काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले निश्कासन गरेको १ अर्ब ३३ करोड बढी मूल्यको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयरमा अचाक्ली आवेदन परेको छ । 

यो कम्पनीले पहिलो चरणमा निश्कासन गरेको आइपीओ खरीदका लागि २ लाख आवेदकले ६ अर्ब ७५ करोडको हाराहारीमा प्रस्ताव पेश गरेका हुन् । 

यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताहरुका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता निश्कासन गरेको हो । 

कुल १ करोड ६४ लाख २१ हजार ४० कित्तामध्ये दोश्रो चरणमा कम्पनीको संस्थापक सेयरधनीको रुपमा रहेका संस्थापक कर्मचारी र लगानी गर्ने कर्मचारी सञ्चयकोषका कर्मचारी लागि सेयर निश्कासन गर्ने छ। यो मध्ये संस्थापक सेयरधनीको रुपमा रहेका विद्युत प्राधिकरण, चिलिमे जलविद्युत आयोजना, स्थानीय निकाय लगायतका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता सुरक्षित गरिएको छ । 

यो कम्पनीले पहिलो चरणमा फागुन ११ गतेदेखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निश्कासन गरेको थियो । अब दोश्रो चरणमा चैत ५ देखि १३ गतेसम्म कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि निश्कासन हुनेछ ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्ता ता कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने संगठित संस्थाका कर्मचारीका लागि समेत न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्ता र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्तासम्म आवेदन दिनसक्ने सीमा तोकिएको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी बढेर ५ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेकोछ । सह निश्कासन तथा बिक्री प्रबन्धहरुमा एनआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमीटेड रहेका छन् ।