काठमाण्डौ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली तेस्रो दिन जनकपुरधाम पुगेका छन् ।

काठमाडौंको पशुपतिनाथबाट हिँडेका २ सय ११ जना साइकलयात्रीलाई जनकपुरमा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले स्वागत गरेका थिए । साइकल यात्रीलाई काठमाडौंमा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्यि झण्डा र राइडथ्रु सिन्धुलीगढीको झण्डा विश्व साइकलयात्री पुस्कर शाहले दिएर विदाइ गरेका थिए । ती झण्डा जनकपुरमा शाहले पूर्वउपप्रधानमन्त्री निधीलाई हस्तान्तरण गरेका छन् ।

जनकपुरमा आयोजित स्वागत कार्यक्रममा निधीले यस प्रकारको सद्भाव यात्राले मुलुकलाई सांस्कृतिक रुपमा जोड्ने बताए । तपाईंहरुले सरकारले गर्नुपर्ने काम गर्नु भएको छ, उनले भने, यसले पर्यटन प्रबर्धनमा उल्लेख्य रुपमा सघाउने छ ।

कार्यक्रममा साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई सांस्कृतिक सहर काठमाडौं र जनकपुरधाम, पहाड र तराई, ३ नम्बर प्रदेश र २ नम्बर प्रदेश जोड्न साइकल यात्रा आयोजना गरिएको बताए । अंग्रेजलाई पहिलो पटक परास्त गरेको स्थल ऐतिहासिक सिन्धुलीगढीहुँदै यो साइकलयात्रा सम्बन्ध मजबुत बनाउने सेतु पनि हो, उनले भने,  हरेक नेपालीलाई हाम्रो पुर्खाले बीरता देखाएको स्थल एक पटक पुग्न पर्ने सन्देश हामी साइकल यात्रा मार्फत दिन चाहन्छौं ।

जकपुरधाममा आयोजित स्वागत कार्यक्रममा मैथिल संस्कृति र कला समेटिएको झिँझिया नाइट्स् आयोजना गरिएको थियो । साइकल यात्राको सह आयोजक सानो पाइलाले संयोजन गरेको कार्यक्रममा मैथिल कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर साइकलयात्रीलाई मनोरंजन प्रदान गरेका थिए 

काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा पूरा गरेर आइतबार जनकपुरधाम आइपुगेका हुन् ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना अनुसार ४ बर्षदेखि हरेक बर्ष राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा आयोजना गरिँदै आएको छ ।