काठमाण्डौ । तीनवटा निर्वाचन क्षेत्रको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भइसक्दा समेत लगानीकर्ता भने अझै विश्वस्त हुन नसकेका देखिएको छ । राजनीतिक दलहरु निर्वाचनको महासंग्राममा लागिसक्दा समेत लगानीकर्ताहरु भने अन्यौलकै भूमरिमा रुमल्लिदा बुधबार नेप्से परिसूचक ४.०५ अंकले मात्र वृद्धि भएको छ । परिसूचक १६६२.३८ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम मंगलबार भन्दा केही घटेको छ ।

बुधबार विकास बैंक र उत्पादनमूलक समूहमा क्रमशः ४.९४ र २.०४ अंकको गिरावट देखिएको छ भने बाँकी सबै समूहको सूचक बढेका छन् । तर वृद्धि निकै न्यून छ । सबैभन्दा धेरै होटल समूहका सूचक ४३.०७ अंकले बढेको छ । यस्तै, बैकिङ  समूह, बिमा र बित्त समूह क्रमशः ४.४४, १६.५४ र २.१५ अंकले बढेका छन् । जलविद्युत समूह ६.५२ अंकले बढेको छ भने अन्य समूहमा ४.९२ अंकको वृद्धि देखिएको छ ।

यो दिन सेन्सेटिभ इण्डेक्स १.०९ र फ्लोट इण्डेक्स ०.२५ अंकले बढे ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४२ कम्पनीका १३ लाख ७ सय ६७ कित्ता सेयर ८९ करोड बढी रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरले ४ करोड ३९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ३१ लाख, लक्ष्मी बैंकले ३ करोड ७८ लाख, नेपाल एसबीआई बैंकले ३ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ४३ लाख, एभरेष्ट बैंकले २ करोड ९८ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत र एक स्थान विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार पाँच कम्पनीले पैसा छापे । सप्तकोशी डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, साहारा विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारी, न्याग्दी ग्रुप  पावर लिमीटेडको सेयर मूल्य ९.२१ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, एनएमबी माइक्रो फाइनान्स र ललितपुर फाइनान्स सबैभन्दा धेरै गुमाउने कम्पनी बने । जनउत्थानको सेयर मूल्य ५.२५ प्रतिशत, एनएमबीको ५.०९ प्रतिशत र ललितपुर फाइनान्सको ५ प्रतिशतको हाराहारीमा सेयर मूल्य घट्यो।