काठमाण्डौ । आँखाबाट आँसु झर्नु सामान्य कुरा हो । आँखाबाट रगत बग्नु भनेको चाहिँ केही समस्या हुन सक्छ । तर आँसुका रुपमा ‘क्रिस्टल’ धातु आँखाबाट झर्छ भन्दा सायद अचम्म लाग्न सक्छ।

सोभियत रुसबाट अलग भएर बनेको देश अर्मेनियाको स्पेन्डरियन गाउँमा बसोबास गर्ने २२ वर्षीया काजेरियनसँगै यस्तै भइरहेको छ । उनको आँखाबाट दैनिक ५० टुक्रा क्रिस्टल धातु आँसु झरेजसरी नै निस्कने गरेको छ ।

काजेरियनमा देखिएको यस्तो अनौठो गतिविधिबाट स्वयं चिकित्सकहरु पनि हैरान छन् । उनीहरु अनुसन्धान गर्दैछन् कि आखिर आँखाबाट आँसुका रुपमा क्रिस्टेल कसरी निस्किरहेको छ ?
एक छोरीकी आमा काजेरियनले आँखाबाट दैनिक क्रिस्टेल झर्न थालेपछि उनको जिन्दगी अप्ठेरोमा परेको बताइन् । ‘हामी गरिब छौँ, यो रोग हो कि के हो ? रोग हो भने उपचार गर्ने पैसा पनि छैन’, उनी भन्छिन् ।

काजेरियनका अनुसार केही महिनाअघि उनी दाँतको उपचार गर्न चिकित्सककोमा गएकी थिइन् । त्यही बेला उनलाई आँखामा धुलो पसेकोजस्तो भान भएको थियो । उनले तत्कालै आँखा पुस्दा क्रिस्टल झरिरहेको थियो । ‘म तत्कालै आँखाको चिकित्सक कहाँ पुगेँ’, उनी भन्छिन्, ‘चिकित्सकले औषधि दिए, केही दिन त राहात भयो तर अहिले दिनहुँ आँखाबाट ५० वटासम्म क्रिस्टलका टुक्राहरु झर्न थालेका छन् । यसले मेरो आँखामा निकै बिझाउँछ । मेरो अवस्था देखेर चिकित्सक पनि हैरान छन् ।’

अहिले त चिकित्सकहरुले पनि आफ्नो आँखा जाँच्न आनाकानी गर्ने गरेको काजेरियनको भनाइ छ । ‘उनीहरु रोग ठम्याउन सकेका छैनन्, अपरेसन पनि गर्न मान्दैनन्’, उनी भन्छिन् ।

काजेरियनका आफन्त स्वेटलान अवेजियनले एकपटक आफूहरु फर्ममा काम गरिरहेकैबेला काजेरियनको आँखाबाट आँसुका रुपमा एकाएक क्रिस्टल झर्न थालेपछि अचम्ममा परेको बताए । ‘हामीले काजेरियनलाई तत्कालै चिकित्सककोमा लग्यौँ तर उनीहरु आफैँ हैरान भए’, उनी भन्छन्, ‘यस्तो केस उनीहरुले पनि पहिलोपटक देखेका रहेछन् । उनीहरुले हामीप्रति अविश्वास पनि देखाए ।’

अर्मेनियाका उपस्वास्थ्यमन्त्री ओगेन्स अरुटुयनले काजेरियनमा देखिएको अनौठो रोगको अध्ययन गर्ने काम भइरहेको बताए । ‘हामी यस विषयमा गम्भीर छौँ, कोसिस गरिरहेका छौँ कि आखिर काजेरियनमा देखिएको यो अनौठो रोग हो के ?’

रसियन नेत्रविशेषज्ञ तात्याना शिलोवा काजेरियनमा देखिएको समस्यालाई असाधारण बताउँछन् । उनले यसको प्याथोलोजी जाँच गर्न पनि मुस्किल रहेको  बताए। ‘किनकि आँसुमा प्रोटिन र केही सूक्ष्म तत्व हुन्छन्’, उनले भने, ‘यदि यसमा नूनको मात्र बढ्यो भने यो क्रिस्टलमा परिवर्तन हुन सक्छ । आँसुमा प्रोटिनको अधिकताका कारण पनि यस्तो हुन सक्छ ।’

शिलवा यो निकै भयावह स्थिति रहेको बताउँछन् । ‘तुरुन्तै यसको उचित जाँच गरी समस्या समाधान गर्नतिर लाग्नुपर्छ’, उनी भन्छन् । –एजेन्सी