काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् । उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र असफलताका विभिन्न कथाहरुबीचबाट हामीले यहाँ सेयरबाट पैसा कमाउने १० महत्वपूर्ण टिप्सहरु तयार गरेका छौ।

१.लगानी गर्नुअघि विशेष ढंगले सोच्नुहोस्
आत्मविश्वास र दृढता सेयर बजारका महत्वपूर्ण सूत्र हुन् । आफूप्रतिको भरोसा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेपालको सेयर बजारमा आफैंले कुरा बुझेर निर्णय गर्नुभन्दा पनि आफन्त र साथीभाईले कहाँ लगानी गरेका छन्, त्यतै दौडने गलत प्रवृति छ । आँखा चिम्लिएर सेयरमा लगानी गर्नु भनेको तपाई जुनसुकै बेला डूब्नसक्ने संकेत हो । त्यसकारण आफ्ना साथीभाई, आफन्त, बुझेका मानिसहरुबाट लगानी गर्न सकिने संभावित सेयरहरुको बिषयमा कुरा बुझ्नुहोस् । ती कम्पनीको अवस्थाको बिषयमा समेत आफैंले बुझ्नुपर्छ । त्यसकारण आफूले लगानी गर्नुअघि अरुको लगानीको निर्णयलाई कहिल्यै पनि फलो नगर्नुहोस्, बरु सबै कुरा बुझेर आफैंले यस्तो निर्णय लिनुहोस् । 

२.लामो समयका लागि लगानी
लामो समयका लागि सेयरमा लगानी गर्नुभयो यसले तपाईंलाई सधैं राम्रो रिटर्न दिन्छ । यदि तपाईंले सेयर बजारका सफल खेलाडीहरुको कथा राम्रोसँग पढ्नुभयो भने उनीहरुले विविध पक्षमा ध्यान पुर्याई लामो समयका लागि लगानी गरेका भेट्न सक्नुहुन्छ । त्यसकारण लामो समयका लागि योजना बनाएर लगानी गर्दा यो जोखिमरहित हुने संभावना पनि अधिक हुन्छ । धैर्यवान भएर कुर्दा राम्रो रिटर्न प्राप्त हुन्छ । यदि लगानीकर्ताले राम्रो नाफा हुने सेयरलाई लामो समयसम्म धैर्यतापूर्वक राख्न सक्यो भने त्यसबाट रिटर्न पनि उत्तिकै राम्रो प्राप्त हुन्छ । यसर्थ लामो समयका लागि लगानी गर्नुहोस्, ताकि तपाईंले राम्रो लाभांश प्राप्त गर्नसक्नुहोस् । 

३.धैर्यता राख्नुहोस्, यथार्थपरक आशा राख्नुहोस्
धैर्यवान हुनु सेयर बजारबाट पैसा कमाउनेहरुको एउटा राम्रो विशेषता हो । अस्थिर भएर लगानी गरिए जुनसुकै बेला डूब्न सकिन्छ । अर्कोतर्फ सेयर बजारमा लगानी गरेर केही दिनमै करोडपति बनेको सपना देख्नुहुन्छ वा अस्वभाविक आशा राख्नुहुन्छ भने यस्तो उच्च महत्वकांक्षाले तपाईलाई डूबाउन सक्छ । त्यसकारण, यथार्थभन्दा बाहिरको आशाले लगानीकर्तालाई कुनै हित गर्दैन । हुन त कतिपय अवस्थामा कतिपय कम्पनीको मूल्य सधैं बढ्दैन, यसका लागि यस्तो कम्पनीमा लगानी गर्नुहोस्, जसको वृद्धिको संभावना उच्च छ र त्यस्तो कम्पनीले भविष्यमा राम्रो रिटर्न दिन्छ भन्ने तपाईलाई लाग्छ । 

४.सेन्टिमेन्ट्सलाई काबुमा राख्नुहोस्
लगानीको क्षेत्रमा सेन्टिमेन्ट्सको कुनै ठाउँ हुन्न । लगानीकर्तासँग आफूभित्रको डर र लोभलाई नियन्त्रण गर्ने क्षमता हुनुपर्छ । बजार कुनै बेला घट्नसक्छ । यस्तो बेलामा सेयरको मूल्य समेत ओरालो लाग्छ । यस्तो बेलामा पैसा गुमाउने तपाईंको डरले तपाईंको विश्लेषण वा निर्णयलाई कुनै पनि अवस्थामा प्रभावित गर्नुहुन्न । यदि तपाईसँग आफूले लगानी गरेको सेयर केही समय तल झरे पनि भविष्यमा राम्रो ग्रोथ गर्नसक्छ भन्ने आत्मविश्वास छ भने लामो समयको लगानी गरी त्यही आत्मविश्वासका साथ बस्नु उचित हुन्छ, न कि बजार घट्ने बित्तिकै डरले हतार–हतार सेयर बेच्नु । कुनै पनि सेयरको मूल्य घट्नु अस्थायी मात्र हुनसक्छ भन्ने पनि सोच्नुपर्छ । यस्तो अवस्थामा, यदि तपाई पैसा गुमाउने डरका कारण अत्तालिनुभयो र आफ्नो सेयर बेच्नुभयो भने लामो समयको नाफा वा लाभांश पाउनबाट तपाई पूर्ण बञ्चित हुनुहुनेछ । 

लगानीकर्ताको अर्को ठूलो शत्रु लोभ हो । चाँडो पैसा कमाउने भन्दै देखाइने लोभलाई पूर्ण नियन्त्रण गरिनुपर्छ । यस्तै लोभका कारण धेरै लगानीकर्ता बुलिस मार्केटमा थाहै नभएको कम्पनीको सेयर महंगो मूल्यमा खरीद गर्ने गल्ती गर्छन । सही ढंगले सम्बन्धित कम्पनीको बिषयमा रिसर्च नगरी महंगो सेयरमा लगानी गर्दा ठूलै पैसा कमाइन्छ भन्ने लोभले लगानी गर्नु अधिकांश समय ब्याकफायर मात्र हुने गरेको छ । यसकारण, आफूभित्रका इमोसन पूर्ण नियन्त्रण गर्नुहोस्, अनि मात्र सेयर बजारबाट मालामाल बन्न सक्नुहुन्छ । 

५.कहिले लगानी गर्ने ? कहिले बजार छाड्ने ?
लगानी गर्नुअघि लगानीकर्ताले आफूले चाहेको सेयर खरीदको उपयुक्त समय र बिक्रीको उपयुक्त समयको बिषयमा समेत निर्णय लिनु आवश्यक हुन्छ । बाठा र विज्ञ लगानीकर्ता सधैं निकै धेरै सेयर थोरै मूल्यमा खरीद गर्छन् र थोरै सेयर मात्र धेरै मूल्यमा खरीद गर्छन् । यसैगरी, लगानीकर्ताले कति लाभांश पाएपछि वा कति घाटा खाएपछि चाहि बजारबाट फिर्ता हुने(सेयर बिक्री गर्ने) भन्ने बिषयमा समेत निर्णय लिनु आवश्यक हुन्छ । तर यसको अर्थ यो होइन कि कुनै पनि सेयरको भविष्यको मूल्य वा घटबढको संभावनालाई अहिले नै प्रक्षेपण गरेर योजना बनाउनुपर्छ । 

६.लगानीअघि बृहत अनुसन्धान
यदि तपाई सेयरबाट कुस्त पैसा कमाउन चाहनुहुन्छ भने लगानीअघि वृहत अनुसन्धान एउटा महत्वपूर्ण कडी हो । कुनै पनि कम्पनीको सेयर खरीदअघि सम्बन्धित कम्पनीको सबै पक्षको बिषयमा गम्भीर रुपमा अनुसन्धान गर्नु अत्यावश्यक हुन्छ । लगानीकर्तासँग लगानी गर्नुअघि सम्बन्धित कम्पनीको विजिनेशको बिषयमा गहिरो ज्ञान हुनुपर्छ । यसकारण, कुनै पनि कम्पनीको त्रैमासिक रिपोर्ट वा वार्षिक बित्तीय विवरण तथा त्यसको अन्तर्यतर्फ नगई सेयर खरीदको गल्ती नगर्नुहोस् । 

७.उच्च र न्यून मूल्य प्रक्षेपण गर्न सकिन्न
धेरै लगानीकर्ता सम्बन्धित कम्पनीको सेयर मूल्यको बिषयमा अनावश्यक रुपमा बढी नै प्रक्षेपण गरिरहेका हुन्छन् । यो स्पष्ट छ कि कुनै पनि लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरको ठ्याक्कै उच्च र न्यूनतम विन्दु प्रक्षेपण गर्नै सक्दैन । तथापि, प्राविधिक र आधारभूत विश्लेषणबाट संभावित सेयर मूल्यको बिषयमा सामान्य अनुमान चाहि गर्न सकिन्छ । तर यस्तो अध्ययनबाट पनि संभावित मूल्य ठ्याक्कै आउदैन । 

८.विविधिकरण
यदि तपाई साच्चिकै सेयर बजारबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईले विविध लगानीको कला सिक्नुपर्छ । एउटा मात्र कम्पनीको सेयरमा लगानी गर्नु निकै जोखिमपूर्ण हुन्छ । उदाहरणका लागि यदि तपाईंको सबै स्टक पोर्टफोलियो एउटै विजिनेश क्षेत्रको छ र त्यो क्षेत्रलाई खराब प्रदर्शन गर्न थाल्यो भने तपाईंको पोर्टफोलियो भ्यालु पनि तलै झर्नेछ । त्यसकारण, धेरै खालका कम्पनीको सेयरमा लगानी गरी आफ्नो पोर्टफोलियोमा विविधिकरण गर्नुहोस् । यस्तो अवस्थामा एउटा कुनै क्षेत्रको सेयरको मूल्य तल झरे पनि तपाईलाई अन्य सेयरको मूल्यले बचाइराख्न र डूब्नबाट जोगाउनेछ । लगानीमा विविधिकरण गर्नु पनि सेयर लगानीको महत्वपूर्ण सूत्र हो । 

९.सफल लगानीकर्तालाई आँखा चिम्लिएर फलो गर्ने गल्ती
यो सेयर बजारमा लगानी गर्न चाहने धेरै लगानीकर्ताले गर्नेमध्येको एक ब्लण्डर हो । सफल र अग्रज लगानीकर्ताहरुलाई फलो गर्दा सेयर छनौटको क्षमता बढ्ला । यसले तपाईंको निर्णायक क्षमता पनि बढाइदिन्छ । तथापि, तपाईले यस्ता लगानीकर्ताको पोर्टफोलियो हेरेकै भरमा आँखा चिम्लिएर लगानी गर्नुभयो भने डूब्नुहुन्छ । यसर्थ कुनै राम्रो लगानीकर्ताको पोर्टफोलियो पछ्याउनुअघि ती सेयर वा पोर्टफोलियोको बिषयमा धेरै कुरा बुझ्न आवश्यक हुन्छ । जस्तो : त्यस्ता लगानीकर्ताले किन त्यस्तो सेयर खरीद गर्यो, यसको कारण पत्ता लगाउनुहोस् । उसले संभावित जोखिम व्यवस्थापनका लागि कस्तो डाइभर्सीफिकेसनको रणनीति बनाएको छ, त्यो पनि बुझ्नुहोस् । अनि, उसले होल्ड गरेको सेयरलाई कतिमा बिक्री गर्यो वा बिक्री गरेको छैन भने ती सेयरको मूल्य कति छ, यसको पनि अध्ययन गर्नुहोस् । यस्तै, अन्य सेयर पनि कति मूल्यमा खरीद गरिएको छ भन्ने प्रश्नको पनि खोजी गर्नुहोस् । 

यसरी, यदि तपाईले यस्ता जिज्ञासाको सही उत्तर पत्ता लगाउनुभयो भने अनि मात्र तपाई सेयरबजारबाट पैसा कमाउन योग्य बन्नुभयो भन्ने बुझिन्छ । 

१०.असफलताबाट पाठ सिक्नुहोस्
तपाईका लगानीका कतिपय निर्णयहरु गलत बन्न सक्छन । याद गर्नुहोस्, सेयर बजारमा कोही पनि परफेक्ट हुन्न । अहिले देखिएका सफल लगानीकर्ताहरुले पनि उनीहरुले विगतमा भोगेका असफलताबाटै पाठ सिकेका हुन् भन्ने कुरा बुझ्नुपर्छ । त्यसकारण कहिले पनि आशा नमार्नुहोस् र आफूले खरीद गरेको सेयरले किन राम्रो रिटर्न दिएन वा त्यसको मूल्य किन राम्रो भइरहेको छैन भन्ने कुरा पत्ता लगाउने कोशिश गर्नुहोस् । आफ्नो असफलतामाथिको ‘क्रिटिकल एनलाइसिस’ निकै अनिवार्य र अत्यावश्यक हुन्छ ।