काठमाण्डौ । कुनै पनि देशका जनताले राज्यबाट उपभोग गरेको सेवासुविधाबापत आफ्नो आम्दानीबाट निश्चित रकम करका रुपमा बुझाउनुपर्ने हुन्छ । यो जनताको दायित्व पनि हो ।

हरेक राज्यले ठूलो मात्रामा करबापत रकम जनताबाट उठाइरहेको हुन्छ र उक्त रकम पुनः जनताकै सहजताका लागि आवश्यक पर्ने सेवासुविधामा राज्यले खर्च गर्ने गरेको हुन्छ ।

कतिपय देशमा सरकारको कार्यशैलीबाट निराश बनेका जनताहरु राज्यलाई कर तिर्न अनाकानी गरिरहेका छन्् भने कतिपय छोटो समयमै उचाइ हासिल गर्न आफूखुसी कर छल्ने अनेकन उपायहरु सुझाइरहेका हुन्छन् । 

प्रायः कर छलीका घटना अल्पविकसित देशहरु व्यापक रहेको सुन्न र पढ्न पाइन्छ । तर कर छल्ने मामिलामा केवल अविकसित देशका जनतामात्रै होइन विकसित देशका जनता र कम्पनीहरु पनि अगाडि रहेका छन् । 

यस्तैमा एउटा कर छलीको डरलाग्दो घटना प्रकाशमा आएको छ । जुन युरोपकै सबैभन्दा ठूलो कर छलीको घटना हुन पनि सक्छ । 

बेलायतका दुई इन्भेस्टर बैंकर ब्रिटन मार्टिन सिल्डस् र किवी पउलले युरोपका अलगअलग देशबाट करिब ६० अर्ब डलर कर छली गरेको घटना सार्वजनिक भएको हो । यो कर छली प्रकरणमा अप्रत्यक्ष रुपमा सयौं बैंकर, वकिल र हजारौँ लगानीकर्ता मुछिए । जब कि उनीहरुलाई भित्रभित्रै कर छलीको जालझेल भइरहेको भानसमेत भएन । 

न्युयोर्क टाइम्सको रिपार्टअनुसार कर छलीको यो घटना सन् २००६ देखि २०११ को बीचमा भएको थियो । ब्रिटन मार्टिन र पउल मोरा दुवै बैंक अफ अमेरिका मेरिल लिन्चका लागि काम गर्ने गर्दथे । 

दुवैको भेट लन्डनमा भएको थियो । दुवैले मिलेर एउटा स्किमको सुरुआत गरेका थिए । जसको नाम कम एक्स ट्रेडिङ राखिएको थियो । जसको अर्थ विद् इन र विद् आउट हुन्छ । यी दुवैले लगानीकर्तालाई डबल ट्याक्सेसनबाट बचाउने काम गर्दथे । जसको मतलब यिनीहरुको काम लगानीबाट हुने कमाइमा कमभन्दा कम ट्याक्स लागोस् र बढी बचत होस् भन्ने हुन्थ्यो । 

यी दुवै यति धेरै जानकार र चतुर थिए कि डिभिडेन्ट ट्याक्स पेमेन्टमा डबल रिफन्ड लिने गर्दथे । यसका लागि उनीहरु सही टाइमिङ र खुकुलो कानुनको लुपहोलको फाइला उठाउने गर्दथे । 

रिपोर्टका अनुसार कर छलीबाट सबैभन्दा बढी नोक्सान जर्मनीलाई परेको छ। जर्मनीलाई करिब ३० अर्ब डलरको नोक्सान भएको छ । जर्मनीपछि फ्रान्सलाई १७ अर्ब डलरको नोक्सान पुगेको छ । यसका साथै स्पेन, इटाली, बेल्जियम, अस्ट्रिया, नर्वे, फिनल्यान्ड, पोल्यान्डजस्ता देशलाई पनि यो कर छलीले घाटा पुर्याएको छ । –एजेन्सी