काठमाण्डौ । धितोपत्रको सार्वजनिक निश्कासनमा आगामी साउनदेखि अनिवार्य गरिएको आस्वा प्रणालीको सेवा प्रवाहको क्रममा सेवाप्रदायकले कमीकमजोरी गरेको देखेमा अनुमति नै खारेज गर्ने चेतावनीसहित धितोपत्र बोर्डले ९ बुँदे निर्देशन जारी गरेको छ । 

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाहरुलाई बोर्डले सेवालाई चुस्तदुरुस्त बनाउनका लागि ९ बुँदे निर्देशन दिंदै त्यसको पालना नभए र साउनदेखि पछि कमजोरी भेटिएमा सेवा प्रवाहका लागि दिइएको अनुमति नै खारेज गरिने चेतावनी दिएको हो । 

‘सहभागी वैंक वा वित्तीय संस्था तथा शाखाहरुले प्रदान गरेको आस्वा सेवा सम्वन्धमा समय समयमा बोर्डबाट स्थलगत निरीक्षण हुनसक्ने र उक्त निरीक्षणका क्रममा कमीकमजोरी देखिएमा सम्वन्धित संस्था तथा शाखालाई सेवा प्रदान गर्न रोक लगाइनेछ ।’ बोर्डका सहायक प्रवक्त निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ तथा उर्पयुक्त व्यवस्थाहरु पालना नभएमा आस्बा सेवा सम्वन्धी अनुमति स्थगन, खारेजी लगायत धितोपत्र सम्वन्धी ऐन नियम वमोजिम कारवाही हुनेछ ।’

बोर्डले आस्वाका सेवाप्रदायकहरुलाई दिएको ९ बुँदे निर्देशन यस्तो छ :
१. धितोपत्र खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखत लगायत निर्देशिकामा तोकिए बमोजिमका सम्पूर्ण विवरणहरु रुजु÷यकिन गरेर मात्र धितोपत्र खरीद आवेदन लिने र उक्त फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत गर्नुपर्ने ।

२.विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद  प्राप्त गर्ने व्यवस्था गर्ने । 

३.आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा (Capital Letter)  मा अनिवार्य रुपमा नामथर लेख्नुपर्ने व्यवस्था गर्ने ।

४.धितोपत्र खरिद ( सार्वजनिक निष्काशन ) सम्बन्धी निर्देशिका, २०७३ मा तोकिए बमोजिम सहभागी  बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सवै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा सोही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउने ।

५.सहभागी बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखावाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्र्दभमा कुन शाखावाट प्राप्त भएको हो सो पहिचान हुने व्यवस्था गर्ने ।

६.सवै सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनकालागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासंग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नं. र पत्राचार गर्ने आधिकारीक इमेल ७ दिन भित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउने र सो विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी तत्काल दिने व्यवस्था गर्ने ।  

७.निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्ने ।

८.सहभागी बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट सो सेवा उपलब्ध गराउनुपर्ने र सोको लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने ।

९.आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र तत्पश्चात समय समयमा  आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने ।

बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा २०७३ माघदेखि लागू गरेको आस्वा प्रणालीलाई आगामी साउनदेखि अनिवार्य गरिएको यसअघि नै प्रष्ट पारिसकेको छ । धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले यस प्रणालीमा सहभागी बैक तथा वित्तीय संस्था मार्फत आवेदन दिनसक्ने र सोही वमोजिम उपलव्ध गराएको विवरणको आधारमा सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आवेदनकर्ताहरुलाई धितोपत्र बाँडफाँट गर्ने हुँदा उक्त आवेदन फारमको शुक्ष्म रुपमा जाँचबुझ गरेर मात्र बुझीलिन आवश्यक भएको बोर्डको ठहर छ । उसले यस प्रणाली लागू गरिए पश्चात बोर्डबाट सार्वजनिक निष्काशनको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणका क्रममा देखिएका कमीकमजोरीहरुलाई सुधारका लागि ९ बुँदे निर्देशन जारी गरिएको बताइएको छ ।