– भक्तराज रसाइली

काठमाण्डौ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो बैंकिङ प्रणाली ह्याक प्रकरणमा पक्राउ परेका पाँचजना चिनियाँ नागरिकलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको छ ।

मध्यरातमा काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट सिस्टम ह्याक गरी रकम झिक्दै गरेको अवस्थामा पक्राउ परेको एकजना र पछि होटेलबाट पक्राउ परेका अन्य चारजनाविरुद्ध महानगरीय प्रहरी प्रभाग काठमाण्डौले मुलुक संहिताअन्तर्गत बैंकिङ कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

पक्राउ पर्नेमा झु लियाङ आङ (३० वर्ष), चेन विङ दिङ (३५), क्यु याङ याङ यिङ (३०), लु जिया लिङ (४०) र लिन जिनमिङ (२९) वर्षका छन् ।

करिब तीन दिनअघि नेपाल छिरेका ह्याकरहरुले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएम बुथ प्रयोग गरेर करिब १ करोड ६८ लाख ५४ हजार ४२० रुपैयाँ चोरी गरेका थिए । उनीहरुले यसअघि भारत र भुटानका विभिन्न बैंकबाट पनि ७० लाखदेखि ८० लाख रुपैयाँसम्म सर्भर ह्याक गरेर पैसा चोरी गरेको खुल्न आएको एएसपी उत्तमराज सुवेदीले जानकारी दिए।