काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि खुलेको सेयरबजार लगातार तेश्रो दिन पनि घटेको छ । निर्वाचनपछि बजार बढ्ने आम अपेक्षाविपरीत बजारले उल्टो यात्रा तय गर्न थालेको हो । आइतबार र सोमबार सामान्य अंकले बढेको बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट देखिएको छ । 

पहिलो, निर्वाचनको क्रममा सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएको अधिक रकम बैकिङ च्यालनमा नआउँदा बैंक तथा बित्तीय संस्थाहरुमा तरलता टाइट हुँदै गएको छ । तरलता टाइट हुँदै गरेको अवस्थामा बैंकहरुले ब्याजदर घटाउनको साटो बढाउने तयारी थालेका छन् । सहज ब्याजदरमा सेयर कर्जा नपाउँदा समेत बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । 

दोश्रो, बजारमा अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बसेका छन् । पुस १५ गतेभित्र बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र सो सरकारले अख्तियार गर्ने रणनीतिले समेत बजार प्रभावित हुने निश्चित छ । अब बन्न लागेको सरकारले लिने आर्थिक नीतिको प्रतिक्षामा धेरै लगानीकर्ता बस्दा समेत बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । 

तेश्रो, बजारमा लामो समयदेखि सर्टटर्म कारोबारी हाबी भएका छन् । सुनियोजित रुपमा बजार बढाउने र घटाउने यस्ता गिरोहहरुका कारण समेत पछिल्लो समय बजारमा गिरावट आइरहेको छ । यस्ता गिरोहहरुले आफूू अनुकुल बजार बढाउने र थोरै नाफा बुक गरेपछि फेरि सेयर सस्तोमा खरीदका लागि बजार घटाउने काम गर्दै आएको छ । अहिले समेत यस्तै कारोबारी हाबी हुँदा बजार निरन्तर घटिरहेको हो । 

के–के भयो मंगलबार ?
मंगलबार बजार परिसूचक १७.५४ अंकले घटेको छ । कारोबार रकम भने यो दिन अघिल्लो दिनको तुलनामा बढेको छ । यो दिन उत्पादनमूलक समूह ६.४२ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैकिंग समूह १३.८२ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः १६६.१७, २२.८१ र २०.६३ अंकको गिरावट भयो । यस्तै, बित्त समूह १.५२, अन्य समूह ७.५२, होटल समूह ४७.८३ र जलविद्युत समूह ८.७८ अंकले घटे । 

यो दिन 'क' वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ३.३९ अंकले घट्यो भने फ्लोट इण्डेक्स १.२४ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ५७ कम्पनीका ११ लाख ८० हजार ५ सय ६३ कित्ता सेयर ६६ करोड ९२ लाख ११ हजार १ सय ८१ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी राष्टिय बिमा कम्पनीको ५ करोड ९८ करोड बढीको संस्थापक सेयर किनबेच भयो । ग्लोबल आइएमई बैंकले समेत सोही हाराहारीमा कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ९६ लाखको कारोबार भएको बजारमा प्राइम लाइफ इन्स्योरेन्सको ३ करोड ८० लाखको संस्थापक सेयर किनबेच भयो । यस्तै, नेपाल बैंकले ३ करोड ३० लाख, नेपाल टेलिकमले ३ करोड १२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन काबेली विकास बैंकले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ८.६४ प्रतिशतले वृद्धि भयो । यस्तै खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा समेत ५.१६ प्रतिशतले वृद्धि भयो । 

यो दिन राष्ट्रिय बिमा कम्पनीको संस्थापक र साधारण सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्य ५.८४ र राष्ट्रिय बिमा कम्पनीको साधारण सेयरको मूल्य ५.५७ प्रतिशतले घट्न पुुग्यो ।