काठमाण्डौ । संयुक्त राष्ट्र (यूएन) ले कोरोना महामारीका कारण यो वर्ष विश्वभर करिब थप १३ करोड मानिस भोकमरीको चपेटामा पर्न सक्ने अनुमान गरेको छ।

यूएनले यो अनुमान कोरोनाका कारण अहिले खाद्यसुरक्षा र पोषण देखिएको प्रभावबाट गरेको हो। यूएनले गत वर्ष विश्वभर भोकमरीको चपेटामा पर्नेको संख्या करिब १ करोडले थपिएको जनाएको छ। योसँगै गत वर्ष २०१९ मा विश्वभर भोकमरीबाट ६९ करोड मानिस प्रभावित भएका थिए। यो संख्या विश्व जनसंख्याको करिब ९ प्रतिशत हो।

अहिलेको आर्थिक परिदृश्यले यो महामारीका कारण यस वर्ष विश्वभर कुपोषण सिकारको हुनेको संख्या ८.३ करोडबाट बढेर १३.२ करोड पुग्ने यूएनको अनुमान छ। 

यूएनको आँकडाअनुसार अहिले पनि भोकमरीको अवस्था बढ्दै गइरहेको छ। भोकमरीबाट एसिया अतिप्रभावित छ। एसियामा मात्र ३८.१ करोड मानिस कुपोषणको सिकार रहेको अनुमान गरिएको छ। 

यूएन महासचिव एन्टोनियो गुतेरसले कोरोना संकटका कारण विश्वमा ग्लोबल फुड इमरजेन्सीबाट बच्नका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। – एजेन्सी