काठमाण्डौ । यूनाइटेड फाइनान्सका संचालक समिति अध्यक्ष तथा प्रतिष्ठित उद्योगी बसन्तकुमार चौधरीले नवील बैंकसँग मर्जमा जाने समाचारको विषयमा मुख खोलेका छन् । 

बिजशालासँग कुरा गर्दै अध्यक्ष चौधरीले नेपाल राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जमा लैजाने नीति लिएको र त्यसको आफूहरुले पनि पालना गर्ने उल्लेख गर्दै भने–‘नवीलसँग यूनाइटेड फाइनान्स मर्जमा जाने विषयमा आएका समाचारहरुको विषयमा मलाई केही भन्नु छैन । नवीलसँग मर्जमा जाने संभावनालाई नकार्न सकिन्न ।’

उनले नवील बैंकसँग यूनाइटेड फाइनान्सको मर्जरको विषयमा छलफल भइरहेको विषयलाई अस्वीकार गरेनन् । भने–‘मिडियाहरुले देखाएको संभावनालाई म नकार्दिँन । तर, अहिले नै मैले धेरै कुरा बोल्न मिल्दैन । समय आएपछि सबै कुरा भनौंला ।’

यूनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बिजशालासँग कुरा गर्दै नवील वा अन्य कुनै संस्थासँग मर्जमा जाने विषय आफूलाई थाहा नहुने प्रष्ट पारे । ‘संचालकको लेभलमा हुने यस्तो विषय मलाई थाहा हुने कुरा भएन ।’ उनले थपे–‘यो विषयमा संचालकहरुलाई नै सोध्नुहोला ।’ 

उच्च स्रोतका अनुसार नवील बैंकका संचालकहरुले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी छलफल गरिरहेको छ । सहमतितर्फ जाँदै गरेको छलफलको विषयमा सूचना चुहिएपछि यसले चलखेल हुनसक्ने देखेर दुवै संस्थाका संचालकहरु अहिले सचेत भएका छन् । 

संचालकहरुले कुटनीतिक जवाफ दिएका कारण समेत नवील र यूनाइटेड फाइनान्सबीच केही न केही खिचडी पाकिरहेको सहजै बुझ्न सकिन्छ । 

यूनाइटेड फाइनान्स र नवील बैंक देशकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको ठूलो सेयर होल्डिङ रहेका कम्पनी हुन् । प्रूडेन्ट बैंकिङमा विश्वास गर्ने यूनाइटेड फाइनान्स बित्त कम्पनीकै उदाहरणीय संस्था हो भने निजी क्षेत्रका बैंकहरुलाई लिड गर्ने संस्था नवील बैंक हो । दुवै संस्थाको आफ्नो–आफ्नो समूहमा विशिष्ट पहिचान रहेको छ । यी दुवै समूहमा चौधरी ग्रुपको ठूलो सेयर होल्डिङ छ । 

यूनाइटेड फाइनान्समा संस्थापक सेयरधनीको ४०.४० प्रतिशत सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको ३८.८२ प्रतिशत रहेको छ भने मुथुट फाइनान्सको २०.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

यो फाइनान्स कम्पनीको संचालक समितिका अध्यक्ष बसन्त चौधरी रहेका छन् । प्रमोटर सेयरधनीहरुमा चौधरी ग्रुपकै परिवारभित्रका विष्णु अग्रवालको मोरङ अटोवर्क इन्टरप्राइजेज प्रालि, अरुणकुमार चौधरी, राहुल इन्फ्रास्टक्चर नेपाल प्रालि, विनोदकुमार चौधरी, राजेश शर्मा दाहाल, रविभक्त श्रेष्ठ, कला भट्ट, शिवकुमार अग्रवाल, मुरलीधर अग्रवाल, त्रिलोकचन्द अग्रवाल, किरणलाल श्रेष्ठ, तुल्सीराम अग्रवाल, अशोक अग्रवाल, मिठू रेग्मी, आनन्दराज मुल्मी र मेगा चौधरी रहेका छन् । 

नवील बैंकमा समेत चौधरी ग्रुपको निकै ठूलो सेयर होल्डिङ रहेको छ । यो बैंकको संचालक समितिको अध्यक्षको रुपमा शम्भुप्रसाद पौडेल रहेका छन् भने संचालक समितिका उपाध्यक्षमा निर्वाणकुमार चौधरी रहेका छन् । 

नवील बैंकमा चौधरी ग्रुपका सदस्यहरु, चौधरी ग्रुपबाट संचालित कम्पनी लगायतका नाममा निकै ठूलो सेयर होल्डिङ रहेको छ । 

यसरी दुवै संस्था(यूनाइटेड फाइनान्स र नवील बैंक)मा चौधरी ग्रुपको ठूलै क्रसहोल्डिङ रहेका कारण यी दुई संस्था आपसमा एक हुनु नौलो कुरा नहुने नवील बैंकका एक संचालकले जानकारी दिए । ‘आन्तरिक रुपमा भइरहेका सबै कुरा भन्न मिल्दैन ।’ ती संचालकले भने–‘तर, क्रसहोल्डिङ रहेका संस्थाहरु एक हुने कुरा नयाँ चाहिँ होइन । यो समयको माग र बाध्यता पनि हो ।’

वित्त कम्पनीहरुमध्ये बलियो संस्थाको रुपमा रहेको यूनाइटेडलाई प्राप्ति गरी नवीलमा समाहित गर्दा बैंकको सिनर्जी थपिनेमा दुवै बैंकका संस्थापक संचालकहरु विश्वस्त देखिएका स्रोत बताउँछ ।