-रविन्द्र भट्टराई, सेयरबजार विज्ञ
वियरिस ट्रेन्ड बनाएर बुलिस यात्रा सुरु गरेको सेयर बजारलाई थप सकारात्मक प्रभाव पर्ने गरी अर्थमन्त्रीले बजेट ल्याएका छन् । 

संसारमा करदाता खुशी हुने दिन भनेको नै सरकारले आम्दानीमा लाग्ने करको दर घटाउँदा हो । अर्थमन्त्रीले व्यक्तिले आर्जन गर्ने पुँजिगत लाभकर घटाएका छन् । यो निकै सकारात्मक कुरा हो । यसले बजारको यात्रालाई थप सहज बनाउनेछ । 

यस्तै, सेयर कारोबारमा औसत लागतका आधारमा पुँजिगत लाभ गणना गरिने व्यवस्थासँगै वर्षौदेखि नेपाल स्टक एक्सचेञ्जले गर्दै आएको अवैज्ञानिक पद्धति र हेलचेक्र्याइँको अन्त भई पुँजिगत लाभकरको गणना वैज्ञानिक बन्नेछ । जसका कारण लगानीकर्ताले पारदर्शी रुपमा कर तिर्ने छन् भने सरकारले पनि कर प्राप्त गर्नेछ । यसका लागि नेप्से र सिडिएस कम्पनीले यसको प्रणालीलाई थप आधुनिक बनाउनुपर्नेछ । 

हरेक लगानीकर्ताले दोस्रो बजारबाट खरिद गरेको सेयरको लागत, थप निश्कासनको लागत, हकप्रद सेयरको लागत र बोनस सेयरको लागत पनि प्रणालीमा स्वतः अद्यावधिक हुने बनाइनु पर्छ । जसका लागि डिम्याट खाता थप प्रभावकारी बनाइनुपर्छ । यो काम सिडिएसले साउन १ अघि सम्पन्न गरिसक्नुपर्ने देखिन्छ । 

सरकारले गर्ने भनेको कर दरमा परिवर्तन र महत्वपूर्ण नीतिगत कुराहरु हुन्, बाँकी बजार विकासका लागि गरिने सबै काम धितोपत्र बोर्ड, नेप्से र सिडिएसले गर्नुपर्ने हुन्छ । 

ब्रोकर तथा लगानीकर्ताका धेरै माग बोर्ड र नेप्सेले आफै पूरा गर्ने खालका छन् । त्यसका लागि बजेटमा अनावाश्यक पाना खर्चिरहनु आवश्यक छैन । अर्थमन्त्रालयले नेप्से, बोर्ड र सिडिएसको कामको मूल्याङ्कन गरेर तिनीहरुबीच समन्वय गर्ने, कार्यसम्पादनका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ । 

लगानीकर्ताले लगानी गर्दा हेर्ने अर्को महत्वपूर्ण कुरा कम्पनीको नाफामा प्रभाव पार्ने कुनै नीतिगत व्यवस्था भयो या भएन भन्ने पनि हो । जस्तो बिमा, मर्जर, स्वदेशी उद्योगलार्इ दिएको सहुलियतहरु आदि ।