काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको  विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलियमको  यो किताब सर्वसाधारण लगानीकर्ताले समेत बुझ्ने हिसाबले तयार गरिएको छ र टिप्सहरुलाई समेत सोही अनुसार प्रस्तुत गरिएको छ । 

हेरौं सेयर लगानीमा जान्नैपर्ने ४८ मन्त्रहरु :
१.नयाँ लगानीकर्ता हुनुहुन्छ भने सेयर लगानी गर्ने क्रममा हुनसक्ने सामान्य घाटालाई सहन तयार हुनुहोस् । 

२.आफूले खरीद गरेको मूल्यमा ८ प्रतिशतसम्मको घाटा सहनुपर्छ भनेर पहिला नै मानसिकता बनाउनुहोस् । 

३.लगानीको सुरुवातमा दृढता मूल मन्त्र हो, हतोत्साही  नबन्नुहोस् । 

४.लगानी गर्न सिक्ने कार्य एकरातमै हुँदैन । यसले  समय लिन्छ भन्ने कुरा बेलैमा बुझ्नुहोस् । 

५.सुरुवातको समयमा तपाईंले भरपर्दो र विश्वासिलो ब्रोकरहरुको साथ लिनु महत्वपूर्ण हुन्छ । राम्रो प्रतिष्ठा बनाएको ब्रोक्रेज कम्पनीलाई मात्र साथ लिनुहोस् । 

६.लगानीको सुरुवातमा डिम्याट खाता अनिवार्य खोल्नुहोस् र सोही अनुसार पैसा पनि ठीक पार्नुहोस् ।

७.केही हजार रुपैयाँबाट पनि तपाईंले सेयरमा लगानी सुरु गर्न सक्नुहुन्छ । अनुभव नै तपाईंका लागि ठूलो पाठ र सिकाई हो भन्ने बुझ्नुहोस् । 

८.अस्थिर प्रकृतिको सेयरमा सुरुवातमै लगानी गर्ने भूलबाट बच्नुहोस् ।

९.उच्च स्तरको स्टकमा ध्यान लगाउनुहोस् । केही सेयर मात्र खरीद गर्नुहोस् । सुरुवातमा २० कित्ता सेयरमा मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

१०.सेयर लगानीको क्रममा भावनाको भरमा निर्णय नगर्नुहोस् । खरीद र बिक्रीको सामान्य नियमलाई पालना गर्नुहोस् । भावनाले आफ्नो माइण्डलाई परिवर्तन गर्ने भूल नगर्नुहोस् ।

११.अति सस्तो सेयरमा सुरुमै लगानी नगर्नुहोस् । राम्रो कम्पनीको सेयरमा राम्रै मूल्य हाले त्यसबाट डूब्ने धेरै  डर हुँदैन । 

१२.आजका टप लगानीकर्ताहरुबाट सिक्ने  कोशिश गर्नुहोस् । उनीहरुको अनुभवले तपाईलाई भविष्यमा बजारको लिडर बनाइदिन सक्छ ।

१३.लगानी गरेपछि हुने घाटा वा प्रतिफलको आधारमा आफूले छनौट गरेको कम्पनीको सेयरको बिषयमा विश्लेषण गर्ने बानी बसाल्नुहोस् । यो बानीले तपाईले आफ्नो सफलता वा घाटाको प्रत्येक कारण जान्न सक्नुहुन्छ । 

१४.आधारभूत र प्राविधिक पक्षको विश्लेषण गरी लगानी गर्ने शैली राम्रो नाफा हुने सेयर खरीदको मूल मन्त्र हो । 

१५.आधारभूत विश्लेषणमा कम्पनीको आम्दानी, आम्दानीतर्फको ग्रोथ, बिक्रीको अवस्था, नाफाको मार्जिन र त्यसले अन्य स्टक वा कम्पनीको तुलनामा दिने रिटर्न हेर्नुपर्छ । यसले तपाईंलाई स्तरीय सेयर मात्र खरीद गर्ने क्षमताको विकास गर्छ । 

१६.प्राविधिक विश्लेषणले तपाईंलाई सेयरको मूल्य बुझ्न सिकाउँछ । यस्तै भोल्युम चार्टको बिषयमा समेत ज्ञान दिन्छ र लगानीको लागि उपयुक्त समयको बिषयमा समेत पाठ सिकाउँछ । 

१७.सेयर बजारबाट धेरै पैसा कमाउन तपाईंले उपयुक्त समयमा धेरै राम्रो कम्पनीको सेयर खरीद गर्नुपर्ने हुन्छ । 

१८.सेयरबाट राम्रो नाफा लिएर बिक्री गर्नु र राम्रो आम्दानी गर्नु सेयर बजारका विजेताहरुको मुख्य विशेषता हो । 

१९.संगठित क्षेत्रको सेयर खरीद गर्दा त्यसबाट निकै ठूलो लाभ प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुहोस् । 

२०.बजारमा नेतृत्व गरिरहेका उद्योग वा समूहको सेयर मात्र छान्नुहोस् । विगतको बजारका बहुसंख्यक नेतृत्वकर्ता  कम्पनी नै टप उद्योग वा समूहको सूचिमा पर्छन । 

२१.धेरै सफल सेयर नेपालको सन्दर्भमा वाणिज्य बैंक, राम्रा विकास बैंक, उत्पादनमूलक क्षेत्र, बिमा कम्पनी र कम्युनिकेसन टेक्नोलोजीसँग सम्बद्ध संघसंस्थाको हुन्छ । 

२२. कुनै पनि कम्पनीको भोल्युम भनेको सो कम्पनीको  कारोबारमा आएको सेयरको संख्या भन्ने बुझ्नुपर्छ । 

२३.कुनै दुर्घटनाले सेयर बजार कहिल्यै पनि माथि जाँदैन । स्टक माथि जानका लागि बजारमा ठूलो परिमाणमा खरीदारी हुनुपर्छ । जस्तो संगठित लगानीकर्ता(ठूला लगानीकर्ता) वा म्युचुअल फण्डहरुको ठूलो खरिदारीले बजार माथि जाने गर्छ । 

२४.अहिलेसम्मको इतिहास हेर्दा मार्केट पूरै क्र्यास भएको घटना बिरलै मात्र छ । सामान्य रुपमा बजार बढिरहन्छ र यो क्रम जारी रहँदा कहिलेकाही बजार निकै माथिल्लो उचाईसम्म पुगेको छ । नेपालको सन्दर्भमा ११ सयको हाराहारीमा रहेको बजार १९ सय नजिकको अंकमा पुगिसकेको छ । 

२५.बजार भनेको 'कप विथ ह्याण्डल' जस्तै हो । यसले एउटा साइडबाट मात्र देखिइने कफी कपलाई संकेत गर्छ । 

२६.कुनै पनि सेयरको सर्वोत्कृष्ट खरीद बिन्दूलाई 'पिभोट प्वाइन्ट'(Pivot Point) भनिन्छ । 

२७.जुन दिन सेयर खुल्छ, खरीदको भोल्युमलाई ५० प्रतिशत वा सोभन्दा बढीका दरले बढाउनुपर्छ । 

२८.सेयरको घट्दो मूल्यले भविष्यमा सेयरको राम्रो बिक्री हुँदैन भन्ने संकेत गर्छ । 

२९.यसअघि प्रचलनमा रहेको भनाई ‘कम मूल्यमा किनेर बढी मूल्यमा बिक्री गर्नु’“buy low and sell high” भन्नेको पछि नलाग्नुहोस् । बरु अब ‘राम्रो मूल्यमा किन्नु र उच्च नाफा लिएर बिक्री गर्नु’ “buy high and sell a lot higher” भन्ने सिद्धान्तलाई आत्मासाथ गर्नुहोस् । 

३०.प्राइस चार्ट र भोल्युमको एक्सनले तपाईलाई कुन बेला तपाईंको सेयर  उच्च विन्दूमा पुग्छ र बिक्री गर्नुपर्छ भन्ने ज्ञान दिइरहेको हुन्छ । 

३१.सेयर बजारमा इतिहास आफैं दोहोरिरहन्छ । 

३२.कुनै पनि सेयर खरीद गरेपछि चार हप्ताअघि बिक्री नगर्नुहोस् । कम्तीमा चारदेखि ८ हप्तासम्म राखेर बिक्री गर्दा बढी नाफा हुनसक्छ । कम्पनीको अवस्था र मूल्यको घटबढलाई हेरेर लामो समयसम्म कुर्न सकियो भने अझ बढी फाइदा हुन्छ । 

३३.कसैले बजारको बिषयमा व्यक्त गर्न व्यक्तिगत विचारलाई पूरै बेवास्ता गर्नुहोस् । 

३४.मुख्य गरी बियरिस मार्केट(घट्दो बजार) उच्च विन्दूबाट बढीमा २० देखि २५ प्रतिशतसम्म मात्र तल झर्छ । देशको बिग्रदो राजनीतिक तथा आर्थिक कारणले यस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । 

३५.कहिले किन्ने र बिक्री गर्ने भन्ने थाहा पाउनु नै सेयर बजारमा सफलताको मूल मन्त्र हो । 

३६.दुईदेखि तीन हप्ताको अवधिमा सेयरको बाँडफाँड भएको चारदेखि पाँच दिनसम्म पूँजीबजारमा गिरावट आउनसक्छ । 

३७.घट्दो बजारले डर र अनिश्चितता पैदा गर्छ । जब स्टकले न्यून विन्दूमा हिट गर्छ र त्यसपछि फेरि बुल हुन थाल्छ, तब त्यो बजारले अवसरहरु सिर्जना गर्छ, धेरै मानिसले यो कुरामा विश्वास नराख्ने भूल गर्छन । 

३८.यदि तपाईंमा विश्वास छ कि तपाई बढ्दो बजारमा लगानी गरिरहनुभएको छ भने तपाईंले यस्तो अवस्थामा प्रतिष्ठित कम्पनीको स्तरीय सेयर नै छान्नुपर्छ । 

३९.बजारको संभावित विजेतासँग जहिल्यै पनि आफूले किनेको सेयर उच्च मूल्यमा बिक्री गर्ने र नाफामा समेत राम्रो वृद्धि गर्ने क्षमता हुनुपर्छ । त्यस्ता व्यक्तिहरुले नाफाको मार्जिनलाई समेत उच्च दरमा बढाउने, इक्वीटीमा १७ प्रतिशत वा सो भन्दा माथिको रिटर्न प्राप्त गर्ने क्षमता हुनुपर्छ । 

४०. सेयर बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । एक : ग्रोथ स्टक इन्भेष्टर र अर्कोः भ्यालु इन्भेष्टर ।

४१.ग्रोथ इन्भेष्टरहरुले जहिले पनि कम्पनीको राम्रो आम्दानी, बिक्रीतर्फको उच्च प्रगति, राम्रो प्रोफिट मार्जिन र १७ प्रतिशत भन्दा बढी इक्वीटीमा प्रतिफल खोज्छ । 
४२.भ्यालू इन्भेष्टरहरुले जहिले पनि बेवास्तामा रहेको सेयर रोज्छन् र जुन कम्पनीको मूल्य आम्दानी अनुपात कम छ, त्यसमै लगानी गर्न खोज्छन् । 

४३.तपाईं लगानीको सुरुवात गर्दै हुनुहुन्छ भने यसलाई सामान्य रुपमा लिनुहोस् । सुरुवातमा घरेलु सेयर वा म्युचुअल फण्डमा मात्र लगानी गर्नुहोस् । 

४४. तपाईंले बजारमा जति लगानी गर्नुभएको छ, सोही अनुपातले मात्र पाउनुहुन्छ भन्ने कुरा बुझ्नुहोस् । सस्तो सेयरमा लगानी गरेर धेरै नाफाको अपेक्षा गर्नु तपाईंको भूल हुनेछ । 

४५.लगानीमा निकै ठूलो विविधिकरण सुरुवातमै आवश्यक छैन । तपाईंले लगानी गरेका केही कम्पनीमा मात्र ध्यान दिनुहोस्, बरु ती कम्पनीलाई राम्रोसँग बुझ्नुहोस् र बजारमा तिनीहरुको घटबढलाई सचेत भएर नियालिरहनुहोस् । 

४६.यदि तपाईंसँग धेरै कम्पनीका सेयर छन् र नयाँ कुनै कम्पनीको खरीद गर्न चाहिरहनुभएको छ भने हातमा भएका सेयरमध्ये कम नाफा दिने कम्पनीलाई बिक्री गरेर त्यसलाई उच्च प्रतिफल दिने कम्पनीको सेयरमा लगाउन सक्नुहुन्छ । 

४७.बजारमा ४० प्रतिशत भन्दा बढी सेयर उच्च प्रतिफल आउने आशामा खरीद गरेको केही दिनमै बिक्री हुने गर्छ । तपाई आफूलाई यति साह्रो अस्थिर नबनाउनुहोस् । 

४८.दोश्रो त्रैमासिक अवधिसम्म पनि तपाईंले खरीद गरेको कम्पनीको प्रति सेयर आम्दानी खासै बढेन भने त्यस्ता सेयरलाई सल्टाउनु नै बुद्धिमानी हुन्छ ।