काठमाण्डौ । सानो–सानो लगानीबाटै ठूलो फण्ड तयार हुन्छ । तर, सेयर बजारमा सही रणनीति र सही ढंगबाट पैसा खन्याए मात्र रिटर्न पाउन सकिन्छ । भारतीय सेयर बजारका बादशाह भनेर चिनिने राकेश झुनझुनवालाले गत दुई दशकको अवधिमा पैसाबाटै पैसा बनाए, कुस्त कमाए ।  ‘भारतका वारेन बफे(ट)’को उपमा समेत पाएका झुनझुनवालाले सेयर बजारबाटै करोडौं कमाएका छन् । उनी बेला–बेला आफ्ना फलोअर्सहरुलाई लगानीको टिप्स समेत दिने गर्छन् । उनका टिप्स अपनाएर तपाईले पनि सेयर बजारबाट कमाउन सक्नुहुन्छ । भारतीय मिडियाहरुको सहयोगमा हामी पनि तपाईलाई उनका केही पछिल्ला टिप्सहरुको विषयमा जानकारी दिन गइरहेका छौ, जसलाई अनपाएर सेयरमा लगानी गरी करोडपति बन्न सकिन्छ । 

लगानीपछि धैर्य गर्नुहोस्, पर्खिनुहोस्
राकेश झुनझुनवालाले सधैं लामो अवधिको लगानीमा ध्यान दिने गर्छन् । उनले प्राय बजारका नयाँ लगानीकर्ताहरुलाई लामो अवधिका लागि लगानी गर्न सुझाउने गर्छन् । उनको भनाईमा छोटो समयमा थोरै रिटर्न पाइन्छ, तर आज गरिएको सानो लगानीबाट ठूलो रिटर्न पाउन पर्याप्त समय दिनुपर्छ । उनका अनुसार आफूले बजारमा लगाएको पैसालाई परिपक्व हुन समय दिनुपर्छ । यो रणनीतिअनुसार केही समय अवश्य पर्खिनुपर्छ, तर केही समय पर्खिदा रिटर्नको ग्यारेण्टी हुन्छ । 

मूल्य होइन, कम्पनीको भ्यालू हेर्नुहोस्
राकेश झुनझुनवालाका अनुसार कुनै पनि कम्पनीको सेयर मूल्यले तपाईले त्यसमा लगानी गर्नुपर्छ या लगानी गर्नुहुँदैन भन्ने कुरा तय गर्दैन । मूल्य हेरेर लगानीको निर्णय पनि लिनु हुँदैन । बरु कम्पनीको भ्यालूले बढी महत्व राख्छ । कतिपय मानिस धेरै मूल्य भएको सेयर खरीद गर्न रुचाउँछन्, तर यो गलत रणनीति हो । कुनै पनि कम्पनीले बितेको १ वा ५ वर्षमा कस्तो वित्तीय प्रदर्शन गरेको छ भन्ने कुरा जाँच गर्न आवश्यक छ । किनभने कम्पनीको आउटलुक राम्रो छ भने सेयर बजारमा गिरावट आए पनि तपाईले त्यस्तो कम्पनीबाट राम्रो रिटर्न पाउन सक्नुहुन्छ । 

अरुलाई हेरेर पैसा नलगाउनुहोस्
सेयर बजारको लगानी बैंकमा गरिएको लगानीजस्तो सधैं सुरक्षित हुँदैन । सेयर बजारबाट धेरै ठूलो रिटर्न पाउन सकिन्छ भने यहाँ जोखिम पनि उति नै ठूलो हुन्छ । त्यसकारण तपाईले लगानी गर्नुअघि सम्बन्धित कम्पनीको विषयमा पूरा जानकारी संकलन गर्नुहोस् । कुनै पनि सेयरमा अरुले पैसा लगाए भन्दैमा पैसा नलगाउनुहोस्, यस्तो भयो भने फस्न सकिन्छ । कतिपय अवस्थामा तपाईले फलो गर्ने मान्छेले नोक्सानी उठाउनसक्छ, तर तपाईले यो काम गर्न सक्नुहुन्न । त्यसकारण अरुलाई फलो गर्ने बानी छाडिदिनुहोस् । 

क्यासको सरप्लस पनि हेर्नुहोस्
सेयर बजारमा कुनै पनि कम्पनीले राम्रो प्रदर्शन गरिरहेको छ भने यो निश्चित हुँदैन कि त्यस्ताले राम्रो रिटर्न नै दिनेछन् । त्यसकारण लगानीअघि कम्पनीको ब्याकग्राउण्ड जाँच गर्न आवश्यक हुन्छ । यसका लागि सो कम्पनीले कति लाभांश वितरण गरेको छ भन्ने विगत चेक गर्नुहोस् । किनभने लाभांशले सेयर बजारमा निकै ठूलो महत्व राख्छ । यदि कुनै पनि कम्पनीले लामो समयदेखि लाभांश वितरण गरिरहेको छ भने यसको अर्थ हुन्छ त्यो कम्पनीसँग क्यासको कुनै कमी छैन । क्यास सरप्लस भएको कम्पनीले सधैं राम्रै प्रदर्शन गरिरहेका हुन्छन् ।

एकैपटक सबै पैसा लगानी नगर्नुहोस्
तपाईसँग सेयर बजारमा लगानीका लागि धेरै नै पैसा हुनसक्छ । तर, आफूसँग भएको सबै पैसा एकैपटक लगानी गरिहाल्न आवश्यक हुँदैन । एकैपटक धेरै ठूलो पैसा खन्याएर ठूलै मुनाफा बुक गर्ने तपाईको इच्छा राम्रो होला, तर सेयर बजारमा लगानीको नियमले यस्तो भन्दैन । यहाँ त थोरै थोरै पैसा बिस्तारै बिस्तारै लगानी गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा कम्पनीको सेयरमा पैसा लगाइरहेको समयमा तपाईले गर्ने कुल लगानी रकमलाई विभिन्न हिस्सामा बाँड्नुहोस् र समय–समयमा खरीदारी गर्नुहोस् । यदि सेयर मूल्यमा गिरावट आइरहेको छ भने पनि खरिदारी जारी राख्नुहोस् । यसले तपाईको खरीदको औसत घट्न जान्छ ।

कम्पनीको ऋण(दायीत्व) पनि हेर्नुहोस्
सेयर बजारमा लगानी गर्नलाई कुनै पनि कम्पनीको ऋण(दायीत्व) कति छ भन्ने कुरा पनि हेनुपर्छ । यदि कुनै पनि कम्पनीको दायीत्व कम छ भने त्यस्ता कम्पनीलाई क्यास(नगद)को कम दवाब हुन्छ । यदि दायीत्व धेरै छ भने कम्पनीको मूल्यमा जुनसुकै समयमा ठूलो उतारचढाव आउनसक्छ । यसकारण लगानी गर्नुअघि कम्पनीको दायीत्वको समेत राम्रोसँग समीक्षा गर्नुहोस् ।