काठमाण्डौ । करिअरको सुरुवातमा तपाईंलाई सोधिने केही प्रश्नले तपाईंको भविष्य निर्धारण गरिदिन्छ । कुनै बेला हामी यस्ता प्रश्नहरुको सही उत्तर दिन सक्दैनौ र करिअर सुरु हुनुभन्दा अगाडि नै ठूलो झड्का लाग्नसक्छ । यस्ता महत्वपूर्ण प्रश्नहरु कम्तीमा एकदर्जन जति हुन्छन् । ‘यो पदमा तपाईलाई किन अवसर दिनु ? यदि तपाईंलाई यो अवसर हामीले दियौं भने तपाई के गर्नुहुन्छ ?’ जस्ता केही महत्वपूर्ण सवाल तपाईंलाई जागिरको अन्तरवार्ताको क्रममा सोधिने गरिन्छ । यस्ता प्रश्नहरुले कहिलेकाही हामी तिलमिलाउन पनि सक्छौ । हामी तपाईंलाई यस्ता प्रश्नहरुको केही सहज र सरल उत्तर बताउँछौ । अन्तर्वार्ताको क्रममा यो टिप्सलाई पछ्याएर तपाईं आफ्नो करिअरलाई सुरुवातदेखि नै चम्काउन सक्नुहुनेछ । 

प्रश्न १ : यो पदका लागि तपाईं आफूलाई किन योग्य मान्नुहुन्छ ?
जवाफ : यो प्रश्नको जवाफमा तपाईं आफ्नो क्षमताको बिषयमा बताउनुहोस् । जवाफ धेरै आक्रामक शैलीमा नदिनुहोस् । तपाईं आफूमा भएको त्यो क्षमतामा बढी केन्द्रीत हुनुहोस्, जुन सो पदका लागि आवश्यक  हुन्छ । अन्तर्वार्ताकार अन्तवार्ता दिनेमध्ये सो पदका लागि क्षमतावान उम्मेद्वार को हुनसक्छ भनेर जान्न चाहन्छन्, यसकारण त्यसमा केन्द्रीत हुनुहोस् । 

प्रश्न २ : तपाईंको प्रोफेसनल लाइफमा के कुराले बढी सन्तुष्टि दिन्छ ?
उत्तर : यो प्रश्नको जवाफ यही नै भन्ने हुँदैन । किनकि प्रोफेसनल लाइफमा हरेक व्यक्तिको लक्ष्य अलग हुनसक्छ । यसकारण सन्तुष्टिको लेभल समेत व्यक्तिपिच्छे फरक हुनसक्छ । धेरैजसो युवा यो प्रश्नको उत्तर दिने क्रममा भ्रमित र पूर्ण आत्मविश्वासी हुँदैनन् । यसकारण यस्तो प्रश्नको जवाफ पहिलादेखि नै तयारी गर्नुहोस् र पूर्ण आत्मविश्वासका साथ प्रश्नकर्तासामु प्रस्तुत गर्नुहोस् । 

प्रश्न ३ : तपाईं आफ्नो जागिर किन परिवर्तन गरिरहनुभएको छ ? पुरानो कम्पनी छाड्ने खास कारण के हो ?
उत्तर :‘म आफ्नो कामबाट दिक्क भइसकेको थिएँ । म यस्तो काममा रमाउन सकिँन वा भिज्न सकिँन । म धेरै पैसा कमाउनका लागि पुरानो जागिर छाड्न लागेको हुँ’ प्राय हामी माथिको प्रश्नको जवाफमा यस्तै कुराहरु भन्ने गर्छौ, तर यस्तो जवाफ बिल्कुल गलत हुन्छ । विज्ञका अनुसार यो प्रश्नका लागि माथिको जस्तो निराशायुक्त कुरा गर्नु भन्दा बरु तपाईं भन्नुहोस् कि ‘तपाईंलाई नयाँ चुनौति मन पर्छ, म कुनै नयाँ चुनौतिको खोजी गरिरहेको छु, यसकारण यो जब गर्न चाहन्छु ।’ 

प्रश्न ४ :यदि तपाईंले यो जागिर पाउनुभयो भने के गर्नुहुन्छ ?
उत्तर : यो प्रश्नको जवाफ दिन धेरै नहतारिनुहोला । सबैभन्दा पहिला कुन कम्पनीमा जब एप्लाई गर्नुभएको हो, त्यो बारेमा सम्झनुहोस् । तपाईंको जवाफ प्रतिबद्धताले भरिपूर्ण र साधारण तथा सभ्य हुन आवश्यक छ । तपाईं पहिला नै पत्ता लगाउनुहोस् कि कम्पनी के चाहन्छ । प्राय यो प्रश्न यसकारण सोधिने गरिन्छ कि उम्मेद्वार सो नोकरीका लागि इच्छुक छ कि छैन । यसकारण, यदि यो प्रश्नको जवाफ थोरै सोचविचार गरेर दिइयो भने आफूले रोजगारदातासामु सही ढंगले सो जागिरका लागि आफू साच्चिकै योग्य रहेको प्रमाणित गर्न सकिन्छ । 

प्रश्न ५ : यस्ता ३ कारण बताउनुहोस्, जसका कारण तपाईलाई हामी छनौट नगरौं ?
उत्तर : यस्तो प्रश्न प्राय तपाईलाई झुक्याउनका लागि गरिन्छ । यस्तो प्रश्नको जवाफ दिंदा ओभर स्मार्ट भएर तपाईं आफूभित्रको कुनै पनि कमजोरीको भेद खोल्ने भूल नगर्नुहोस् । बरु भन्नुहोस् कि ‘मेरो तलबको अपेक्षाका कारण तपाईंहरुले मलाई छनौट नगर्न सक्नुहुन्छ ।’ 

प्रश्न ६ : यस्तो खास कुरा तपाईंमा के छ, जसका कारण तपाईं यो पेशामा आउनुभयो ?
उत्तर : यो प्रश्नको जवाफमा अधिकांश मानिसहरु सोच्छन कि यस्तो उत्तर दिनुपर्यो, जसले सहजै जागिर मिलोस् । यस्तो प्रश्नमा कयौं मानिसहरु प्राय फस्छन, कारण उनीहरु झूठ बोलिदिन्छन । जानकारहरुका अनुसार यस्ता प्रश्नको जवाफ पूरा इमानदारीपूर्वक सही दिनुपर्छ । किनकि यही प्रश्नको जवाफको लेबलबाट प्रश्नकर्ताले आँकलन गर्नसक्छ कि तपाई आफ्नो करिअर र लक्ष्यप्रति कत्तिको इमानदार हुनुहुन्छ ।

प्रश्न ७ : आफ्नो कुनै ५ गुण वा क्षमताको बारेमा बताउनुहोस् ?
उत्तर : सुन्नका लागि यो प्रश्न सरल लाग्न सक्छ र तपाईंले सोही ढंगले जवाफ दिन सक्नुहुन्छ, तर यो भूल पनि नगर्नुहोस्, कारण यो प्रश्नका लागि दिइने जवाफबाट प्रश्नकर्ताले तपाईंको व्यक्तित्वको मापन गर्नसक्छ । यो प्रश्नको जवाफ यदि तपाईंले राम्रो ढंगले दिनुभएन भने पत्ता लाग्नसक्छ कि तपाईं कुनै पनि चिजलाई सही ढंगले व्यवस्थापन गर्न सक्नुहुन्न । प्राय आफ्ना ५ विशेषताको बिषयमा धेरैलाई ज्ञान नहुन सक्छ वा अलमलिन सक्छ, तर यसको मापन त्यहाँनेर हुन्छ कि तपाईं यो प्रश्नको जवाफ कति सुन्दर ढंगले दिनुहुन्छ । जति सुन्दर ढंगले बताउनुहुन्छ, तपाईंलाई उति नै व्यवस्थित व्यवस्थापक मानिन्छ । 

प्रश्न ८ : यस्तो अवस्था वा प्रसंग बताउनुहोस्, जसलाई लिएर तपाईं आफ्नो म्यानेजरसँग असहमत हुनसक्नुहुन्छ ?
उत्तर : यो प्रश्नको जवाफ थोरै ट्रिकी छ । यो प्रश्नको जवाफ इन्टरभ्यू लिनेवालासामु आफ्नो सहास प्रदर्शन गर्ने मौका पनि हो । यस्तो प्रश्नको जवाफ घुमाएर नदिनुहोस्, किनकि यस्तो भयो भने अन्तर्वार्ताकारले तुरुन्तै पत्ता लगाउँछ कि तपाईंले सही जवाफ दिइरहनुभएको छैन । यसकारण साधारण जवाफ दिनुहोस्, बरु कुनै उदाहरण दिएर सम्झाउने कोसिस गर्नुहोस् ।

प्रश्न ९ : तपाईं हामी बाहेक अरु कुन कम्पनीमा अन्तर्वार्ता दिइरहनुभएको छ ?
उत्तर : प्राय यो प्रश्नबाट तपाईंले जुन पदका लागि आवेदन दिनुभएको छ, त्यसका लागि कति इच्छुक हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउने गरिन्छ । यदि तपाईं कयौं कम्पनीमा एकै पोष्टका लागि अप्लाई गरिरहनुभएको छ भने त्यसको अर्थ हुन्छ कि, तपाईं सो पदमा काम गर्न निकै इच्छुक हुनुहुन्छ । 

प्रश्न १० : तपाईं आफ्ना यस्ता ३ स्वभाव बताउनुहोस्, जसलाई तपाईंको साथी मन पराउदैनन् ?
उत्तर : यो प्रश्नको जवाफ थोरै कठीन हुन्छ । किनकि यो प्रश्नको माध्यमबाट अन्तर्वार्ताकार तपाईंको कमजोरी जान्न चाहिरहेको हुन्छ । अर्कोतर्फ उसले यो पनि बुझ्न खोजिरहेको हुनसक्छ कि जागिर दिएपछि तपाईंको सहयोगीको रुपमा कस्तो स्वभाव भएको मान्छेलाई राख्दा उपयुक्त होला । यो प्रश्नको उत्तरमा तपाईं भूलेर पनि आफ्नो  पेशासँग जोडिएको कुनै कमजोरी नबताउनुहोस्, बरु त्यो ठाउँमा आफ्नो स्वभावको बिषयमा बताउनुहोस् ।