काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेड र साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले चैत ५ गते(सोमबार)देखि एकसाथ दोश्रो चरणको आइपीओ निश्कासन गरेका छन् । 

रसुवागढीले संस्थापक संगठित संस्था( नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन्धित स्थानी तह) र ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीहरुका लागि आइपीओ निश्कासन गरेको हो । 

यो कम्पनीले २३ लाख ९४ हजार ७ सय ३५ कित्ता सेयर संस्थापक संगठित संस्थाका कर्मचारीका लागि र ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि निश्कासन गरेको छ । 

माथि उल्लेखित संस्थाका २०६८ मंसिर २२ माा बहाल रहेका तथा सो मितिदेखि विववरणपत्र स्वीकृत भएको मिति २०७४ पुस २० सम्ममा थप भएका कर्मचारीले दरखास्त दिन पाउने बताइएको छ । 

इच्छुकले आगामी चैत १३ गतेसम्म सीआस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् । सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाबाट आवेदन दिन सकिने बताइएको छ । 

कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यस्तै, कर्मचारी सञ्चयकोषका कर्मचारीहरुका लागि भने न्यूनतम ५० देखि अधिकतम २५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएकोछ । 

रसुवागढीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमीटेड रहेका छन् । 

यसैगरी, साञ्जेन जलविद्युत कम्पनीले संस्थापक सेयरधनी संस्था नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन्धित स्थानीय निकायका कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ३ लाख ६५ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । 

यो कम्पनीको आइपीओमा २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका तथा सो मितिदेखि विवरणपत्र स्वीकृत भएको मिति २०७४ मंसिर २६गतेसम्म थप भएका कर्मचारीले मात्र दरखास्त दिन पाउने सूचनामा उल्लेख छ । 

यो कम्पनीको आइपीओमा समेत चैत १३ गतेभित्र सीआस्वाबाट आवेदन दिन सकिनेछ । 

यो कम्पनीले संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ३ सय कित्तासम्म र ऋणदाता संस्थाका कर्मचारीका लागि न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म खरीदका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल लिमीटेड, सनराइज क्यापिटल लिमीटेड र प्रभू क्यापिटल लिमीटेडले गर्नेछन् ।