काठमाण्डौ । सेयर बजारको बिषयलाई लिएर आम लगानीकर्तामा जति आकर्षण छ, त्योभन्दा धेरै बढी डर समेत छ । यही अनिश्चितताका कारण धेरै लगानीकर्ता बजारबाट फाइदा उठाउन चुक्छन् र उल्टो घाटा मात्र उनीहरुको भागमा पर्छ । यस्तै, चर्चित लगानीकर्ता तथा अर्बपतिहरुका लागि समेत सेयर बजारमा लगानी एक महत्वपूर्ण बिषय बन्ने गर्छ । केही खास कारण तथा विशेषताले उनीहरु भने बजारमा टिकिरहन्छन्, फाइदा लिइरहन्छन् । यही कारण त्यस्ता ठूला लगानीकर्ता धेरै सेयर उठाउने समेत कोशिश गर्छन् । आउनुहोस्, जानौ यसको कारण के होला ? त्यस्तो के सूत्रका कारण अर्बपतिहरु बजारमा टिकिरहन र बढी भन्दा बढी रिटर्न पाउन खप्पीस देखिएका होलान् ? 

बजारको बिषयमा अर्बपति यस्तो सोच्छन्
यदि विश्वका सेयर बजारका गुरु वारेन बफेटदेखि लिएर नेपालका निर्मल प्रधान तथा अन्य दिग्गज लगानीकर्ताहरुको रणनीतिप्रति ध्यान दिने हो भने थाहा हुन्छ कि ठूला लगानीकर्ता कुनै सेयरको उतारचढाव तथा बजारको अवस्था भन्दा बढी कम्पनीको सेयरमा ध्यान दिन्छन् । ठूला लगानीकर्ता स्टकको माध्यमबाट प्राप्त हुने अन्य फाइदा तथा सेयरको विविध पक्षको बिषयमा पनि निकै ध्यान दिने गर्छन् । तर, आम लगानीकर्ता आफूले खरीद गरेको वा गर्न लागेको सेयरको मूल्यको उतारचढावमा मात्र सीमित हुन्छन् । 

बजारमा लक्ष्य प्राप्तिका लागि कुनै निश्चित समयसीमा हुँदैन । त्यसैले ठूला लगानीकर्ता लगानीको समयलाई कुनै सीमाभित्र राख्न मन पराउँदैनन् । उनीहरु त्यही पैसा मात्र लगानी गर्छन, जसलाई लामो समयसम्मका लागि होल्ड गर्न सकियोस्, तत्काल बिक्री गर्ने अवस्था नआओस् । 

ठूला लगानीकर्ता बजारको जोखिमलाई पनि राम्रोसँग बुुझ्छन् । त्यसकारण मुख्य सूचक(जस्तै नेप्से परिसूचक)को उतारचढावलाई नै आधार बनाएर लगानी गर्दैनन् । उनीहरु सही कम्पनीमा त्यो बेला पनि दृढ बनेर बसिरहेका हुन्छन्, जुन बेला बजार मन्दीका कारण चौपट नै किन नबनेको होस् ।

१.कम्पनीलाई काममा लगाउने
कुनै कम्पनीको प्रदर्शनको फाइदा एकपटक लगानी गरेर सिधै आफूलाई प्राप्त हुन्छ भन्ने ठानेर अर्बपति सेयरमा लगानी गर्छन्, अर्थात, उनीहरु पैसा लगाएर कम्पनीलाई काममा लगाउँछन् । लगानीपछि आफ्नो लगानीमा सामान्य नजर राखे पुुग्छ । उनीहरु यो काम आफ्नो अन्य व्यवसायसँगै पनि गर्न सक्छन्, यही कामले उनीहरुको मुख्य व्यवसाय डिस्टर्ब हुन्न । अथवा, कतिपय अवस्थामा उनीहरु कोही दोश्रो एक्सपर्टसको माध्यमबाट समेत यस्तो लगानी गर्छन् । 
वारेन बफेटको समेत मान्यता छ कि सेयरमा लगानी गरिसकेपछि पटक–पटक त्यसको मूल्य मात्र हेर्नु एक गलत रणनीति हो । त्यस्तो सेयरलाई केही समयका लागि छाडिदिनुपर्छ । यसको अर्थ सेयर बजारमा लगानी कुनै पनि अर्को(दोश्रो) कारोबारको साथमा सहज ढंगले गर्न सकिन्छ । 
के हो त रणनीति ?
राम्रो फाइदाका लागि कम्पनीको व्यवस्थापन तथा भविष्यको योजनाको बिषयमा ध्यान दिनुुहोस् । किनभने कम्पनीको प्रदर्शन वा प्रगतिले नै तपाईले खरीद गरेको सेयरको प्रदर्शन तथा प्रगति तय गर्छ । कम्पनी मजबुत छ भने तपाईले पाउने रिटर्न समेत मजबुत हुन्छ । यस्तो अवस्थामा लगानीको समेत कुनै चिन्ता हुँदैन । 

२. असीमित फाइदामा नजर
सेयर बजारमा यदि सही कम्पनी छान्नसक्ने हो भने अन्य कुनै सम्पत्ति वा लगानी भन्दा असीमित फाइदा लिन सकिन्छ । कतिपय सेयरमा केही वर्षको अवधिमा नसोचेको फाइदा भएको उदाहरण नेपालभित्रै पनि प्रशस्त छन् । बैंकको मुद्धती खातामा पैसा राखेर ब्याज लिनुुभन्दा, सुनमा लगानी गर्नुभन्दा वा जग्गामा पैसा लगाउनुु भन्दा पनि राम्रो कम्पनी छान्नसक्दा सेयर बजारमा सयौं गुणा बढी फाइदा हुन्छ । 

यहीकारण अर्बपतिहरु यस्तो सेयरको खोजीमा हुन्छन्, जसको तत्कालीन मूल्य निकै कम होस् र विज्ञहरुले चाहि त्यो सेयरले भविष्यमा राम्रो प्रदर्शन गर्नसक्छ भन्ने सल्लाह दिइरहेका हुन् । अथवा, अहिलेको सस्तो मूल्यको राम्रो कम्पनीको सेयर अर्बपतिहरुको नजरमा हुन्छ । निकै कम लगानी हालेर लामो समय होल्ड गरी त्यसबाट उनीहरुले असीमित रिटर्न पाइरहेका हुन्छन् । यस्ता सस्ता सेयरमा लगानीका लागि निकै कम रकम समेत फस्नेछ । 
के हो त रणनीति ?
बजारका ब्रोकरेज हाउस तथा विज्ञहरुको सल्लाहमा ध्यान दिनुपर्छ । तपाईले समेत यदि कुनै यस्तो सेयरमा लामो अवधिसम्म राम्रो प्रदर्शन गर्नसक्ने संभावना देख्नुुहुन्छ भने लामो समयका लागि रकम लगाउने रणनीति सही साबित हुनेछ । यस्तो सेयरमा तपाईलाई असीमित फाइदा प्राप्त हुन्छ । 

३.लाभांशमा ध्यान
कम्पनीले दिने लाभांश पनि लगानीको एउटा आधार हो । राम्रो नतिजाको साथमा कम्पनीले लगातार(प्रत्येक वर्ष) राम्रो लाभांश दिइरहेको छ भने त्यस्तो सेयरमा लगानी गर्नु जोखिम हुन्न । लामो समयसम्मका लागि लगानी गर्नुको फाइदा सेयरको मूल्य बढ्दा मात्र प्राप्त हुन्न, साथमा लाभांश आय समेत प्राप्त हुन्छ । 
के हो त रणनीति ?
यस्तो कम्पनी जसको लाभांश वितरणको राम्रो रेकर्ड छ, त्यसमा लगानी गर्न सकिन्छ । 

४.कम्पनीमा कुनै पनि सकारात्मक परिवर्तनको फाइदा प्राप्त हुनुु
सेयरको मतलब हो तपाई सो कम्पनीको भागिदार बन्नु । यसको अर्थ कम्पनीमा हुने कुनै पनि खालको परिवर्तनको असर तपाईलाई समेत पर्नेछ । कम्पनी कारोबारलाई राम्रो बनाइराख्न लगातार रिस्ट्रक्चर गरिरहन्छ, यसमा कुनै पनि कम्पनीको प्रोफिटेबल युनिटको लिस्टिङ, मर्जरदेखि लिएर बोनस सेयरको घोषणासम्मका गतिविधि हुन्छन् । कम्पनीले गर्ने यस्तो कुनै पनि किसिमको घोषणाको फाइदा सेयरधनीलाई पनि हुन्छ । 

लामो अवधिको दौरान कुनै एक कम्पनीको सेयरको संख्यामा बोनसको मद्धतले बढोत्तरी अथवा ग्रुप कम्पनीको लिस्टिङका कारण नयाँ कम्पनीको स्टकको अफर हुनु निकै सामान्य मानिन्छ । यी सबै फाइदा कुनै लगानीबिना नै सेयरधनीलाई प्राप्त हुन्छ । १० वर्षको अवधिमा संभव हुनसक्छ कि तपाईको एउटा सेयर बढेर २० वटासम्म पुुग्नसक्छ । फेरि एउटै स्टकको मद्धतले तपाईलाई तीनवटा कम्पनीसम्मको सेयर समेत प्राप्त हुनसक्छ । ठूला लगानीकर्ता यही कुरालाई ध्यानमा राखी ग्रोथ गर्ने कम्पनीमा लगानी गरिरहन्छन् । 
के हो त रणनीति ?
अलग–अलग कारोबारमा सामेल ठूलो तथा मजबुत कम्पनीमा लामो अवधिका लागि लगानी गर्न सकिन्छ । कुनै पनि सेग्मेन्टमा ग्रोथपछिको लिस्टिङ वा कुनै सकारात्मक परिवर्तनको फाइदा सेयरधनीको समेत प्राप्त हुन्छ । 

५.ऋणदेखि भुक्तानीसम्मको मौका
अर्बपतिहरुका लागि सेयरमा लगानी कमाई बढाउनेसँगै आफ्नो विजिनेश रणनीति राम्रो बनाउन समेत सहयोगी हुनसक्छ । अधिकांश लगानीकर्ताहरु फण्डिङका लागि सेयरलाई धितोमा समेत राख्छन् । कतिपयले सेयर धितोमा राखेर बैंकबाट लोन समेत राम्रै लिइरहेका हुन्छन् । कतिपय कम्पनीहरुले डिलका लागि सेयरको समेत अफर गर्छन । कुनै कम्पनी, कुनै सम्पत्ति वा कुनै खरिदारीका लागि नगदको साथमा सेयरको अफर समेत दिइने गरिन्छ । त्यति मात्र होइन, सेयरलाई हिजोआज गिफ्टको रुपमा दिने वा आफ्ना बालबच्चाको भविष्यका लागि समेत खरीद गरेर राखिदिने चलन समेत बढ्न थालेको छ ।