काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच तत्काल चुनावी तालमेल र सन्निकट दुुई निर्वाचन सम्पन्न भएपछि पार्टी एकतासम्मको सहमति घोषणा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले अब मुलुकमा तीव्र राजनीतिक ध्रुवीकरण हुने बताएका थिए । त्यसको २४ घण्टा नबित्दै कांग्रेसले पनि प्रजातान्त्रिक शक्ति समेटेर अलग्गै मोर्चा बनाउने र चुनावी तालमेल गर्ने निर्णय लिएपछि प्रचण्डले भनेजस्तै राजनीतिमा आगामी दिनमा तीव्र ध्रुुवीकरण देखिने पक्कापक्की भएको छ । 

प्रधानमन्त्री निवास बालुुवाटारमा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तीन दलबीचको एकता तथा तालमेलको निर्णय संविधानको हितमा नरहेको निश्कर्ष निकाल्दै अब आफूहरुले पनि प्रजातान्त्रिक शक्तिहरुबीच लोकतान्त्रिक गठबन्धन बनाएर अगाडि बढ्नुुपर्ने प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा अधिकांशले सहमति जनाएका बुुझिएको छ । उनले एमाले, माओवादीको गठबन्धन टक्कर दिनैका लागि आफूले राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायतका दलहरुसँग एउटै मोर्चा बनाउने बिषयमा छलफल अगाडि बढाइसकेको समेत बैठकमा जानकारी दिएका थिए । 

उता, तीन दलले तालमेलको निर्णय गरेपछि तर्सिएका अन्य शक्तिहरुले समेत आपसी तालमेलका लागि छलफल अगाडि बढाएका छन् । यो क्रममा संघीय समाजवादी फोरम र राजपाका नेताहरुबीच पनि तालमेलका लागि छलफल सुरु भएको छ । फोरमका उपेन्द्र यादवले राजपाका महन्थ ठाकुुरसँग आज वार्ता हुने एक नेताले बताए । ती नेताका अनुसार दुवै दलबाट ३ सदस्यीय वार्ता समिति गठन भएको छ । यो समितिले वृहत प्रजातान्त्रिक मोर्चा तयारीका लागि छलफल गर्नेछ । एमाले माओवादी गठबन्धनमा संघीय समाजवादी फोरम समेत आउने चर्चा गरिए पनि त्यो संभावना टर्दै गएको देखिएको छ । फोरमभित्रको आन्तरिक विवादका कारण यो शक्ति एमाले माओवादीभन्दा पनि कांग्रेसले बनाउन चाहेको मोर्चामा आउनसक्ने संभावना देखिएको स्रोतहरु बताउँछन् ।