्थ सो देशमा कम भ्रष्टाचार हुने गरेको छ । 

मेक्सिको सबैभन्दा भ्रष्ट
सेन्ट्रल अमेरिकामा रहेको मेक्सिकोमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ । वल्र्ड इकोनोमीक फोरमले आफ्नो सर्भेमा यो देशको भ्रष्टाचार लेभल २.५ आँकलन गरेको छ । सर्भेका अनुसार मेक्सिकोमा संस्थागत भ्रष्टाचार सबैभन्दा बढी हुने गरेको छ । मेक्सिकोमा हुने कयौं घूसखोरीको स्क्याण्डलका कारण यसलाई भ्रष्ट देशको सूचिमा सबैभन्दा अग्रस्थानमा राखिएको हो । सर्भेका अनुसार घूसखोरी, मिडिया मेन्यूपुलेसन र अपराधका कारण मेक्सिकोको अर्थतन्त्रलाई निकै ठूलो क्षति पुगिरहेको छ । 

दोश्रो भ्रष्ट देश स्लोभाकिया
सेन्ट्रल यूरोपमा रहेको देश स्लोभाकिया भ्रष्टाचारको मामलामा विश्वमै धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा दोश्रो नम्बरमा परेको छ । यहाँको भ्रष्टाचार लेभल २.७ रहेको छ । यहाँ राजनीतिक भ्रष्टाचार ज्यादा छ । सन् २०११ मा यहाँ भएको गोरिला स्क्याण्डलका कारण यो देशको अर्थतन्त्रलाई निकै ठूलो घाटा भएको थियो । यो स्क्याण्डलमा राजनीतिज्ञ र विजिनेश लिडर्स सामेल थिए । यो स्क्याण्डलमा देशका नेता तथा व्यवसायीले अरबौं रुपैयाँ भ्रष्टाचार गरेका थिए । 

इटली
इटली तेश्रो भ्रष्ट देश बनेको छ । यो सर्भेका अनुसार इटलीको भ्रष्टाचार लेभल ३.१ रहेको छ । सर्भेमा भनिएको छ कि इटलीको सबैभन्दा ठूलो समस्या नै राजनीतिक भ्रष्टाचार हो । यो देशका राजनीतिक दलहरुलाई सबैभन्दा धेरै भ्रष्ट मानिएको छ । इटलीको दक्षिणी हिस्सालाई सो देशकै सबैभन्दा भ्रष्ट क्षेत्र पनि मानिएको छ । 

हंगेरी
वल्र्ड इकोनोमिक फोरमले हंगेरीलाई भ्रष्टाचार मामलामा चौथो नम्बरमा राखेको छ । सेन्ट्रल यूरोपमा अवस्थित यो देशको भ्रष्टाचार लेभल ३.१ रहेको छ । सन् १९८९ पछि यो देशमा कम्युनिजमको अन्तपछि यो देशमा भ्रष्टाचार ह्वात्तै बढेको सर्भेक्षण रिपोर्टमा उल्लेख गरिएको छ । डब्ल्यूइएफले भनेको छ कि हंगेरीमा कुनै पनि युवालाई देशको सबैभन्दा खराब पक्षको कुरा गर्दा भ्रष्टाचार नै अगाडि आउँछ । 

ग्रीस
वल्र्ड इकोनोमिक फोरमको सर्वेक्षण अनुसार विश्वको पाँचौ भ्रष्ट देशको रुपमा ग्रीस उदाएको छ । यो सर्भेमा ग्रीसको भ्रष्टाचार लेभल ३.२ रहेको छ । यहाँका ९० प्रतिशत जनताले आफ्ना देशका नेता अति भ्रष्ट रहेका स्वीकार गर्छन् । राजनीतिक भ्रष्टाचार अलावा यहाँ हुने कर छली भ्रष्टाचारको अर्को ठूलो कारण हो । 

चेक रिपब्लिक पनि भ्रष्ट
चेक रिपब्लिक छैठौं भ्रष्ट देशको सूचिमा परेको छ । यो देशमा पछिल्ला वर्षहरुमा भ्रष्टाचार निकै चुलिएको छ । चेकका प्रधानमन्त्रीले  भ्रष्टाचारको स्क्याण्डलमा फसेका कारण राजीनामा नै गर्नुपरेको थियो ।

७ औं भ्रष्ट देश स्पेन
वल्र्ड इकोनोमिक फोरमले स्पेनलाई भ्रष्ट देशहरुको सूचिमा ७ औ नम्बरमा राखेको छ । यो देशको भ्रष्टाचार लेभल ३.४ रहेको छ । घूसखोरी यहाँको सबैभन्दा ठूलो समस्य हो । राज्यकोषमै हुने ब्रम्हलुट नरोकिएका कारण यहाँको अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्दै आएको रिपोर्टमा उल्लेख छ । 

लातभिया उस्तै भ्रष्ट
यूरोपमा रहेको देश लातभिया भ्रष्टाचारको मामलामा ८ औं नम्बरमा परेको छ । यहाँका राजनीतिज्ञ र विजिनेश लिडरहरु समेत भ्रष्टाचारमा चुर्लुम्म डूबेका छन् । बैंक अफ लातभियाका प्रेसिडेन्टमाथि भ्रष्टाचारको मुद्धा चलिरहेको छ । उनीमाथि बैंकको आम्दानीमा गडबड गरेको आरोप छ । 

साउथ कोरिया
साउथ कोरिया नवौं भ्रष्ट देश बनेको छ । यहाँको भ्रष्टाचार लेभल ३.५ रहेको छ । सर्वेक्षणको क्रममा यो देशमा सरकारी कर्मचारी, पत्रकार र शिक्षक सबैभन्दा धेरै भ्रष्ट देखिएका छन् । 

पोल्याण्ड
यो  देश भ्रष्ट देशको सूचिमा १० औं नम्बरमा छ । यहाँको भ्रष्टाचार लेभल ३.७ रहेको छ । यहाँ पनि राजनीतिक भ्रष्टाचार मुख्य समस्याको रुपमा रहेको छ ।