-राजु पौडेल
नेपाली सेयर बजार विगत डेढ वर्षदेखि सुस्तताबाट गुजरिरहेको अवस्था थियो । सेयर बजारलाई प्रभाव पार्ने विविध कारणहरुमध्ये एउटा प्रमुख कारण राजनीतिक अस्थिरता थियो । सेयर बजारलाई प्रभाव पार्ने राजनीतिक माहौल सुधार आएसँगै र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । लामो समयदेखि घटिरहेको सेयर बजार ओली प्रधानमन्त्री नियुक्त भएकै दिन एक्कासी बढेर हरियाली भएको छ । सेयर बजारले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई हरियो झण्डाले स्वागत गरेको छ ।

नयाँ प्रधानमन्त्रीको नियुक्ति सँगै निरन्तर घटिरहेको बजार अचानक बढ्नुमा केही कारणहरु छन्ः

१. नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै देश नयाँ युगमा प्रवेश गरेको छ । अब देशले राजनीतिक क्रान्ति पूरा गरी आर्थिक क्रान्तिमा प्रवेश गर्दैछ । नेपालका सबै राजनीतिक दलहरुको अबको एक मात्र नारा आर्थिक क्रान्ति गर्नुछ भन्नेछ । देशमा छिट्टै आर्थिक क्रान्ति सुरु हँुदैछ भन्ने कारणले नयाँ सरकारको निर्माणले बजारमा सकारात्मक असर पारेको हो ।

२.यो नयाँ सरकार बिगतको जस्तो अस्थिर सरकार र नौ नौ महिनामा गिर्ने सरकार होईन, यो सरकार स्थिर, दिगो र लगभग दुई तिहाइ बहमुत भएको बामपन्थीहरुको सरकार हो । यो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटकको नौ महिने शासनकालमा गरेका सकारात्मक कार्यहरुले गर्दा आम नेपाली नागरिकहरुको यो सरकारप्रति सकारात्मक हेराई र बिश्वास जागेको अवस्था छ । यो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा लगानीकर्ता संघसंगठनहरुको भेटमा बजारमा भइरहेको अस्वाभाविक गिरावटप्रति बारम्बार चिन्ता व्यक्त गर्नु भएको थियो । उहाँले विभिन्न आर्थिक कार्यक्रमहरुमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र आफ्नो नेतृत्वमा सरकार बनेपछि सेयर कारोबारमा भ्याट नलगाउने र बजारको विकासका लागि कुनै कसर बाँकी नराख्ने भन्नुुभएको थियो । यसैको सकारात्मक असर बिहीबारको बजारमा देखिएको हो ।

३. बिगतमा बामपन्थी सरकार निर्माणपछि पुँजी बजार ध्वस्त हुन्छ, बामपन्थी सरकार पुँजी बजार प्रतिकुल हुन्छ, बजार पूरै खत्तम हुन्छ भनेर जे जति हल्ला चलाइए, ती सबै हल्ला निराधार सावित भइसकेका छन् र इतिहासलाई हेर्दा पनि नेपालको सेयर बजारले बामपन्थी सरकारकै पालामा रेकर्ड कायम गरेको थियो । नयाँ सरकारको नीति तथा कार्यक्रम बजारमैत्री हुन्छ वा के हुन्छ भन्ने कुरा हेर्न बाँकी नै रहँदा लगानीकर्ता नयाँ सरकारले ल्याउने आर्थिक नीतिको पर्खाइमा रहेका बुझिन्छ । तर, नवनियुक्त प्रधानमन्त्री केपी ओलीले विगतमा पुँजी बजारको विकासका लागि गरेका प्रतिज्ञा र एमाले पार्टी आफैमा कर्पोरेट कार्यकर्ता धेरै भएको पार्टी भएकाले यो पार्टीको नेतृत्वमा बनेको सरकारको नीति तथा कार्यक्रम पक्कै पनि पुँजी बजार अनुकूल नै आउने छन्  भन्ने कुरामा आम लगानीकर्ता ढुक्क भएकाले पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

४.नयाँ संविधानअनुसार केन्द्र र प्रदेशमा स्थिर र दिगो सरकारको निर्माणसँगै देश अब बिधिवत रुपम संघीयता संरचनामा प्रवेश गरेको छ । संघीयता कार्यान्वयन हुनु भनेको केन्द्रकीृत शासन प्रणाली विकेन्द्रीकृत हुँदै जानू हो । विकेन्द्रीकृत शासन प्रणालीले स्थानीय निकायको विकासमा बहार ल्याउने अपेक्षा गरिएको छ । त्यसपछि समग्र मुलुकले विकासको काँचुली फेर्नेछ, यस्तो अवस्थामा लगानीको अवसरहरु विस्तार गरी आर्थिक गतिविधि बढ्ने र यसले पुँजीबजारलाई समेत चमक ल्याउने आशामा लगानीकर्ता छन् । 

५.नेपालको अर्थतन्त्र अब संघीय संरचनामा रुपान्तरण हुनेछ, अब बिस्तारै अवसरहरुले लगानीकर्ताको ढोका ढकढक्याउन थाल्नेछन् । सातवटै प्रदेश धानिन उनीहरुको आर्थिक व्यवस्थापनका अन्य भरपर्दा स्रोतहरु नहँुदा नेपालले संघीयता धान्न सक्ने छैन भन्ने कुराहरू पनि विभिन्न अर्थशास्त्रीहरुबाट नआएको होईन । यस्तो अवस्थामा परदेशहरुले विश्वमा हुँदै आएको अभ्यास झै पुँजीबजारबाटै स्रोत जुटाउन थाल्ने छन् । यसका लागि प्रदेश सरकारहरुले विभिन्न बण्ड(ऋणपत्र)हरु जारी गर्नेछन् । त्यसपछि हाम्रो पुँजी बजार अझ फराकिलो हुनेछ भन्ने आशामा लगानीकर्ता छन् ।

६.नयाँ सरकारले पुँजी बजारको दिगो विकासका लागि महत्वपूर्ण नीतिगत र कानुनी सुधारका कार्यक्रम अघि बढाउने अपेक्षामा लगानीकर्ता छन् । त्यसकारण पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

७. समय–समयमा सेयर बजारलाई तर्साउने गरेको भ्याट प्रकरण चर्चामा छ । नयाँ सरकारका प्रधानमन्त्रीले पुँजी बजारमा भ्याट लगाउने छैनौ भन्ने प्रतिबद्धता गरिसकेका हुनाले नयाँ सरकारले यसलाई निक्र्यौलमा पुर्याउने आम लगानीकर्ताको आशा छ ।

८.लामो समयदेखि नेपालको पुँजीबजारको विकास र विस्तारका लागि चर्चामा रहेका अनलाइन ट्रेडिङ, बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने कुरा, बजार निर्माताको व्यवस्था, गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा लगानी गर्ने अवसरका लागि उठेका नीतिगत कुरा, वास्तविकता क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्र्याउने, ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ र डिलरसिप दिने जस्ता कुराहरु बारम्बार उठाउने र सेलाउने काम जुन हुँदै आइरहेको छ । यी माथि उल्लेखित कामहरू नयाँ सरकार निर्माणसँगसँगै कार्यान्वयनतर्फ जानेछन् । जुन कामहरुको कार्यान्वयनपछि नेपालको सेयर बजारले एउटा छलाङ मार्दै अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र आधुनिक सेयर बजार हुनेछ भन्ने आशामा नेपाली लगानीकर्ता छन् । 

९.यस्ता महत्वपूर्ण कार्यक्रमहरु नयाँ सरकारका हुनेवाला अर्थमन्त्रीको पहलमा नेपाल राष्ट्रबैंक, नेप्से र धितोपत्र बोर्डलाई दवाब दिएर तुरुन्तै सुरुवात हुनेछन् भन्ने अपेक्षामा लगानीकर्ताहरु बसेका छन् । केही दिनअघि सेयरबजार लगानीकर्तासँगका अध्यक्ष नबराज सुवेदीको नेतृत्वमा गएको समूहले नेप्से र धितोपत्र बोर्डका पदाधिकारीहरुलाई भेटेर सेयर बजारको सुधारका लागि १२ बुँदे ज्ञापनपत्र बुझाउँदै यदि यी १२ बुँदे कुराहरु तुरुन्तै कार्यान्वयन भएन भने नयाँ सरकार आएपछि जे पनि हुनसक्छ भन्ने चेतावनीको भाषाले पनि लगानीकर्ताहरु बजार सुधारका कार्यक्रम अब छिट्टै सुरु हुनेछन् भन्ने आशामा छन् ।

१०. बैंकमा अहिले देखिएको तरलताको समस्या पनि सरकार निर्माणसँगै समाधान हुने आशा छ । नयाँ सरकारको निर्माणपछि विकासका कामले तीव्रता लिनेछ । सरकारको ढुकुटीमा थन्किएर बसेको पैसा बजारमा आउनेछ, तरलता समस्या समाधान हुनेछ र लगानीका लागि पैसाको सहजता सिर्जना गर्न तथा तरलताको चुनौतिपूर्ण अवस्थालाई सहज बनाउन नयाँ सरकारले विशेष पहल गर्नेछ भन्ने अपेक्षामा आम लगानीकर्ताहरु रहेका छन् ।

११. बजारमा देखिएको अधिक आपूर्तिको समस्यालाई समाधान गर्न बजारको विकास र विस्तार गर्ने संयन्त्रहरुको तुरुन्तै सुरुवात गर्नुको साथै कुल जनसंख्याको पाँच प्रतिशत मात्र जनता सेयर बजारमा लागेका र बाँकी पञ्चानब्बे प्रतिशत जनतालाई सेयर बजारमा ल्याउनलाई सेयर शिक्षा कार्यक्रमहरु जस्तै सेयर बजार पनि एउटा लगानीको राम्रो क्षेत्र हो । यो पनि एउटा प्रोडक्ट हो, बैंकमा निक्षेप राखे जस्तै सेयरको लगानी पनि चाहेको बेलामा निकाल्न सकिन्छ, बैंकमा राखेको पैसाले भन्दा सेयरमा लगानी गरेको पैसाले अधिक प्रतिफल दिन्छ जस्ता कुराहरूमा आम जनतालाई शिक्षा दिने कार्यक्रमहरु नयाँ सरकारको पहलमा हुनेछन् भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् ।

माथि उल्लेखित विभिन्न सकारात्मक कारणहरुले गर्दा लगानीकर्ताहरुमा एउटा आशा र भरोसा जागेकोले नयाँ सरकार निर्माणसँगै सेयर बजारमा उछाल आएको हो ।

अन्तमा लगानीकर्ताहरुलाई के अनुरोध गर्दछु भने सेयर बजार उच्च जोखिम र उच्च नाफा भएको क्षेत्र हो, यो क्षेत्रमा धेरै विचार विमर्श गरेर मात्र कारोबार गर्नुपर्दछ । अहिले बजार बढ्यो भन्दैमा एक कित्ता सेयरमा रु १०,२० रुपैयाँ फाइदा आउँदैमा बिक्री नगर्नुहोस्, तपाईले लगानी गरेको पैसाको ब्याज र मुद्रास्फीति दरको हिसाब गरेर कम्तीमा २० देखि २६ प्रतिशत फाइदा आएपछि मात्र बिक्री गर्नुहोस् । अब आत्तिएर बेच्नुपर्ने अवस्था छैन, यदि राम्रा कम्पनीमा लगानी गर्नु भएको छ भने । 

यसैगरी, बजार बढ्न सुरु गर्यो भनेर हल्लाको भरमा नबुझी कम्पनीको बित्तीय अवस्था नकेलाई सेयरमा लगानी नगर्नुहोस् । अहिले सेयरमा लगानीका लागि ज्यादै उपयुक्त वातावरण छ । भबिष्यमा सुनको अण्डा दिने कम्पनीहरु, जसको अहिले सेयर मूल्य अन्डर भ्यालुमा छन् । सेयर मूल्य अन्डर भ्यालुमा भएका कम्पनीहरु पत्ता लगाउनुहोस् । यस्ता कम्पनीको सेयर खरिद गरेर बस्ने उपयुक्त समय यही नै हो । बैंकको मुद्दती खातामा १२ प्रतिशत ब्याजमा पैसा राखेर बस्नुभन्दा राम्रो कम्पनीको सेयरमा लगानी गर्नु ज्यादै फाइदाजनक हुनेछ । बजार घटेको बेलामा जोखिम मोल्ने हो, अहिलेको बजार लगानीकर्ताका लागि राम्रो अवसर पनि हो । किनकि नयाँ सरकारको निर्माणसँगै नेपालको सेयर बजार केही महिनापछि स्वर्णिम युगमा प्रवेश गर्नेछ भन्ने हाम्रो ठम्यार्इं छ।
(लेखक सेयर बजारका अद्येता हुन्।)