-प्रकाश बञ्जारा
यूएई । संयुक्त अरब ईमिरेट्समा रहेका बैंकका प्रतिनिधि र रेमिट्यान्स सम्बन्धी सरोकार राख्नेहरुले अवैधानिक रेमिट्यान्समा युएईका नेपाली व्यवसायीहरुको उल्लेख्य भूमिका रहेको जिकिर गरेका छन् । 

बैधानिक रेमिट्यान्सको बारेमा बिजशालासँगको कुराकानीमा रेमिट्यान्सका सरोकारवालाहरुले हुण्डीको प्रचारप्रसार तथा अबैधानिक तवरबाट नेपालमा पैसा पठाउन यहाँ खोलिएका स्ांघसंस्थाका अगुवा तथा युएईमा व्यवसाय संचालन गरेर बसेकाहरुको भूमिका रहेको बताए । कुराकानीको क्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका लागि युएईका रिलेसनसिप म्यानेजर सरोज सिंह महर्जनले यसले हुण्डी संचालन गर्छ भनेर किटानी गर्न नसकिएता पनि टाठोबाठो मान्छेले नेतृत्वदायी भूमिका खेलेर कम शिक्षित तथा पूर्ण जानकारी नभएकाहरुलाई हुण्डिप्रति लालायित गर्ने गरेको जिकिर गरे । “यही व्यवसायीले हुण्डीमा सहयोग गर्छ भनेर भन्न नसकिए पनि धेरथोर रुपमा यहाँका व्यवसायीको पनि हात छ ।” महर्जनले भने । 

झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार युएईमा रहेको आँकलन गर्ने महर्जन ३० प्रतिशत रेमिट्यान्स मात्र बैधानिक तवरबाट जाने दाबी गर्छन् । उनको विचारमा हुण्डीलाई निरुत्साहित गर्न सरकारी तवरबाट बैदेशिक रोजगारीमा गएर नियमित रेमिट्यान्स पठाउने नागरिकलाई शिक्षा, स्वास्थ्य जस्ता कुरामा सहुलियतका कार्यक्रम ल्याएमा हुण्डीप्रतिको जनधारणा त्यत्तिकै परिवर्तन हुन्छ । साथै, बैकिङ्ग रेकर्ड आवश्यक पर्दा तथा सरकारी निकायका कामकाजमा निरन्तर  रेमिट्यान्स पठाएका प्रमाणहरु अनिवार्य देखाउनुपर्ने नियम लागू गर्न सके हरेक नागरिकले रेमिट्यान्स सम्बन्धी आफ्नो जिम्मेवारी बोध गर्नका लागि बैधानिक रेमिट्यान्स बढाउन सकिन्छ । 

उता, प्रभू बैंक लिमिटेडका लागि युएई प्रमुख  प्रतिनिधि विश्व न्यौपानेले व्यवसायीहरुलाई यहाँ व्यवसाय सञ्चालन गर्न तथा व्यापारको आकार बढाउन चाहिने आवश्यक पैसा नेपालबाट मगाउन नमिल्ने भएको कारणले नेपालबाट पैसा ल्याउन हुण्डी मात्र उनीहरुको विकल्प रहेको बताए । 

“यहाँ व्यावसाय सँचालन गरिरहेका नेपाली व्यवसायीलाई व्यापारको चलाउन तथा बढाउन पैसा चाहिन्छ, जुन पैसा नेपालबाट विदेश ल्याउन प्रतिबन्धित छ, त्यसो हँुदा उनीहरुलाई हुण्डीको विकल्प छैन ।”–न्यौपाने भन्छन् ।

उनका अनुसार जनचेतनाका साथै गलत माध्यमबाट रेमिट्यान्स गर्नेलाई समेत कारबाही गर्ने कार्यक्रम ल्याउनु जरुरी छ । “सरकारले सुन, ल्यापटप, घडी जस्ता कमोडिटिजका सामानको भन्सार चेक गर्दा ट्रेड बिल हेर्ने साथै बैधानिक तवरबाट रेमिट्यान्स गर्नेलाई प्रोहोत्सान गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।” न्यौपानेले थपे । 

नेपाल राष्ट्रबैकले समेत खातामा रेमिट्यान्स डिपोजिट गर्ने रेमिटरलाई उच्च विनिमय दर दिँदा  धेरैभन्दा धेरै नेपालीले बैंक खाता खोलेर रेमिट्यान्स बैंकमा जम्मा गर्ने र त्यसले हुण्डी निरुत्साहित हुने न्यौपानेको ठम्याई छ । 

अर्का सेञ्चुरी कमर्सियल बैंकका गल्फ क्षेत्रीय प्रमुख प्रकाश पौडेल युएईबाट नेपालमा हुने सुन तस्करीका कारण हुण्डी फस्टाएको बताउँछन् । नेपालमा हुने डोमेस्टिक रेमिट्यान्समा १ लाख बढीको रकममा आयस्रोत खोज्नुका साथै हरेक खरिद बिक्रीमा आयस्रोत खोजिए हुण्डी व्यवसायी निस्क्रिय हुने पौडेलको विचार छ । 

सरकारले कानुन बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएको कारण व्यापारीहरुले कर छली गर्ने साथै हुण्डी फस्टाउने गरेको पौडेलको भनाई थियो । कुराकानीका क्रममा युएई एक्सचेञ्जका नेपालतर्फ करिडोर बजार प्रमुख सन्तोष प्रसाईले जान्ने मान्ने भनाउँदा र राम्रो तलवमानमा काम गर्ने नेपाली श्रमिकहरुबाट पैसा लिने र अवैधानिक तवरबाट नेपालमा भुक्तानी दिने कार्यमा संलग्न रहेको बताए । 

प्रसाईका अनुसार कम तलबमान रहेका विल्डिङ्ग कन्ट्रक्सनमा काम गर्नेहरु वैधानिक रेमिट्यान्सका लागि रेमिट्यान्स हाउस धाउने भएको भएता पनि सर्भिस तथा हस्पिटालिटिका क्षेत्रमा काम गर्ने धेरै नेपालीहरु गलत च्यानलबाट पैसा पठाउने गर्छन् ।

रेमिट्यान्स सरोकार वालाहरुले व्यवसायीलाई लगाएको आरोपप्रति बिजशालाले यहाँका केही व्यवसायीहरुसँग पनि कुरा गरेको थियो । कुराकानीको क्रममा व्यवसायीले सबैले गलत गरेको भन्न नमिल्ने बताएका छन् । 

दुवईमा रहेको नमस्ते ट्राभल्स एण्ड टुरिजम सञ्चालक एकेन्द्रबहादुर थापाले हरेक क्षेत्रमा विकाससँगै केही विकृति समेत हुने भएकाले विकास र विकृति कुनको बढी प्रभाव छ भन्ने नहेरी सिधैं गलत भन्न नमिल्ने बताए । नियम कानुन भएको देशमा व्यवसायीका हरेका क्रियाकलापलाई यहाँको सरकारले पनि निगरानी राखिरहेको हुनाले सरकारको मातहतमा रहेर व्यवसाय गर्नेलाई हुण्डीमा सघाएको भन्न नमिल्ने थापाको भनाई छ  । 

पछिल्लो समयमा यही काम सिकेर अनुभवको आधारमा व्यवसाय सुरुवात गर्ने नेपालीको संख्या बढ्दै गएको र युएईमा नेपाली बिजिनेश काउन्सिल समेत खोलेर नेपालीले यहाँको सरकारलाई नेपालीको पहिचान देखाएको थापाले बताए । 

हुण्डीलाई नियन्त्रण गर्न सरकारले कडा निगरानी राख्नुका साथै बैदेशिक रोजगारीमा आएका नेपालीलाई रेमिट्यान्स कार्ड बनाएर रेमिट्यान्स पठाएको आधारमा पारिवारिक शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सके हुण्डी अन्त हुने थापाको बुझाई छ । 

“प्रवासी श्रमिकका परिवारले व्यापार व्यावसाय गर्न चाहेको खण्डमा मासिक अभिलेख हेरि सहुलियत दरमा ऋणको व्यावस्था लगायत रेमिट्यान्स गर्ने प्रोत्साहनका कार्यक्रम ल्याउन सके अबैध कारोबार अन्त हुन्छ।” थापाले पछि थपे । 

यता, बरदुवईमा रहेको पिपल ट्राभल्सका निर्देशक बाबुराम लोप्चन लामाले भने सरकारकै पक्षपाती नीतिका कारण व्यवसायीहरु हुण्डीतिर जानुपरेको बताए । “मैले दुःख गरेर कमाएको पैसा लुरुलुरु बैधानिक तवरबाटै देशमा पठाउँछु, तर मलाई  चाहिएको बेला, व्यापार बढाउन पर्ने बेला मैले अलिकति पैसा पनि ल्याउन पाउँदिन यो कस्तो न्याय हो ?”–सरकारलाई लामाको प्रश्न थियो । 

खुल्ला रुपमा आफ्नो पैसाले व्यापार गर्ने अवसर समेत सरकारी पक्षपाती नीतिका कारण नमिलेको लामाको भनाई छ । हुण्डीको कारोबार वृद्धि हुनु सुन र कर छलीको कारण मात्र नभई राजनीतिक कारण भएको लामा बताउँछन् । राजनीतिक विश्लेषक तथा संघीय समाजवादी फोरमका युएई अध्यक्ष समेत रहेका लामा सरकारले एकतर्फी मुख बन्द गराएर जनतालाई भाँडो बनाएको आरोप लगाउँछन् । आफूले दुःखले कमाएको पैसा आवश्यक परेको बेला आफ्नो व्यापार विस्तारका लागि विदेश समेत लानसक्ने नीति बनाए कसैले पनि हुण्डीको कारोबार नगर्ने उनको दाबी छ । 

युएईका अर्का व्यवसायी वरदुवईमा रहेको फाईन एग्रो फुडस्टफ ट्रेडिङ्गका सँचालक मान महतोले रेमिट्यान्स सरोकारवालाहरुले लगाएको आरोप केही मात्रामा सही भएको बताए । “बैंक प्रतिनिधिहरुले लगाएको आरोप केही हदसम्म ठीक छ, यहाँ केही व्यवसायी साथीहरुले हुण्डी गर्नुभएकै हो, तर सबै व्यवसायीहरुले चाँहि गरेकै हो भन्नु उहाँहरुको गलत सोच हो।” महतोले भने ।