काठमाण्डौ । आज साउन १ गते। अर्थात् नयाँ वित्तीय वर्षको सुरुआत हुुने दिन।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेयर बजारको इतिहासमै सबैभन्दा धेरै दिन कोरोबार बन्दसमेत हुने पुुगेको वर्षका रुपमा रहन पुग्यो। 

यसै सन्दर्भमा गत आर्थिक वर्ष २०७६/७७ मा सेयर बजारको अनुभवका बारेमा लगानीकर्ताका नेताहरुलाई जिज्ञासा राखेका थियौँ। 

तुलसीराम ढकाल– उपाध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम

खासै उत्साहजनक र निराशाजनक रुपमा पनि नरहेको मध्यम वर्षका रुपमा मैले अनुुभव गरेँ। बजारले बुलिस ट्रेन्ड समाउन खोज्दाखोज्दै बीचैमा कोरोना प्रभावले लगानीकर्तामा निराशा पैदा गर्यो। मैले अब यो वर्ष भने निकै सकारात्मक वर्षका रुपमा रहने आशा राखेको छु। 

अत्याधिक तरलता, घट्दो ब्याजदर र अल्पकालीन लगानीका क्षेत्रमा संकुचन आउँदा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ। जुन वित्त वर्षकै पहिलो दिन देखिँदैसमेत छ। बैंकलाई ब्रोकर लाइसेन्स र सकारात्मक मौद्रिक नीति नै यो वर्ष हामी लगानीकर्ताले गरेको अपेक्षा हो।

ताराप्रसाद फूल्लेल – उपाध्यक्ष, सेयर लगानीकर्ता संघ

आर्थिक वर्ष २०७६/७७ मा सेयर बजारमा निकै उत्तारचढाव देखियो। बजारमा नवप्रवेशीहरुका लागि यो क्षेत्र यस्तै अस्थिर रहेछ कि भन्ने आशंकासमेत पैदा गर्यो। यद्यपि बजारमा कोरोनाको प्रभावबाहेक समग्रमा सन्तोषजनक नै रह्यो। 

धेरै नीतिगत र संरचनात्मक सुधारहरु भए र केहीले पूर्णता पाउने क्रममा छन्। आशातीत सुधार हुन नसके पनि गत आर्थिक वर्ष धेरै निराशाजनक पनि रहेन। 

नेपालको पूँजीबजारले बियरिस ट्रेन्ड पूरा गरी बुलिस ट्रेन्ड समातेको छ। 
अब यो नयाँ आर्थिक वर्ष २०७७/७८ मा संस्थागत लगानीकर्ताहरु भित्रिने क्रममा छन्। अनलाइन प्रणाली पूर्णस्वचालित हुने क्रममा छ। यस्तै दिनानुदिन अनलाइनद्वारा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ््दैछ। जतिधेरै अनलाइन प्रयोगकर्ताको संख्या बढ्छ त्यति नै बजार पारदर्शी, प्रभावकारी र प्रतिस्पर्धात्मक हुन्छ। 

धितोपत्र बोर्डमा सक्षम नेतृत्व आएको आभाष भएको छ। यद्यपि उहाँका आगामी कार्यदिशा हेर्नुपर्ने हुन्छ। अहिलेसम्मका कार्यक्रम र बजारलाई स्थायीत्व दिन खेलेको भूमिका प्रशंसनीय छ। 

करका कतिपय द्विविधाहरु हटेका छन् र केही सम्बोधन हुन बाँकी छन्। लगानीकर्ता र नियामकको चाहना अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको करको दायरा फरक हुनुपर्छ भन्ने छ। त्यो पनि यो आर्थिक वर्षमा पक्कै सम्बोधन हुने विश्वास लिएको छु। 

चालु आर्थिक वर्षको बजेटमा सम्बोधन भएबमोजिम नेपाल स्टक एक्सचेन्जको संरचनात्मक सुधार गर्नुपर्ने र समयसापेक्ष बनाउने भनिएको छ।  यो कार्य पनि आगामी आर्थिक वर्षमा पूर्णता पाउनेछ, बाँकी रहेका सुधारका कार्यहरू सम्बोधन भई नेपालको पूँजीबजारले ऐतिहासिक छलाङ मार्नेछ र इन्डेक्सले नयाँ उचाइ चुम्नेछ भन्नेमा हामी आशावादी छौँ।

राधा पोखरेल– अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ

कारोबार रकममा रेकर्डब्रेक गरेको वर्ष र बजार सुधारका काम अघि बढेको वर्षका रुपमा मैले सम्झेकी छु। विगत ४ वर्षदेखिको बियरिस ट्रेन्डमा रहेको बजार बुुलिस टे«न्डतर्फ लम्किरहेको महसुुस गर्दैछु। आगामी दिनमा नियामक निकायहरु सेयर बजारप्रति संवेदनशील हुनुहुनेछ भन्ने अपेक्षा राखेकी छु।

नयन बास्तोला– महासचिव, सेयर लगानीकर्ता दबाब समूूह

गत आर्थिक वर्षको पूूँजीबजार मेरा लागि औषत नै रह्यो। केही पीडाको अनुभव गर्न पाइयो भने केही समय उत्सुुकताका साथ बित्यो। सायद यो संसारमा कोभिड १९ को प्रवेश नभएको भय सायद सबै लगानीकर्ताले सहज महसुस गर्ने नै थियौँ। 

विगत ३–४ सालदेखि नै सेयर बजारमा कोभिडले जस्तै असर पारेकै बेला कोरोनाले केही समय समस्या त बनायो तर आमलगानीकर्ताको मनोबल दरो भएकाले धेरै अप्ठ्यारो अवस्था सिर्जना हुन नपाई सुखद् रुपमा आज सेयर बजार बन्द भयो। अर्को आर्थिक वर्ष पूँजीबजारमा लगानी गर्ने सम्पूर्ण लगानीकर्ताका लागि सुनौलो बन्ने नै छ। यसका साथै सिन्डिकेटमा सीमित नेपालको पूँजीबजारको दायरा फराकिलो भई प्रविधिमैत्री, पूर्वाधारयुु क्त समयानुकूल बन्दै पूूँजीबजारमा सूूचीकृत कम्पनीहरुको विविधीकरण हँुदै सेयर बजार एउटा व्यवसाय कै रुपमा विकास हुनेछ भन्ने मेरो अपेक्षा छ।

संरक्षणा चौधरी– अध्यक्ष, नेपाल पूूँजीबजार संघ

हरेक आर्थिक वर्ष केही कुराहरुलाई छोडेर सदाझैँ हुने गर्छ तर पनि पूँजीबजारमा विशेष अनुभव रह्यो र थुप्रै उतारचढाव पनि भए। संघहरुलाई गाली र ताली दुवैले स्वागत पनि गरे। त्यसबाहेक बोर्ड र नेप्सेलाई नजिकबाट नियाल्न पाइयो। विभिन्न संघहरुसँग रही पूँजीबजार विशेष कार्यहरु गर्न पाइयो । 

पूँजीबजारमा सुधारका कार्यहरु थप रहेका छन्। केही पूरा भएका पनि छन् र केही बाँकी पनि छन्। वेटेज एभरेजदेखि अनलाइन ट्रेडिङसम्म र बैंकलाई ब्रोकर लाइसेन्सदेखि नेप्सेमा लगानीकर्ताका गुनासाहरु देख्न र पोख्न पाइयो। 

आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुको हकहितका लागि एवं समग्र पूँजीबजार क्षेत्रलाई समेटिने गरी राहात जस्तै (तत्काल गर्न सकिने) ब्रोकर कमिसन घटाउने कुराहरुमा जोड दिएर नयाँ आर्थिक वर्षको सुरुआत गर्न सकिन्छ। त्योबाहेक ठूला कम्पनीहरुलाई पनि सेयर बजारमा प्रवेश गराएर र एनआरएनएलाई पनि सेयर बजारमा भित्र्याउन उचित कुराहरु हेरेर वातावरण तयार गर्न सकिन्छ। 

त्यसबाहेक नयाँ लगानीकर्ताहरुलाई पनि बजारमा सहुलियतका साथ विभिन्न बजारसम्बन्धी सचेतना कार्यक्रम गरी भित्र्याउन सकिन्छ।