काठमाण्डौ । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा ५१ ज्नाको ज्यान लिने गरी भएको यूएस बंग्लाको बिमान दुर्घटनामा मृत्यु भएका पाइलट अबीद सुल्तानकी पत्नीलाई हर्टअट्याक भएको छ।

आइतबार हर्टअट्याक भएकी उनको अवस्था गम्भीर बन्दै गएको र कृत्रिम श्वासप्रश्वास प्रणालीको भरमा उनको जीवन बाँचिरहेको बंगलादेशका मिडियाहरुले जनाएका छन् । 

पाइलट सुल्तानकी पत्नी अप्सना खानमलाई हृदयघात भएपछि ढाकास्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको ब्रेन सर्जरी गरिएको, तर अवस्था निकै गम्भीर बन्दै गएको बताइएको छ । 

प्रोफेसर अलामलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइएअनुसार भेन्टिलेटरको मद्धतले उनले श्वास फेरिरहेकी छिन् र ब्रेनले आशातित रेसपोन्स गरिरहेको छैन । उनले भनेका छन् कि अप्सनाको मृत्यु भइहालेको त छैन, तर उनी निकै गम्भीर छिन् ।

काठमाण्डौमा भएको विमान दुुर्घटनामा सुल्तान गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । सुल्तानको मृत शरीर उनका १६ वर्षीय छोरा ताञ्जिड सुल्तानले बुुझेका मिडिया रिपोर्टमा उल्लेख छ । बंगलादेशले दुर्घटनामा मृत्यु भएका २३ जनाको शव पहिचान गरी लगिसकेको छ । अझै ३ बंगलादेशीको शवको पहिचान हुन सकेको छैन ।