काठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।  

सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भने ।  

सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरकारसँग सदनमा आएर सो विषयमा जवाफ दिनुपर्ने माग गरे । उनले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको बताए।   सांसद डा महतले गैर जिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुई मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराए।  

उनले एनसेलको विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गरे। राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सांसद डा महतले सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राखे।  

‘मधेसवादी दलद्वारा बैठक बहिष्कार’

व्यवस्थापिका–संसद्को आजको बैठक मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बहिष्कार गरे।   सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरे । उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराए।   सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् । रासस