काठमाण्डौ । राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सबैभन्दा पहिला मर्जरमा लग्ने नीति लिएसँगै दवाबमा परेका त्यस्ता संस्थाहरु संभावित मर्जरको आपसी छलफलमा जुटेका छन् । यो क्रममा फाइनान्स कम्पनीमध्येकै बलियो यूनाइटेड फाइनान्स लिमीटेड निजी क्षेत्रबाट संचालित वाणिज्य बैंकमध्येकै बलियो नवील बैंक लिमीटेडसँग मर्जरमा जाने संभावना बढेको छ ।

विगत केही दिनदेखि यी दुवै बैंकका संचालकहरुबीच मर्जरका लागि तीव्र छलफल जारी छ । ‘यूनाइटेड फाइनान्सलाई मर्ज गरी नवीलमै समाहित गर्ने विषयमा उहाँहरु सहमतिनजिक पुग्नुभएको कुरा आएको छ।’ राष्ट्रबैंकका एक अधिकारीले बिजशालासँग भने । तर, राष्ट्रबैंकमा दुवै संस्थाले यो विषयमा आधिकारिक रुपमा जानकारी भने गराइसकेका छैनन् । 

यूनाइटेड फाइनान्स र नवील बैंक देशकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको ठूलो सेयर होल्डिङ रहेका कम्पनी हुन् । प्रूडेन्ट बैंकिङमा विश्वास गर्ने यूनाइटेड फाइनान्स बित्त कम्पनीकै उदाहरणीय संस्था हो भने निजी क्षेत्रका बैंकहरुलाई लिड गर्ने संस्था नवील बैंक हो । दुवै संस्थाको आफ्नो–आफ्नो समूहमा विशिष्ट पहिचान रहेको छ । यी दुवै समूहमा चौधरी ग्रुपको ठूलो सेयर होल्डिङ छ । 

यूनाइटेड फाइनान्समा संस्थापक सेयरधनीको ४०.४० प्रतिशत सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको ३८.८२ प्रतिशत रहेको छ भने मुथुट फाइनान्सको २०.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

यो फाइनान्स कम्पनीको संचालक समितिका अध्यक्ष बसन्त चौधरी रहेका छन् । प्रमोटर सेयरधनीहरुमा चौधरी ग्रुपकै परिवारभित्रका विष्णु अग्रवालको मोरङ अटोवर्क इन्टरप्राइजेज प्रालि, अरुणकुमार चौधरी, राहुल इन्फ्रास्टक्चर नेपाल प्रालि, विनोदकुमार चौधरी, राजेश शर्मा दाहाल, रविभक्त श्रेष्ठ, कला भट्ट, शिवकुमार अग्रवाल, मुरलीधर अग्रवाल, त्रिलोकचन्द अग्रवाल, किरणलाल श्रेष्ठ, तुल्सीराम अग्रवाल, अशोक अग्रवाल, मिठू रेग्मी, आनन्दराज मुल्मी र मेगा चौधरी रहेका छन् । 

नवील बैंकमा समेत चौधरी ग्रुपको निकै ठूलो सेयर होल्डिङ रहेको छ । यो बैंकको संचालक समितिको अध्यक्षको रुपमा शम्भुप्रसाद पौडेल रहेका छन् भने संचालक समितिका उपाध्यक्षमा निर्वाणकुमार चौधरी रहेका छन् । 

नवील बैंकमा चौधरी ग्रुपका सदस्यहरु, चौधरी ग्रुपबाट संचालित कम्पनी लगायतका नाममा निकै ठूलो सेयर होल्डिङ रहेको छ । 

यसरी दुवै संस्था(यूनाइटेड फाइनान्स र नवील बैंक)मा चौधरी ग्रुपको ठूलै क्रसहोल्डिङ रहेका कारण यी दुई संस्था आपसमा एक हुनु नौलो कुरा नहुने नवील बैंकका एक संचालकले जानकारी दिए । ‘आन्तरिक रुपमा भइरहेका सबै कुरा भन्न मिल्दैन ।’ ती संचालकले भने–‘तर, क्रसहोल्डिङ रहेका संस्थाहरु एक हुने कुरा नयाँ चाहिँ होइन । यो समयको माग र बाध्यता पनि हो ।’

वित्त कम्पनीहरुमध्ये बलियो संस्थाको रुपमा रहेको यूनाइटेडलाई प्राप्ति गरी नवीलमा समाहित गर्दा बैंकको सिनर्जी थपिनेमा दुवै बैंकका संस्थापक संचालकहरु विश्वस्त देखिएका स्रोत बताउँछ ।