काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बीमा समितिबाट स्वीकृति प्राप्त गरी कारोवार संचालन गरेको एक वर्ष पूरा भएको छ । 

कम्पनीले असोज ४ गते सफलतापूर्वक एक वर्ष पूरा गरेको हो । 

वार्षिकोत्सवको अवसरमा कम्पनीले एक  विज्ञप्ति जारी गरी एक बर्षको अवधिमा कम्पनीले प्राप्त गरेको सफलताले निकै उत्साहित बनाएको बताएको छ । 

आर्थिक वर्ष २०७४ ७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमा शुल्क संकलन गरेको बताइएको छ भने चालु आर्थिक वर्षको साउन र भदौ महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । हालसम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढी रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा गर्न सफल भएको छ । आ.व. २०७४।७५ मा कम्पनीको जीवन बीमा कोष रु.३७.३० करोड रहेको छ । 

नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका र थप शाखा समेत बिस्तार गर्ने कम्पनीको योजना रहेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ बैशाख २४ गते दर्ता भएको यो कम्पनीले बिमा समितिबाट सोही वर्षको असार २० गते इजाजत प्रमाणपत्र प्राप्त गरेको थियो ।

२ अर्ब १५ करोड जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् । 

कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसायोग्य कम्पनी बनाउने लक्ष्य लिएको छ ।