काठमाण्डौ । गत वर्ष आइपीओ निश्कासन गरेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेड घाटामा गएको छ । 

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म यो कम्पनी ६ करोड ९२ लाख खूद घाटामा गएको हो । 

अघिल्लो वर्षको यही अवधिमा कम्पनी १ करोड ४ लाख नाफामा थियो। 

यो अवधिमा कम्पनी ३ करोड ८३ लाख रुपैयाँले संचालन घाटामा छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो घाटा ३ करोड ७० लाख थियो।
योसँगै कम्पनीको रिटेन अर्निङ १९ करोड ७९ लाख नेगेटिभ बनेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी १.१२ रुपैयाँ नेगेटिभ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६.७८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०५.२४ रुपैयाँ र तरलता अनुपात १.८२ प्रतिशत रहेको छ । 

२०७७ असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि त्यो पूरा हुन नसक्दा कम्पनीको आम्दानीको स्रोत नभएका कारण घाटामा गएको देखिएको हो । २०७७ असारदेखि नै व्यवसायिक उत्पादन सुरु हुने आशामा यो कम्पनीको आइपीओ खरीद गरेका र दोश्रो बजारका सेयर उठाएकाहरु केही समय जिल्ल पर्नुपर्ने अवस्था देखिएको छ । 

गत वर्ष आएको बाढीका कारण हेडबर्सको निर्माण कार्य स्थगित भएको, आयोजना क्षेत्रभित्र निरन्तर पहिरो आएका कारण वर्षायामका सुरुङ निर्माणको कार्य अगाडि बढ्न नसकेको, आयोजनाको टेलरेस टनेलको करिब ७० मिटर लम्बाईमा अत्यन्त कमजोर भौगर्भिक अवस्थाका कारण करिब ३५ मिटर क्षेत्र खुम्चिन गई निर्माण कार्य अगाडि बढाउन कठीनाई भएको र हाल सो कार्य सुुस्त गतिमा मात्रै अगाडि बढिरहेको छ । 

यस्तै, कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनले समेत यसको निर्माण कार्य प्रभावित भएको कम्पनीले दाबी गरिएको छ । 

यो वर्षको पनि बर्षायामको सुरुवातमै असार ५ र ६ गते आयोजनास्थलमा आएको बाढीले हेडबक्सको कफर ड्याम बगाएको कारण सो स्थानमा पनि कार्य अगाडि बढाउन अवरोध भएको बताइएको छ । 

यो आयोजनाको पूर्व निर्धारित कार्यतालिकाअनुरुप निमाृण सम्पन्न हुन नसकेको र पछिल्लो संसोधित कार्यतालिका बमोजिम २०७८ असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीको प्रष्टोक्ति छ । कम्पनीले व्यापारिक विद्युत उत्पादन पछि यो आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत शक्ति उत्पादन भई वार्षिक ३ अर्ब २५ करोड आम्दानी हुने दाबी गरेको छ । 

यही आम्दानीको लोभ र २०७७ असारमै आयोजना बन्ने आशासहित आइपीओ खरीद गरिएकाहरुले अब यो कम्पनीबाट लाभांश पाउन अझै केही वर्ष कुनुपर्ने अवस्था सिर्जना भएको छ । 

रसुवागढी जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज बाहेकको सुरुवाती लागत अनुमान १३ अर्ब ६८ करोड ४२ लाख हुने गरी निर्माण कार्य सुरु गरिएकोमा विदेशी मुद्रा विनिमय दरमा परिवर्तन, बन्दहड्ताल तथा प्राकृतिक विपत्तिका कारण आयोजना निर्माणको गति तथा लागतमा प्रभाव परेको कम्पनीको दाबी छ । 

यो आयोजना १११ मेगावाट क्षमताको हो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. १४९ रहेको छ ।