काठमाण्डौ । साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन्। 

कतारले आतंकवादलाई समर्थन र संरक्षण गरेको गम्भीर आरोप लगाउँदै यी चार देशले कुटनीतिक सम्बन्ध अन्त भएको घोषणा गर्दै कतारी नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीलाई समयसीमा दिएर देश छाड्न आदेश दिएका छन् । 

सोमबार बिहान साउदी अरेबियाका राज्य नियन्त्रित सञ्चारमाध्यमले कतारसँग सम्वन्ध अन्त्य गर्नुको कारण आतंकवाद र अतिवादबाट आएको सुरक्षा खतराबाट देशलाई बचाउनु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेका छन् । साउदी अरेबियाले विज्ञप्ति जारी गर्दै दुई देश बीच आवत जावतका निम्ति जमिन, हवाई, र समुद्री बाटो बन्द गरेको घोषणा गरेको छ । 

गत महिना साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले कतारबाट प्रशारण हुने अल जजिरालगायत कयौं संचार माध्यमलाई आफ्नो देशमा प्रतिबन्ध लगाएका थिए।

उता, संयुक्त अरब इमरेट्सले पनि कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कतारसँग कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ । उसले कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र मुलुक छाड्न आदेश दिएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै कतारसँगको हवाई तथा सामुद्रिक पारवहन स्थगित गरिएको प्रष्ट्याएको छ । बहराइनले पनि कतारी नागरिकलाई १४ दिनभित्र मुलुक छाड्न तथा कूटनीतिक कर्मचारीलाई ४८ घण्टाभित्र फिर्ता हुन आदेश दिएको छ ।

कतारलाई इजिप्टको सुन्नी धार्मिक संगठन मुस्लिम ब्रोदरहुड र सिया राष्ट्र इरानलाई समर्थन गरेको आरोप लाग्दै आएको छ । कतारका अमिर अल थानीले इरानलाई ‘इस्लामिक शक्ति’ भन्दै प्रशंसा गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानप्रतिको नीतिको आलोचना गरेका थिए।

इरानमा बहुसंख्यक मानिस सिया सम्प्रदाय मान्छन्। बहुसंख्यक सुन्नी मुस्लिम भएका अन्य अरब देशहरुको इरानसँग शत्रुतापूर्ण सम्वन्ध छ। अमिर अल थानीले इरानलाई ‘इस्लाम शक्ति’ राष्ट्र भएको बताएका थिए। 

साउदी अरब र इरानबीच कयौं क्षेत्रीय मुद्दाहरु छन् जसले दुई देशबीचको सम्वन्ध तनावपूर्ण बनाएको छ। इरानको आणविक कार्यक्रमलाई साउदी अरेवियाले सुरक्षा खतराका रुपमा लिने गरेको छ। त्यस्तै आफ्नो प्रभाव क्षेत्रका रुपमा रहेका सिरिया, लेबनान र छिमेकी मुलुकमा इरानले प्रभाव बढाएको भन्दै साउदी अरेबिया चिढिएको छ । 

साउदी अरेविया, युएई, बहराइन, ओमन र कतार मिलेर ‘गल्फ कोअपरेशन काउन्सिल’ नाम गरेको क्षेत्रीय संगठन बानाएका छन्, जुन मध्यपूर्व राजनीतिमा प्रभावशाली मानिन्छ। चार देशले कुटनीतिक सम्बन्ध तोडेको बिषयमा कतारको कुनै पनि भनाई बाहिर आएको छैन ।