काठमाण्डौ । सत्तारुढ नेकपाका अध्यक्ष तथा माओवादी युद्धका कमाण्डर प्रचण्डमाथि आफ्नै पूर्व कार्यकर्ताका छोराले जुत्ता प्रहार गरेका छन् । 

प्रचण्डलाई ताकेर जुत्ता हाने पनि उनलाई भने लागेन । 

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुम्लाका २२ वर्षीय युवक रतन तिरूवाले जुत्ता प्रहार गरेका थिए । 

प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्ने ती युवक तत्कालीन माओवादी युद्धमा लागेर ज्यान गुमाएका माओवादीकै कार्यकर्ताका छोरा रहेको समेत खुलेको छ । नेपालगञ्जमा बसेर अमीन बढेका रतन लोकसेवा परीक्षाको तयारीमा रहेका थिए । 

प्रचण्डलाई ताकेर जुत्ता हानेका उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । हाल उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 

प्रहरी नियन्त्रणमा रहेका उनले प्रचण्डले भाषण गर्ने क्रममा वर्ग संघर्षको विषयमा गलत कुरा भनेपछि सहन नसकेर जुत्ता प्रहार गरेको प्रष्टीकरण दिएका छन् । प्रचण्डले पहिला भन्ने गरेको वर्गसंघर्ष र अहिले भन्ने गरेको वर्ग संघर्षको परिभाषा नै फरक परेपछि त्यसले आफूलाई रीस उठाएका उनले बयान दिएका प्रहरीले जनाएको छ ।