काठमाण्डौ । दोश्रो बजारमा कारोबार खुलेसँगै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा दैनिकजसो नेगेटिभ सर्किट लागिरहेको छ । यो क्रम बुधबार पनि रोकिएन ।

चैत १० गते पहिलोपटक यो कम्पनीको दोश्रो बजारमा १२ वटा सेयर कारोबारमार्फत २३० कित्ता किनबेच भएको थियो । सो दिनको कम्पनीको अन्तिम बिक्रीमूल्य २७० कायम भएको थियो । 

त्यसपछि पनि कम्पनीको मूल्यमा लगातार पहिरो गइरहेको छ । त्यसपछिका हरेक कारोबार दिनहरुमा १० प्रतिशतको हाराहारीमा घट्दै बुधबार कम्पनीको मूल्य प्रतिकित्ता ११९ रुपैयाँ कायम भएको छ । 

कमजोर कम्पनी भएका कारण यसको सेयर किन्ने चाहनेहरु छैनन् । बिक्रीमा मात्र उच्च चाप रहेको छ । 

कम्पनीको दोश्रो बजार मूल्य समेत अंकित मूल्य नजिक पुगेपछि केही जलविद्युत आयोजनाको झै १०० भन्दा तल मूल्य झर्ने चिन्ता लगानीकर्ताहरुमा रहेको छ । 

युनिभर्सलसँगै दोश्रो बजारमा कारोबार सुरु भएको शिवम् सिमेन्ट्स लिमीटेडको पछिल्लो प्रदर्शन समेत राम्रो छैन । यो कम्पनीको मूल्य पनि घटेर ३२५ रुपैयाँमा सीमित भइसकेको छ । प्रिमियमसहित ३०० रुपैयाँ प्रतिकित्तामा शिवमको सेयर किनेकाहरु मूल्य घटेर ३०० तल झर्ने चिन्तामा देखिन्छन् । 

शिवमले दोश्रो बजारको ओपनिङ कारोबार अपेक्षित नभएपछि लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा समेत गर्यो, तर यो घोषणाले समेत दोश्रो बजारमा कम्पनीको मूल्यमा सकारात्मक प्रभाव पार्न सकेन ।

यसैबीच, युनिभर्सल र शिवम्ले लगानीकर्तालाई केही दिनदेखि निराश बनाइरहेको बेला एनआइसी एशिया बैंकले भने लगानीकर्ताहरुलाई उत्साहित बनाउन थालेको छ । 

नेपालका बैंकिंग क्षेत्रका सेलिब्रेटी बैंकर अनिलकेशरी शाहले आफू सीइओ रहेको नवील बैंकको अबको प्रतिस्पर्धी एनआइसी एशिया बैंक रहेको बताएको कुराले एनआइसी एशियामा आकर्षण बढेको देखिन्छ । 

लगानीकर्ताहरु एनआइसी एशियाको सेयर मूल्य पनि नवीलकै हाराहारीमा पुग्ने अनुमानसहित धमाधम सेयर उठाइरहेका छन् । एनआइसी एशियाको बढ्दो प्रगतिका कारण सेयर मूल्यमा अझै केही सकारात्मक अवस्था देखिनसक्ने विश्लेषकहरुले बताइरहेका छन् ।

एनआइसी एशियाले चैत १४ गतेपछि भने राम्रो प्रदर्शन गरिरहेको छ । सो दिन दोश्रो बजारमा ३९८ रुपैयाँ प्रतिकित्ता रहेको मूल्य बढेर बुधबारसम्म ४३६ पुगिसकेको छ । यसरी हेर्दा ५ कारोबार दिनको अन्तरालमा एनआइसी एशियाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढिसकेको छ । यसरी एनआइसी एशियाका लगानीकर्ता मात्र ५ दिनमा १० प्रतिशतले सम्पत्ति बढाएका छन् ।