-राजु पौडेल
पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा १८८१ पुगेर रेकर्ड कायम गरेको नेपाली सेयरबजारको सूइँ दोस्रोपटक दुईतिहाई बहुमतसहित ओली पुनः प्रधानमन्त्री हुँदा १४०० को आसपासमै घुमिरहेको छ । हालसम्म उनले सपथ मात्र खाएका छन्, सरकार बिस्तार भइसकेको छैन । तर, बजारले उनीप्रति निकै धेरै आशा र विश्वास गरेको छ ।  

लामो राजनीतिक संघर्षपछि देश नयाँ संविधानको कार्यान्वयन गर्दै संघीयतामा प्रवेश गरेको छ । संघीयतासँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको अवस्था छ । अब गाउँदेखि समग्र मुलुकको बिकासमा बहार आउने सबैको आशा छ । प्रदेशमा प्रदेश सरकार र केन्द्रमा स्थिर र दुई तिहाई बहुमतसहितको शक्तिशाली केन्द्र सरकार बनिसकेका छन् । यी दुवै खाले सरकारको मुख्य नारा आर्थिक समृद्धिमा केन्द्रीत छ । 

पूँजीबजार अर्थतन्त्रको ऐना पनि हो । त्यसकारण नयाँ सरकारले पुँजी बजारको विकास र विस्तारमा विशेष चासो दिएर काम गर्नेछ भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् ।

नयाँ सरकारले नेपाली पुँजीबजारको विकास र विस्तारका लागि निकट भविष्यमै तल उल्लेख गरिएका काम गरे बजारमा उछाल आउने निश्चित छ । सरकारले सेयर बजारको सर्वाङ्गिण विकास र लगानीकर्ताहरुको मनोबल उकास्ने तथा सेयर बजारलाई लगानीको आकर्षक विकल्प बनाउन के–के गर्नुपर्ला ? सरकारबाट लगानीकर्ताले के आशा गरेको छन् ? हेरौं बुँदागत रुपमा :

१. अनलाईन ट्रेडिङको सुरुवात: नेपाली पुँजी बजारमा कायपलट गर्ने एउटा प्रमुख काम अनलाईन ट्रेडिङको सुरुवात हो । जुन कुरा लामो समयदेखि उठ्ने र सेलाउने गरेको छ । यो कामलाई नयाँ सरकारले तुरुन्तै अगाडि बढाउनेछ भन्ने आशा आम लगानीकर्ताहरुले राखेका छन् । अनलाइन ट्रेडिङको सुरुवात अर्थात घरमै बसेर मोबाईल र कम्प्युटरमा एक क्लिक गरेका आधारमा दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्न पाउने सुबिधाको सुरुवात नेपाली पुँजी बजारमा भयो भने सबै देश बिदेशमा बसोबास गर्ने आम नेपाली जनताहरुको पँहुच नेपाली पुँजी बजारमा पुग्नेछ । तर अनलाईन ट्रेडिङ सबै नेपाली जनताको पहुँचमा पुर्याउन सबैलाई यसको शिक्षा र ईन्टरनेटको सुबिधा सबै स्थानमा पुर्याउने काम पनि नयाँ सरकारले सँगसँगै गर्नु पर्ने आवश्यकता छ ।

२.नयाँ स्टक एक्सचेञ्जको स्थापना: कुनै पनि उपभोक्ताले बढी सेवा र सुबिधा पाउन बजारमा प्रतिस्पर्धी कम्पनीको आवश्यकता पर्दछ । उदाहरणका लागि जति बेला नेपालमा एक मात्र टेलिकम कम्पनी नेपाल टेलिकम थियो, त्यति बेला नेपाल टेलिकमको सेवा र सुबिधा गुणस्तरहीन र औधी महंगो पनि थियो । जब नेपालमा एनसेल जस्ता अन्य टेलिकम कम्पनीको प्रवेशसँगै प्रतिस्पर्धा बढ्यो, तब दूरसंचार सेवाको गुणस्तरमा मात्र सुधार भएन, यो निकै सस्तो पनि भयो । ठीक यसैगरी, नयाँ स्टक एक्सचेञ्ज ल्याउँदा अहिले भएको नेपाल स्टक एक्सचेञ्जको विकल्प लगानीकर्ताले पाउनेछन् र २ वटा बजार संचालकले आफ्नो सेवालाई गुणस्तरीय बनाउनुपर्नेछ, यो कार्यमा दुुईबीच प्रतिस्पर्धा हुने यसको सोझो लाभ लगानीकर्ताले पाउनेछन् ।  दुईवटा नेप्से कम्पनीको प्रतिस्पर्धाले लगानी कर्ताहरुले नयाँ नयाँ सेवा र सुविधा पाउनुको साथै नेपाली पुँजी बजारको बिकास र बिस्तारमा ब्यापकता आउने छ भन्ने आशा गर्न सकिन्छ । त्यसकारण नयाँ नयाँ आधुनिक सेवा सुविधा पाउन यथाशीघ्र नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन यो सरकारले ढिला गर्नु हुँदैन भन्ने आम लगानीकर्ताको चाहना छ। कतिपयले सानो बजारमा २ वटा स्टक एक्सचेञ्ज किन चाहियो भनेर पनि प्रश्न गर्छन, तर लगानीकर्ताले सेयर बजारबाट अधिकतम सेवा र सुविधा पाउने अवस्था बनाउने हो भने प्रतिस्पर्धी कम्पनी ल्याउनैपर्छ । यति सानो देशमा यति धेरै बैंक तथा वित्तीय संस्था हुन सक्छन भने दुईवटा स्टक एक्सचेञ्ज हुन किन सक्दैन ?

३.गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा प्रवेश: अनलाईन ट्रेडिङको सुरुवातसँगै नेपालमा जन्मेर विश्वासका विभिन्न मुलुकमा गई जागिर र ब्यापार व्यवसाय गरी त्यहीँको नागरिकता लिएर बसेका लाखौं गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा लगानी गर्न सजिलो हुनेछ । गैरआवासीय नेपाली संघले आफूहरुलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण मिलाइदिने हो भने पहिलो चरणमै आफूहरुले १० अर्ब लगानी गर्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेको छ । तसर्थ, ओली नेतृत्वको सरकारको आर्थिक समृद्धिको सपना पूरा गर्न पनि गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा भित्र्याउन आवश्यक नीति नियमको तुरुन्तै व्यवस्था नयाँ सरकारले गर्नेछ भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् । गैरआवासीय नेपालीहरुले समेत लगानी गर्नसक्ने वातावरण बनाउनुु भनेको हाम्रो पूँजीबजारलाई अन्तराष्टिय स्तरको बनाउनुु हो । यसो गर्न सकिए नेपाली पूँजीबजारमा यसले एउटा कोशेढुंगाको काम गर्नेछ।

४.बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने व्यवस्था: धेरै लामो समयदेखि हाम्रो पुँजी बजारमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने चर्चा समेत चल्दै आएको छ । नयाँ सरकारको निर्माणसँगै यो कार्य पनि पूरा हुने आशामा आम लगानीकर्ताहरु छन् । अनलाईन ट्रेडिङको सुरुवातसँगै हाम्रो पुँजी बजारको दायरा ज्यादै फराकिलो हुनेछ अर्थात देशको कुना कन्दरासम्म हाम्रो बजार पुग्नेछ । त्यस्तो अवस्थामा विद्यमान ५० वटा ब्रोकर कम्पनीले सबै स्थानीय निकायसम्म सेवा दिन सक्ने अवस्था हुँदैन । रास्ट्र बैंकको निर्देशन अनुसार सबै स्थानीय निकायमा बाणिज्य बैंकहरु पुग्दै छन् । यिनै बाणिज्य बैंकहरुलाई विशेष कानुन निर्माण गरी ब्रोकर लाइसेन्स दिन सकियो भने सबै स्थानीय निकायको जनतासम्म नेपाली पुँजी बजारको पहुँच पुग्नेछ । त्यसकारण नयाँ सरकारले बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने पहल तत्काल गर्नुपर्छ । 

५.बजार निर्माताको व्यवस्था: अहिले सेयर बजारमा सेयर आपूर्ति अत्यधिक हुँदा अर्थतन्त्रका हरेक सूचक र कम्पनीहरुका दोस्रो त्रैमासिक रिपोर्ट सकारात्मक हुँदाहुदै पनि सेयर बजारले एउटा गति लिन सकिरहेको अवस्था छैन भने अर्कोतिर बजार निर्माता कम्पनीको व्यवस्था नहुँदा नेपाली सेयर बजार अस्थिर देखिएको छ । कहिले बिनाकारण भारी अंकले वृद्धि हुने, कहिले बिनाकारण भारी अंकले घट्ने प्रकृतिको बजार भएको छ । यस्तो बजारमा धेरै नयाँ लगानीकर्ता फस्ने सम्भावना हुन्छ । बजारमा भएका विभिन्न म्युचुअल फण्डहरुले पनि बजार निर्माताको भूमिका खेल्न सकिरहेका छैनन्, यिनीहरु पनि सामान्य लगानीकर्ताहरु झै अलमलको अवस्थामा छन् । त्यसकारण अहिले बजारमा देखिएको अत्यधिक सेयर आपूर्तिको व्यवस्थापन गर्न र बजारलाई स्थिर प्रकृतिको बनाउन पनि नयाँ सरकारले तुरुन्तै बजार निर्माताको रूपमा सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता कोषहरुलाई बजार निर्माताको रूपमा सेयर बजारमा भित्राउन पहल गर्नेछ भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

६. ब्रोकर कम्पनीहरुको कार्यक्षेत्र विस्तारसँगै मार्जिन ट्रेडिङ र डिलरसीपको व्यवस्था: अहिले ५० वटा ब्रोकर कम्पनीमार्फत दोस्रो बजारमा सेयर खरिदबिक्री हुँदै आएको छ । यी ५० वटा ब्रोकर कम्पनी पनि नेपालका प्रमुख सहरमा मात्र केन्द्रित छन् । नयाँ सरकारले नयाँ ब्रोकर कम्पनी थपेर हरेक स्थानीय निकायसम्म ब्रोकर कम्पनीका शाखा सञ्जाल बिस्तार गर्ने, ब्रोकर कम्पनीले सेयरधितो राखेर लगानीकर्ताहरुलाई ऋण दिने सुविधा मार्जिन ट्रेडिङ र सेयर बजार सम्बन्धी काम गर्ने डिलरसिप सेवा दिने व्यवस्था अन्तिम चरणमा पुगेको कुरा आएको छ । यो सरकारले तुरुन्तै यी कामलाई अगाडि बढाउन पहल गर्नेछ भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् ।

७. संस्थागत सुशासनको व्यवस्था: वर्तमान अवस्थामा नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुले संस्थागत सुशासनको खिल्ली उडाइरहेका छन् । समयमा साधारणसभा नगर्ने, समयमा बोनस सेयर र हकप्रद सेयर घोषणा गरेर पनि बाँडफाँड नगर्ने, एकपटक घोषणा गरिसकेको बोनस र हकप्रद सेयरको प्रतिशत परिवर्तन गरेर लगानीकर्ताहरुलाई फसाउने, झुटा सूचनाहरु दिने, इन्साईडर ट्रेडिङ गर्ने आदि गतिविधि गर्दै आएको अबस्थामा पनि नेप्से र धितोपत्र बोर्ड मूकदर्शक भएर हेरिरहने विद्यमान अवस्थाको अन्त्य गरी यस्ता संस्थागत सुशासनको खिल्ली उडाउने कम्पनी र नियामक निकायलाई कडाभन्दा कडा कारबाही हुने ऐन नियमको व्यवस्था गरी कम्पनीहरुलाई संस्थागत सुशासनमा राख्न महत्वपूर्ण भूमिका सरकारले खेल्नेछ भन्ने आशा आम लगानीकर्तामा छ।

८. वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्राउने प्रयास: अहिलेको नेपाली पुँजी बजारमा सेयर कारोबार हुने अधिकांश कम्पनी वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनी भएकाले नेपाली सेयर बजारमा लगानीमा विविधीकरण छैन । त्यसकारण नयाँ सरकारले वास्तविक क्षेत्रका कम्पनीहरु जस्तै, सिजि, एनसेल, विभिन्न सिमेन्ट कम्पनी जस्ता कम्पनीहरुलाई सेयर बजारमा आउन उत्प्रेरित गर्ने आवश्यक नीति ओली नेतृत्वको सरकारले बनाउने आशा लगानीकर्तामा छ ।

९. सेयर शिक्षाको प्रवद्र्धन: अहिलेको अवस्थामा ९५ प्रतिशत नेपाली नागरिकहरुलाई सेयर र सेयर बजारको बारेमा जानकारी छैन । यस्तो अवस्थामा नयाँ सरकारले आम नेपाली नागरिकहरुलाई सेयर शिक्षा दिन विद्यालय तथा विश्वविद्यालयहरुको पाठ्यक्रममा सेयर र सेयर बजारको बारेमा व्यवहारिक ज्ञान दिने सामाग्री समेट्दै सरकारको पहलमा नियामक निकायले व्यवहारिक तालिमको व्यवस्था गराउँदै सेयर बजारको महत्व, फाइदा यसका जोखिमका बारेमा सातैवटा प्रदेशमा तालिमकेन्द्र सञ्चालन गरी सबै जनताहरुलाई ज्ञान दिने काम हुनेछ भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् । 

१०. ब्रोकर कमिसन समायोजन र क्यापिटल ग्यान ट्याक्समा छुट: अहिलेको नेपाली ब्रोकर कम्पनीहरुले लिने ब्रोकर कमिसन दक्षिण एसियामा नै महङ्गो छ । यस्तो महङ्गो ब्रोकर कमिसन भएको अवस्थामा यसलाई उचित रूपमा समायोजन गरेर लगानीकर्ताहरुले महङगो ब्रोकर कमिसन तिर्नु पर्ने बाध्यताको अन्त्य गर्ने काम गर्नुको साथै दीर्घकालीन लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नको लागि र बजारलाई स्थिर बनाउनका लागि सेयर बिक्रि गर्दा लिने गरिएको क्यापिटल गेन टयाक्समा छुट दिने ब्यवस्था नयाँ सरकारको पहलमा हुनेछ भन्ने आशा दीर्घकालीन लगानीकर्ताहरुले गरेका छन् । 

११. सेयर कारोबारलाई पनि उद्योगसरह मान्यता दिने व्यवस्था: बीसौ खर्ब लगानी रहेको सेयर व्यवसायलाई हालसम्म पनि उद्योग वा व्यवसायको मान्यता दिइएको छैन, यो दुुर्भाग्यपूर्ण छ । त्यसकारण नयाँ सरकारको पहलमा सेयर कारोवारलाई पनि उद्योग व्यवसायको मान्यता दिने काम हुनेछ । सेयर कारोबारलाई पनि उद्योग व्यवसायको मान्यता दिंदै सेयर धितो कर्जाको मार्जिन बढाउन राष्ट्रबैंकलाई निर्देशन दिने र अहिले बैंकहरुमा देखिएको तरलताको समस्या तुरुन्तै हल गर्ने काम नयाँ सरकारले गर्नेछ भन्ने आशा आम लगानीकर्ताहरुले गरेका छन् ।

१२. हरेक स्थानीय निकायसम्म सेयर बजारको बिस्तार: हरेक स्थानीय निकायसम्म सेयर खरिदबिक्री गर्नसक्ने संयन्त्रको विकास गर्न ब्रोकर कम्पनी, नेप्से, धितोपत्र बोर्ड, तथा बैंकहरुलाई संघीय संरचना अनुसार विकेन्द्रिकृत गराउने काममा विशेष पहल नयाँ सरकारले गर्नेछ भन्ने आशा लगानीकर्ताले लिएका छन् ।

१३. भ्याटमुक्त पुँजी बजार: नेपाली पुँजी बजारलाई समय समयमा भ्याट आतंकले सताउने गरेको छ । आम लगानीकर्ताको माग पुँजी बजार(कारोबार)मा भ्याट लगाउन हँुदैन भन्ने छ । प्रधानमन्त्री ओलीजीले सत्तामा पुुग्नुुअघिसम्म आफूहरुको सरकारले पुँजी बजारमा भ्याट लगाउने छैन भन्ने प्रतिबद्धता जनाइसक्नुुभएको छ । यो सरकारबाट आम लगानीकर्ताको के आसा छ भने सेयर बजारमा समय-समयमा उठ्ने यो भ्याट आतंक सधैको लागि अन्त्य होस् ।

माथि उल्लेख गरिएका महत्वपूूर्ण काम तथा सुधार नयाँ सरकारले चरणबद्ध रुपमा गर्दै जाने हामी तमाम लगानीकर्ताले आशा गरेका छौ । यो सरकारको पालामा नेपालको सेयर बजारले एउटा नयाँ इतिहास रच्दै विकसित, अन्तर्राष्ट्रिय स्तरको, आधुनिक,  प्रविधिमैत्री र स्थिर बजार बन्ने हामीमा आशा छ ।

मैले प्रस्तुत गरेका यी १३ बुँदाको कार्यान्वयन हुने हो भने हाम्रो पूँजीबजारको स्वर्णिम युुग सुरु हुने थियो । अहिले सेयर बेचेर बजारबाट पलायन भएका लगानीकर्ताले त्यसबेला पुुर्पुुरोमा हात लगाउनुपर्ने अवस्था आउनेछ । तसर्थ, अहिले घाटा खाएर सेयर बेचेर सेयर बजारबाट पलायन हुने काम नगरौं, बरु बजार घटेको बेलामा दीर्घकालीन लगानी गर्ने उद्देश्यका साथ राम्रा कम्पनीका सेयर खरिद गर्न थालौं । सेयर बजारमा जोखिम पनि उत्तिकै हुने हुँदा अहिले जोखिम बहन गरेर राम्रा राम्रा कम्पनीका सेयर सस्तोमा खरिद गर्ने समय हो । यो समयलाई खेर नफालौं, केही दिन पछि बजारले एउटा लय लिन्छ, यसमा म ढुक्क छु।

(लेखक सेयर बजारका अद्येता हुन् ।)