काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले १७ लाख २५ हजार कित्ता आइपीओ बिहीबार बिहान बाँडफाँड गरेको छ । 

बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेडको लाजिम्पाटस्थित कार्यालय परिसरमा एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो । 

साना लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धकका अनुसार न्यूनतम ५० कित्तादेखि ३३० कित्तासम्म आवेदन दिने लगानीकर्ताहरुको हकमा बाँडफाँडका लागि चिठ्ठाको साहारा लिइएको थियो । 

यस्तै, ३४० कित्तादेखि ५ सय कित्तासम्म आवेदन दिनेहरुलाई समानुुपातिक ढंगले २.८० प्रतिशत आइपीओ बाँडफाँड गरिएको छ । यस्तै, ५ सय कित्ता भन्दा बढी आवेदन दिनेहरुलाई समानुुपातिक ढंगले २.२४ प्रतिशत छुट्याइएको छ । 

यसरी ५ सय कित्तासम्मका लागि आवेदन दिएका लगानीकर्ताले १४ कित्ता सेयर पाएको छ भने १५ हजारका लागि आवेदन दिएकोले ३ सय ३७ कित्ता प्राप्त गरेको छ । एनआइबिएल क्यापिटल लिमीटेडका अनुसार आइपीओमा आवेदन दिएका कुल ९५ हजार ८ सय ७१ कित्तामध्ये ६५ हजार ५ सय ८ लगानीकर्ताले आइपीओ पाएका छन् । बाँकी भने रित्तो हात हुुनुुपरेको छ । 

युनाइटेड मोदीको ४७ कर्मचारीले कुल  ३४ हजार ५ सय कित्ता पाएका छन् भने १० म्युुचुुअल फण्डहरुले ८६ हजार २ सय ५० कित्ता पाएका छन् । 

यूनाइटेड मोदीका आइपीओमा ६ अर्ब ५८ करोडको प्रस्ताव परेको थियो । कुल ९७ हजार १ सय ५५ आवेदन परेकामा १ हजार २ सय ३० वटा आवेदन रद्ध भएका थिए । 

बैशाख ५ दिने रकम फिर्ता
यसैबीच, आइपीओ बाँडफाँड समारोहमा बताइएअनुसार सेयर नपरेका लगानीकर्ताको रकम आगामी बैशाख ५ गतेदेखि फिर्ता गरिनेछ । सो मितिदेखि लगानीकर्ताहरुले उपलब्ध गराएको बैंक खातामै पैसा फिर्ता हुने बताइएको छ ।