काठमाण्डौ । यूूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै १७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर आइपीओ गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि यूनाइटेड मोदीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले आफ्ना कर्मचारी र सर्वसाधारणका लागि आइपीओ जारी गर्न अनुमति मागेको हो ।

एनआइबिएल क्यापिटल मार्केट लिमीटेड यूनाइटेडको आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र(पर्वत)का बासिन्दाका लागि २०७३ भदौ २६ देखि असोज ९ सम्म निश्कासन गरिसकेको छ । 

यूनाइटेड मोदी हाइड्रोपावरले १० मेगावाट क्षमता र १०.५ मेगावाट क्षमताको गरी कुल २ आयोजना निर्माण गरिरहेको छ । 

यूनाइटेड मोदीले यसअघि नै तल्लो मोदी १ निर्माण गरी २०६९ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । यो कम्पनीले तल्लो मोदी २ जलविद्युत आयोजना सर्वसाधारण बासिन्दाको सहयोगमा निर्माण गर्न लागेको छ ।