काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । 

यो भनेको कम्पनीको अवस्था औसतभन्दा तल छ भन्ने हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ
भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

रसुवागढी हाइड्रोले मंसिर २८ गते १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनी चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी हो ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्ने योजना अनुसार सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।