काठमाण्डौ । आफ्ना आवश्यकता, इच्छा र चाहनालाई परिपूर्ति गर्न मानिसलाई पैसा बचतको आवश्यकता पर्ने गर्दछ । तर धेरैजसो मानिस आफ्ना आवश्यकता र मागहरु पूरा गर्नका लागि पर्याप्त बचतका लागि संघर्ष गरिरहेका हुन्छन् ।

कुशल वित्तीय योजनाको अभाव यसको मुख्य कारण हो । यस्तोमा आफ्नो आवश्यकताका आधारमा बजेट योजना बनाउनुुपर्दछ । आफूले गर्ने खर्च अनावश्यक क्षेत्रमा नपर्ने सुनिश्चितता प्रदान गर्नुपर्दछ । जस्तै– महँगा गिफ्ट, पार्टी, लत्ताकपडा आदिमा खर्च नियन्त्रण गर्नुपर्दछ । यसका लागि पालना गर्नुपर्ने नियमहरु निम्न छन् : –

१. आफ्नो कमाइको २० प्रतिशत रकम हरेक महिना बचाउने बानी बसाल्नुपर्दछ । बचाएको यो रकमलाई चलाउनु हुँदैन । यस्तो रकमलाई संकटको बेलामा मात्रै चलाउनुपर्दछ ।

२. भविष्यमा हुन सक्ने दीर्घकालीन तथा अल्पकालीन खर्चको आँकलन गरेर योजना बनाउनुपर्दछ । यसरी योजना बनाइसकेपछि खर्च गर्ने क्षेत्रको हिसाबले बचत गर्नुपर्दछ । यसो गर्दा आउन सक्ने आपतकालीन परिस्थितिबाट बच्न सकिन्छ ।

३. तर बचत गर्दा आफ्नो जिउने इच्छा र आकांक्षालाई मार्न भने हुँदैन । कयौँ मानिस  बचतको चक्करमा घुम्ने, रमाउने र मनोरञ्जन गर्ने इच्छामाथि नै अंकुश लगाइरहेका हुन्छन् । सुरु–सुरुमा बचत गर्ने बानी बसाल्न गाह्रो पर्ने गर्दछ । तर बिस्तारै–बिस्तारै यसको बानी पर्दछ र आफ्नो खर्च व्यवस्थापन गर्न सजिलो हुने गर्दछ ।

४. आफ्नो सञ्चित धन बुद्धिमतापूर्वक सही ठाउँमा लगानी गर्नुपर्दछ । सबै बचत बैंकमा मात्रै जम्मा गर्नुहुँदैन । ब्याज र कर बचतका आधारमा अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्दछ । जति धेरै विविध क्षेत्रमा लगानी गरिन्छ, त्यति नै नाफा पनि कमाउन सकिन्छ ।

५. लगानी गर्दा प्रायः लोभमा पर्नुहुँदैन । बजारको सही विश्लेषण गरेरमात्रै लगानी गर्नुपर्दछ । लगानीगर्दा वित्तीय विश्लेषकको परामर्श पनि लिन सकिन्छ । यसले लगानी सुुरक्षित गर्न सहयोग गर्दछ । – एजेन्सी