काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अन्ततः बिक्री भएको छ । मंगलबारसम्म यो कम्पनीमा ९९ लाख ३८ हजार ३९० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । 

कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिनपछि कम्पनीको सबै कित्ता आइपीओ बिक्री भएको हो । 

कम्पनीको आइपीओमा हालसम्म १ लाख १ हजार ७९० आवेदकबाट ९९ करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको  आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आइपीओमा माग गरेभन्दा केही बढी आवेदन परेसँगै आवेदन लिने काम बन्द गरिएको छ । 

यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गरेको हो । 

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।