काठमाण्डौ । सरकारले लकडाउन अन्त्य गरेसँगै पठाओ र टुटलले आज बिहीबारदेखि सेवा पुनः सुचारु गरेका छन्।

सरकारले गत चैत ११ बाट देशव्यापी लागू गरेको लकडाउन हिजो बुधबारदेखि हटाएको छ। लकडाउन हटेसँगै सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। योसँगै पठाओ र टुटलले पनि पूर्ण रुपमा आफ्नो सेवा सुचारु गरेका हुन्। 

मोटरसाइकलमार्फत भाडामा यात्रु बोक्ने यी दुवै कम्पनी सर्वसाधारणमा निकै लोकप्रिय छन्। पठाओले दुई साता अघिदेखि नै अत्यावश्यक अवस्थाका लागि भनेर १०० जना चालकमार्फत सीमित रूपमा सेवा सञ्चालनमा ल्याइसकेको छ।

आजबाट भने थप ५० जना चालक थप्न लगेको र हरेक दिन ५० जना चालक थप्दै जाने तयारी भइरहेको पठाओले जनाएका छ। 

टटुलले हालसम्म आफ्नो सञ्जालमा रहेका १५ सयभन्दा बढी चालक सम्पर्कमा आइसकेकाले सेवा पूर्ण रुपमा सञ्चालन गर्न लागिएको जनाएको छ। दुवै कम्पनीले विश्व महामारी कोरोनाबाट बच्नका लागि मास्क, पञ्जालगायत चालकलाई अत्यावश्यक सुरक्षा सामग्री वितरण गरी सेवा सुरु गरिएको जनाएको छ।